आधारभूत स्वास्थ्य सेवा मूल एजेन्डा- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

आधारभूत स्वास्थ्य सेवा मूल एजेन्डा

भैरवी गाउँपालिकामा १८ करोड लगानीमा १५ शय्याको अस्पताल भवन बन्दै छ, सातै वडामा स्वास्थ्यचौकी निर्माण भइसकेका छन् 
अघिल्लो कार्यकालका जनप्रतिनिधिले अधुरै छाडेका झन्डै ४० योजना पूरा गर्न पनि रीता शाही कस्सिएकी छन्
ज्योति कटुवाल

तीन वर्ष हुँदा आमा र १२ वर्षको उमेरमा बाबुलाई गुमाएकी रीताकुमारी शाहीको बाल्यकाल अभिभावकको माया र स्नेहको अभावमै बित्यो । दुःखका अनेक घुम्ती छिचोल्दै उनको बाल्यकाल र किशोरकाल कट्यो । ‘त्यो बेला सधैं दुःख, साँझ–बिहान सधैं घाँस–दाउरा गर्नुपर्ने,’ ०३२ साल फागुनमा जन्मिएकी उनले भनिन्, ‘सल्लाको दियालो बालेर पढ्थ्यौं, विद्यालय त गइन्थ्यो । तर घरको कामले होमवर्क गर्न र घरमा पढ्न कहिल्यै नपाइने ।’ 

ग्रामीण दुःख र आमाबाबुको वियोगबीच हुर्किएकी रीता आफूलाई परिवारका सदस्यले पढाइदिएकामा भाग्यमानी ठान्छिन् । छोरीलाई पनि स्कुल पठाउँछन् र भन्ने चेत व्याप्त रहेको समाजबीच उनले स्थानीय हिमालय माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन गरेकी छन् । १५ वर्षकै उमेरमा विवाह गरेकी उनले ०५५ सालमा सुर्खेतमा बसेर १५ महिने सीएमए तालिम लिइन् । त्यसपछिका झन्डै २० वर्ष उनले मेडिकल चलाएर बिताइन् ।

संघर्ष र अभावबीच हुर्किएकी रीताको मनमा राजनीतिक चेत पनि हुर्किंदै थियो । किनकि उनका ठूलाबा मन्दिर शाही ०१८ देखि ०२२ सालसम्म तत्कालीन भैरीकालिकाथुन गाउँपञ्चायतको प्रधान थिए । ठूलाबाको राजनीतिक गतिविधि र विचारको धेरथोर प्रभाव उनमा पनि परेको थियो । त्यसैले उनी सानैदेखि सामाजिक काममा रुचि राख्थिन् ।

०४९ सालमा एसएलसी उत्तीर्ण गरेकी रीताको राजनीतिसँगको साइनो कक्षा ८ मा पढ्दादेखि नै थियो । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघबाट राजनीति सुरु गरेकी उनी एसएलसीपछि साविकको भैरीकालिकाथुन गाउँमा गठित पहिलो महिला सञ्जालको अध्यक्ष बनिन् ।

‘त्यसले मलाई समाजसेवासँगै राजनीतिमा झन् सक्रिय बनायो,’ उनले भनिन्, ‘राजनीतिको रस पस्दै गयो, त्यसपछि सक्रिय बन्दै गएँ ।’ ०५६ सालमा कांग्रेसको जिल्ला सदस्य बनेकी उनी ०६४ सालमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनिन् । ०७३ सालमा जिल्ला उपसभापति बनेकी शाहीले ०७८ सालमा फेरि त्यही पद दोहोर्‍याएकी छन् । बिहे गरेर घरबार सम्हाल्दै राजनीति गर्न उनलाई त्यति सजिलो भने थिएन । ‘त्यस बेला महिलालाई खुलमखुला हिँड्न पनि सहज थिएन,’ उनले भनिन्, ‘त्यसैले पनि लामो समयसम्म राजनीति र समाजसेवा गर्दा पनि स्थापित हुन समस्या भयो ।’

गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट भैरवी गाउँपालिका अध्यक्षमा निर्वाचित रीता आफ्नो कार्यकालमा महिला सशक्तीकरणको मुद्दा स्थापित गर्ने ध्याउन्नमा छन् । महिला सशक्तीकरण नारा मात्रै भएकाले त्यसलाई व्यवहारमै उतार्नुपर्ने उनको भनाइ छ । ‘हिजो हाम्रो पालिकामा पुरुषहरूले रजाइँ गरेका थिए, पुरुषअघि खुलेर कुरा गर्न नसक्ने बेला अहिले अध्यक्ष र उपाध्यक्ष दुवै महिला छौं,’ उनले भनिन्, ‘अब विस्तारै महिलाहरू खुलेर आफ्नोबारेमा वकालत गर्न सक्षम हुन थालेका छन् ।’ स्थानीय तहको नेतृत्व महिलाको हातमा हुँदा धेरै फरक पर्ने उनको अनुभव छ । ‘चुलोचौकोमा सीमित महिला परर्निभरताबाट माथि उठेका छन्, हिंसा भनेको के हो भन्नेबारे उनीहरूले बुझेका छन्,’ उनले भनिन्, ‘मेरो कार्यकालमा सबै महिलालाई आत्मनिर्भर र स्वाभिमानी बनाउन मेरो भूमिका हुनेछ ।’

शाहीले शिक्षा र स्वास्थ्य सुधारलाई गाउँपालिकाको प्राथमिकतामा राखेकी छन् । त्यसैले गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि पाँचवर्षे कार्ययोजना बनाएको छ । यसअनुसार ४ वटा विद्यालय मर्ज गरिएको छ भने सबै विद्यालयलाई पूर्वाधार सम्पन्न बनाउने र विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी कायम गर्ने गरी योजना निर्माणको काम भइरहेको छ ।

भैरवीमा १८ करोड लगानीमा १५ शय्याको अस्पताल भवन बन्दै छ । सातै वडामा स्वास्थ्यचौकी स्थापना गरिएको छ । गाउँपालिकामै सुविधासम्पन्न अस्पताल निर्माण गरी बिरामीलाई जिल्ला सदरमुकाम, सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यताको अन्त्य गर्न लागिएको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रका महिला अन्यायमा पिल्सिरहेको, अधिकारका निम्ति बोल्न डराइरहेको शाहीको अनुभव छ । यस्तो अभ्यासलाई रोक्न गाउँपालिकाले पीडित महिला सम्पर्क केन्द्र स्थापना गरी समस्यामा परेका विपन्न महिलालाई निःशुल्क कानुनी सेवा दिन थालेको उनले जनाइन् । यसबाट अहिलेसम्म २५ जना महिला लाभान्वित भइसकेका छन् । एकल महिलाका लागि आकस्मिक कोष खडा गरेर त्यसमा पालिकाले झन्डै १ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताइन् ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले अधुरै छाडेका झन्डै ४० योजना पूरा गर्न पनि उनी कस्सिएकी छन् । ‘गाउँपालिकालाई विकास र सामाजिक विकासले हेर्नलायक बनाउने मेरो सपना छ,’ उनले भनिन्, ‘विपन्न र लक्षित समुदायलाई विकासको मूलप्रवाहीकरणमा ल्याएर एकल महिला, दलित र विपन्नहरूलाई आत्मनिर्भर बनाउने काम पनि ५ वर्षभित्र पूरा गर्ने योजना छ ।’ सामाजिक न्यायसहितको गाउँपालिका बनाउने लक्ष्यमा खटिएकी रीताले त्यसका निम्ति विकासका आधारभूत पूर्वाधारसँगै आत्मनिर्भर महिला जरुरी हुने बताइन् ।

स्थानीय तहको नेतृत्वमा महिला पुग्नुको अर्थ भनेको सरकारी संयन्त्रमा आम महिलाको पहुँच पुग्नु हो भन्ने उनको बुझाइ छ । नेतृत्वमा पुरुष भए पनि महिला भए पनि नीतिगत रूपमा फरक नपर्ने तर आम जनताको मनोभावमा त्यसले केही फरक पार्ने उनको भनाइ छ । संविधानमा समानताको व्याख्या जति गरे पनि व्यावहारिक रूपमा ठूलो वर्ग पछाडि परेको बताउँदै उनले आफ्नो कार्यकालमा महिलाका मुद्दा र उनीहरू सम्बन्ध कार्यक्रमले उच्च प्राथामिकता दाबी गरिन् । ‘पुरुष प्रमुख हुँदा एक पटक कार्यकक्षमा नपुगेका महिला र पिछडिएका वर्ग अहिले सातामा एक पटक मेरो कार्यकक्षमा आएर विभिन्न विषयमा छलफल गर्नुहुन्छ, सुझाव दिनुहुन्छ,’ शाहीले भनिन्, ‘मेरो प्रतिनिधित्वले निमुखा वर्गमा ऊर्जा मिलेको पाएकी छु ।’

पहिलो पटक जनप्रतिनिधि निर्वाचित भएकाले विकास र सार्वजनिक सेवा प्रवाहका काम सिक्दै गर्दै अघि बढिरहेको उनले बताइन् । ‘जसरी हुन्छ पालिकालाई समृद्ध बनाउने गरी हामी लागेका छौं,’ उनले भनिन्, ‘सामाजिक न्यायसहितको भैरवी बनाउने मेरो लक्ष्य हो ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

सबैलाई समेट्ने सद्भावना

महिलाहरु नेतृत्वमा आउँदा सबैलाई समेटेर लैजाने प्रयास हुने अनुभव उनको छ, मातृत्वको भावनाले महिलाहरु ओतप्रोत हुनाले यस्तो भावना उनीहरुले गर्ने निर्णय र विकास निर्माणका प्राथमिकतामा पनि हुने उनी ठान्छिन्, नगरले बनाउने नीति तथा योजनाहरु महिलामैत्री सहर र बालमैत्री कसरी बनाउन सकिन्छ भन्नेबारे विमला सधैं सचेत देखिन्छिन् 
सन्जु पौडेल

नारी नेतृत्वको सरकार कस्तो हुन्छ ? यो प्रश्न कसैले सोधे सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको जवाफ हुनेछ, ‘हेर्न आउनुस् ।’ उनलाई लाग्छ, स्वभावैले महिलाहरूमा मितव्ययी हुने र आमाले जस्तै सबैलाई समेटेर लैजान सक्ने क्षमता हुन्छ । भन्छिन्, ‘सुशासन कायम गर्न महिला नेतृत्व प्रभावकारी उपाय हो ।’


यस्तै गुणहरूका आधारमा नगरको नेतृत्व सम्हालेपछि विमलाले केही कामहरूलाई तुरुन्तै प्राथमिकतामा राखिन् जसलाई त्यहाँ पुग्नेबित्तिकै देख्न सकिन्छ । जस्तो कि, नगरपालिकाका हरेक वडामा उनले फोटोकपी मेसिन राख्न लगाइन् र निःशुल्क फारम भर्ने प्रबन्ध मिलाइन् । वडामा स्थानीयको कागजातका काम र अन्य सहायता दिन सहजकर्ता राखेर हेल्प डेस्क स्थापना पनि गरिन् । अनि, रिक्त दरबन्दी रहेका सरकारी विद्यालयमा नगरपालिकाले तलब दिने गरी शिक्षकहरूको नियुक्ति पनि गरिन् ।

उनले नगरको नेतृत्व सम्हालेपछि महिला उद्यमशीलता विकास गर्न विभिन्न तालिम सञ्चालन गर्ने र उत्पादनशीलता बढाउँदै उद्यम केन्द्र बनाउने योजनाहरू बन्न थालेका छन् । नगरभित्रै प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने योजनामा समेत उनी अघि बढेकी छन् । विपन्न परिवारका सदस्यको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्नेदेखि ज्येष्ठ नागरिकलाई घरमै गई उपचार सेवा प्रदान गर्ने र मधुमेह र उच्च रक्तचापको औषधि सित्तैमा दिनेसम्मका काम उनकै कार्यकालमा सुरु भएको छ । पालिकाले घरमै हुने जोखिमयुक्त प्रसूतिलाई रोक्न गर्भवतीलाई बर्थिङ सेन्टरमा पुर्‍याउने, थप जटिलता देखिए भैरहवास्थित अस्पतालसम्म लैजाने र त्यसका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेसम्मको काम नगरपालिकाले गरिरहेको छ ।

आर्थिक रूपमा विपन्नहरूलाई लक्षित गर्दै निःशुल्क आवासीय विद्यालय बनाएर पढाउनका लागि बजेट छुट्याउनेदेखि हिंसापीडित महिलालाई राख्न सेफ हाउस बनाउनेजस्ता कामहरू उनले प्राथमिकताको सूचीमा राखेकी छन् । विकास निर्माण र पूर्वाधारका कामका अलावा सामाजिक न्याय र पछाडि परेका वर्ग र समुदायको उत्थानमा पनि उत्तिकै सचेत देखिन्छन् विमला ।

नेतृत्वमा महिला हुँदा समानताको दृष्टि हुने बुझाइ मेयर अर्यालको छ । सचेत र नेतृत्व क्षमतासहितका महिला र विपन्न वर्गको उत्थान नभई समाजको समग्र विकास हँॅदैन भन्ने मध्यवर्गीय परिवारमा जन्मेकी उनले जीवनका संघर्षहरूसँगै सिकेकी थिइन् । स्याङ्जाको मालुंगा गाउँको एक मध्यवर्गीय परिवारका ५ सन्तानमध्येकी जेठी विमला ४ वर्षकै उमेरमा परिवारसँगै बसाइँ सरेर पश्चिम नवलपरासीको सुनवल आइपुगेकी थिइन् । विद्यालयमा पढ्दापढ्दै १५ वर्षमै विवाह गरे पनि उनले आईएसम्म पढ्ने अवसर पाइन् । यही पढाइले उनलाई नेतृत्व गर्न सक्ने आत्मविश्वास दिलाइदियो ।

कम्युनिस्ट विचारधारामा आस्था राख्ने बाबु भएकाले उनी सानैदेखि राजनीतिक रूपमा पनि सचेत थिइन् । उनको घरमा भूमिगत रूपमा राजनीति गरिरहेका कम्युनिस्ट नेताहरू बास बस्न आउँथे । उनलाई सम्झना छ, एक पटक त जीवराज आश्रित पनि उनको घरमा बस्न आएका थिए । बाबु र भूमिगत नेताहरूबीचको कुराकानीले उनको बाल मनमा राजनीतिक बीउ रोपेको थियो । बाबुकै पदचाप पछ्याउँदै उनी विद्यालयमा तीजगीत होस् वा गाउँघरमा नाटक प्रदर्शन, तत्कालीन शासनका विरुद्ध गीत रच्ने, नाटक बनाउने र गाउने, खेल्ने गर्थिन् । बाबुसँगै भूमिगत राजनीतिमा बेलाबेला हिँड्थिन् । तर, राजनीति गर्ने बाबुले यसरी उनलाई लिएर हिँडेको हजुरआमालाई पटक्कै मन पर्दैनथ्यो ।

२०४३/४४ तिर पञ्चायती व्यवस्थाविरुद्ध उनी गीत गाउँदै हिँड्थिन् । एक पटक उनले ‘गंगालालको चिता’ नामक नाटक अनुमति नलिई विद्यालयमा प्रदर्शन गरिन् । त्यतिबेला स्थनीय प्रशासनले थाहा पायो । उनी पक्राउ परिने डरले भागिन् । यी र यस्तै गतिविधिले उनलाई राजनीतिप्रति झनै सक्रिय बनाइदियो ।

विवाहपछि भने केही समय राजनीतिक गतिविधि रोकियो । नयाँ घरमा उनी भिजिसकेकी थिइनन् । राजनीतिक गतिविधिमा लाग्ने मन भए पनि समय उनको अनुकूल रहेन । २०५१ सालमा वडाध्यक्षमा उठ्नुपर्‍यो भन्ने प्रस्ताव आएको थियो । तर घरपरिवारमा कुरा नमिलेपछि उनले उम्मेदवारी दिइनन् ।

तर उनी बिस्तारैबिस्तारै राजनीतिक गतिविधिमा लागि नै रहेकी थिइन् । बीचका केही वर्ष छोराको पढाइको सिलसिलामा काठमाडौं बस्नुपरेपछि उनको साढे दुई वर्ष स्थानीय राजनीति रोकियो । तर २०६३ मा परासी फर्केपछि उनी फेरि राजनीतिमा सक्रिय भइन् ।

२०५० सालमा परीक्षणकाल पार गरी एमाले पार्टी सदस्य भएकी उनी अनेमसंघ, नगर कमिटी, क्षेत्रीय कमिटी, गाउँ कमिटी, जिल्ला कमिटीमा नेतृत्व सम्हाल्दै हाल पार्टीको केन्द्रीय सदस्य छिन् र राजनीतिसँगसँगै उनी सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छिन् । सामाजिक विभेद र महिला हुनुको कारण भोगेका केही भोगाइ, पुरातनवादी सोच बदल्ने प्रयासमा भने अप्ठ्यारो परिस्थितिसँग जुधेरै अघि बढेको उनले बताइन् ।

महिलाहरू नेतृत्वमा आउँदा सबैलाई समेटेर लैजाने प्रयास हुने अनुभव उनको छ । मातृत्वको भावनाले महिलाहरू ओतप्रोत हुनाले यस्तो भावना उनीहरूले गर्ने निर्णय र विकास निर्माणका प्राथमिकतामा पनि हुने उनी ठान्छिन् । नगरले बनाउने नीति तथा योजनाहरू महिलामैत्री सहर र बालमैत्री कसरी बनाउन सकिन्छ भन्नेबारे विमला सधैं सचेत देखिन्छिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×