मेयर बन्न उपमेयरको परीक्षा- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

मेयर बन्न उपमेयरको परीक्षा

छोरा नभई हुँदैन भन्नेहरुका लागि जवाफ भएकी छन् पञ्चदेवल विनायक नगरपालिकाकी मेयर  अम्बिका चलाउने, भन्छिन्, ‘मैले यसैलाई मेरो जीवनको सफलता ठानेकी छु’
‘केही फरक काम गर्‍यो भने यो आफ्नो क्षमताले गरेको होइन भनेर कुनै पुरुषसँग नाम जोडिदिन्छन्,’ मानिसहरूको धारणाप्रति उनको दिक्दारी छ, केही कमजोरी भयो भने महिलाले के गर्न सक्थे भनेर खिसी उडाइहाल्छन्’
वसन्तप्रताप सिंह

अछामको साविक कालिकास्थान गाविसका कुच्ची गाउँका ध्वजबहादुर चलाउने बन्डाली देवताका धामी थिए । त्यसैले उनलाई चोखोनितो बस्नुपर्ने, बाहिरफेर खानपिन गर्न नमिल्ने नियममा बाँधिनुपरेको थियो । उनका दौंतरीहरू कमाउन इन्डिया जान्थे । तर उनलाई धामी भएकै कारण घरबाहिरको यात्रामा बन्देज थियो । कतै गइहाले पनि आफैं पकाएर खानुपर्ने र नित्य पूजापाठ गर्नुपर्ने झन्झट बेहोर्नुपर्थ्यो । 

धामी भएकै कारण उनले मुग्लानको बाटो नरोजेर जीविका चलाउन खुद्रा पसल चलाएका थिए । खान–लाउनको दुःख नभए पनि ध्वजबहादुरलाई समाजले एउटै कुरामा प्रश्न गरिराख्थ्यो । त्यसैले त छोराको आशामा ध्वजपत्नी कोकिला चलाउनेले लगातार १० छोरी जन्माएकी थिइन् । तिनैमध्ये नवौं छोरी थिइन्, ३२ वर्षअघि जन्मिएकी अम्बिका चलाउने । यिनै अम्बिका अहिले पञ्चदेवल विनायक नगरपालिका प्रमुख छिन् ।

पढाउन थाले छोरी बिग्रन्छन् भन्नेदेखि पहिलो महिनावारी हुनेबित्तिकै ज्वाइँ खोज्नुपर्छ भन्ने चलन भएको समाजमा छोरी पढाएकामा ध्वजले अनेकन खिल्लीहरू सुन्नपर्‍यो । अम्बिकाले बाल्यकाल सम्झँदै भनिन्, ‘छोरीलाई पढाएर बिगार्ने भयो भनेर बुबाको कुरा काटेको सुन्थ्यौं ।’

गाउँ–समाजले जति नै कुरा काट्थे, अम्बिकाका दिदीबहिनीहरूमा केही गरेर देखाउनुपर्छ भन्ने भावना त्यति नै बलियो हुन्थ्यो । त्यही आत्मबलले काम गरेको हुनुपर्छ सायद, साविक कालिकास्थान गाविसको माथिल्लो कुच्ची गाउँमा उनकी दिदी शारदाले एसएलसी उत्तीर्ण गरिन् । उनी गाउँमा एसएलसी पास गर्ने पहिलो महिला थिइन् । अम्बिकाको मनमा पनि पढेर समाजलाई देखाउनुपर्छ भन्ने गहिरो ईख हुर्किएको थियो । त्यसैले त उनी गाउँ नजिकैको विद्यालयबाट पाँच कक्षा पास गरेपछि दैनिक आधा घण्टा हिँडेर छिमेकी गाउँको विद्यालय पुगेर पढ्न थालिन् ।

माओवादी द्वन्द्वको रापताप उनको गाउँमा छिर्न थालेपछि सुरक्षित भएर पढ्न सकिने अवस्था रहेन । बाबुको नेपाली कांग्रेसप्रति गहिरो आस्था भएकाले पनि उनको परिवारमा असुरक्षा बढायो । छोरीको पढाइ रोकिएला भनेर ध्वजले अम्बिकालाई बर्दियास्थित काकाको घरमा बसेर पढ्ने व्यवस्था मिलाए । उनले त्यहीँ बसेर १० कक्षासम्म पढिन् । एसएलसी भने अछामबाटै दिइन् ।

स्कुले जीवनमै अम्बिका जुनियर रेडक्रस सर्कलदेखि बाल क्लबहरूमा आबद्ध थिइन् । माओवादीको डरले गोप्य रूपमा गठन गरिएको नेविसंघको क्षेत्रीय समितिको कोषाध्यक्ष भइसकेकी थिइन् । राजनीतिक संगठनमा आबद्ध भए पनि उनको सपना भने सके स्टाफ नर्स नभए ओभरसियर बन्ने थियो । उनी छात्रवृत्ति कोटामा स्टाफ नर्सको परीक्षा दिन चितवन पनि पुगिन् । तर, नाम भने निस्केन । दोस्रो विकल्पका रूपमा ओभरसियर पढ्नका लागि प्रवेश परीक्षाको तयारी गरिन् । तर परीक्षाकै बेला माओवादीले आठ दिन नेपाल बन्द गरेपछि उनले जाँचै दिन सकिनन् ।

दुवै चाहना पूरा नभएपछि उनी गाउँमै प्लस टुमा भर्ना भइन् र लोक सेवाको तयारी गर्न थालिन् । खर्च चलाउन एउटा निजी स्कुलमा पढाउन पनि थालिन् । आफ्ना कुरा प्रस्ट राख्ने र बोल्न नहिचकिचाउने उनलाई समाजले बनाएको महिला र पुरुषबीचको विभेदको खाडल पुर्नॅपर्छ भन्ने लागिरहन्थ्यो ।

भन्छिन्, ‘छोरा र छोरीबीच समाजले गर्ने विभेदको भुक्तभोगी आफैं भएर पनि होला मलाई यो विषयमा छलफल भएको सुनें भने पनि बहस गर्न मन लागिहाल्थ्यो ।’ शान्ति प्रक्रिया सुरु भएपछि अम्बिका गाउँमा हुने विभिन्न छलफलमा भाग लिन्थिन् । सामाजिक संस्थामा आबद्ध हुँदै महिला अधिकार मञ्चको गाविसस्तरीय समितिमा अध्यक्ष र सामुदायिक वनको सचिवसमेत भइन् ।

स्नातक तह पढ्दै गर्दा २०६५ सालमा त उनी स्थानीय पञ्चदेवल क्याम्पसमा भएको विद्यार्थी संगठनको चुनावमा नेविसंघबाट सभापतिमा निर्वाचित भइन् । यही मोडले उनलाई लोक सेवाबाट राजनीतिको बाटोतिर मोडिदियो । त्यसको दुई वर्षपछि उनी २०६७ सालमा भएको पार्टीको महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भइन् । १९ वर्षमा महासमिति सदस्य भएकी अम्बिकाको राजनीतिक यात्रा रफ्तारमा थियो । २०७२ सालमा उनी नेविसंघको महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री र पछि महिला संघको केन्द्रीय प्रतिनिधि भइन् ।

संविधान जारी भएपछिको पहिलो स्थानीय तहको चुनाव २०७४ मा उनले पार्टीमा पञ्चदेवल विनायक नगरपालिकाको नगर प्रमुखको टिकट दाबी गरिन् तर पार्टीले पत्याएन । पार्टीभित्रै उनलाई समर्थन गरेजस्तो गर्नेहरू पनि उनको विपक्षमा उभिए ।

‘महिलाले मेयर जित्दैनन् । जितिहाले पनि चलाउन सक्दैनन् भनेर मलाई उम्मेदवार नै बनाएनन्,’ अम्बिकाले मन अमिलो पारिन्, ‘अनि मैले उपमेयरमै चित्त बुझाएँ ।’ उपमेयरमा निर्वाचित भएपछि उनले त्यसलाई जनप्रतिनिधिको काम सिक्ने अवसरका रूपमा सदुपयोग गरिन् ।

यहीबीचमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको सहमहामन्त्री भएकी उनी यसपालिको स्थानीय निर्वाचनमा भने नगरपालिकाको प्रमुखका रूपमा निर्वाचित भइन् । स्थानीय तहमा महिला प्रमुखका रूपमा चुनाव जित्ने उनी जिल्लाकै पहिलो थिइन् । आफूले पाएको सफलतालाई लैंगिक विभेदविरुद्धको उपलब्धि मान्छिन् उनी । ‘छोरा नभई हुँदैन भन्नेहरूका लागि म आफैं जवाफ भएकी छु,’ भन्छिन्, ‘मैले यसैलाई मेरो जीवनको सफलता नै ठानेकी छु ।’

जनप्रतिनिधिका रूपमा दोस्रो कार्यकाल भए पनि कार्यकारी अधिकारसहित स्थानीय तहमा काम गर्न पाएको चलाउनेको यो पहिलो अनुभव हो । यद्यपि उनी एउटा महिलाले जनप्रतिनिधिका रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौतीसँग परिचित छिन् ।

‘केही फरक काम गर्‍यो भने यो आफ्नो क्षमताले गरेको होइन भनेर कुनै पुरुषसँग नाम जोडिदिन्छन्,’ मानिसहरूको धारणाप्रति उनको दिक्दारी छ, ‘केही कमजोरी भयो भने महिलाले के गर्न सक्थे भनेर खिसी उडाइहाल्छन् ।’

आफ्नो कार्यक्षमता र चरित्रमाथि गर्ने टीकाटिप्पणीहरूलाई खुट्टामा कुल्चेर आफू अघि बढिरहेको उनले बताइन् । महिलालाई समाजले गर्ने फरक व्यवहारजस्तै स्थानीय तहलाई संघले गर्ने गरेकामा उनको चित्त बुझेको छैन । उनी भन्छिन्, ‘संघ र प्रदेशले ससर्त अनुदान बढाउने र वित्तीय अनुदान प्रत्येक वर्ष घटाइदिने गर्नाले भनेजस्तो काम हुन पाएको छैन ।’ अनेकन समस्या भए पनि पालिका प्रमुखमा महिला हुँदा सेवा प्रवाहको गुणस्तर वृद्धि हुनुका साथै सामाजिक मनोविज्ञान पनि बलियो भइरहेको उनको दाबी छ ।

‘म महिला भएका कारण महिलाका समस्या अनुभव गर्न सक्छु । एक गाग्रो पानी बोक्न घण्टौं हिँड्नुको पीडा, ९ महिनाको गर्भ जाँच गर्न उकालो चढ्नुको पीडा, छोराछोरी हुर्काउँदा भोग्नुपर्ने समस्या म अनुभव गर्न सक्छु,’ भन्छिन्, ‘त्यही पदमा पुरुष हुँदा ज्यादाभन्दा ज्यादा गरे हाम्रो दुःख अनुमानसम्म गर्छन् । अनुभव र अनुमान त अवश्य फरक छ ।’

नगर प्रमुख पदमा महिला हुँदा जिल्लाभरिका महिलाहरूमा महिलाले पनि चाहेमा गर्न सक्छन् भन्ने आत्मविश्वास जागृत भएको उनको अनुभव छ । पालिकालाई शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र पूर्वाधारको विकासका क्षेत्रमा आफ्नो कार्यकालमा उन्नत अवस्थामा पुर्‍याउने परिकल्पना उनको छ । अर्को निर्वाचनसम्म पालिकाको अनुहार फेर्ने संकल्पसहित आवधिक योजनासमेत निर्माण भइसकेको छ उनको नेतृत्वमा ।

कोभिडका कारण दुई वर्षसम्म थिलोथिलो भएको शैक्षिक गुणस्तर उकास्न स्वयंसेवक शिक्षकको व्यवस्था नगरपालिकाले गरेको छ । विपद् प्रतिरोधी विद्यालय बनाउनका लागि टिनको छानामुक्त विद्यालयको परिकल्पना पनि नगरले गरेको छ ।

महिला र बालबालिकाको पोषण तथा स्वास्थ्यलाई उनले प्राथमिकतामा राखेकी छन् । हजार दिनका सुत्केरी लक्षित कोसेली कार्यक्रम, घर–घरमा करेसाबारी, गाउँ–गाउँमा प्रयोगशाला र बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्रजस्ता अभियान उनको नेतृत्वमा सुरु पनि भएका छन् । कृषि र उद्यमको क्षेत्रमा पनि उनी केही फरक काम गर्न खोजिरहेकी छन् ।

‘उद्योग र व्यावसायिक कृषि गर्न चाहनेलाई तालिम दिने र लागत साझेदारी गर्ने नीति बनाएका छौं,’ भन्छिन्, ‘आर्थिक समुन्नतिका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समाजमा रहेका छुवाछुत, छाउपडी, विभेदजस्ता कुरालाई हटाउन हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीकी अब्बल 

मोहनमायालाई धेरैले दिने एउटै सुझाव हुन्थ्यो, ‘पढालिखा महिलाले  जागिर नै खानुपर्छ’ तर उनको लगाव राजनीतिमै थियो, यसबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने उनको जो ठम्याइ थियो 
स्थानीय तहमा महिला मेयर हुनुको अर्थ हो, समावेशी विकासले प्राथमिकता पाउनु, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र सीमान्तीकृत वर्गको सशक्तीकरणजस्ता मामिलाले आफू महिला भएका कारण बढी प्राथमिकता पाएको मोहनमाया ठान्छिन् 
तृप्ति शाही

पछिल्लो राष्ट्रिय जनगणनाले भन्छ कर्णालीमा पुरुषभन्दा महिलाको संख्या बढी छ । तर, सिंगो कर्णालीमा नगरपालिका प्रमुख एक जना मात्रै महिला छिन् । संख्यामा बढी भएर पनि निर्वाचनमा सबभन्दा कम हुने दुर्लभ संयोग यसपालिको स्थानीय चुनावले मोहनमाया ढकालका लागि जुराएको हो जो हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर छिन् ।

विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवनमा प्रवेश गरेकी मोहनमायाको योजना छ, पूर्वाधारसँगै सामाजिक न्यायको विकास गरी वीरेन्द्रनगरलाई समृद्ध बनाउने ।

२०३६ मा वीरेन्द्रनगर–१६ गर्पनको मध्यमवर्गीय परिवारमा जन्मेकी मोहनमायाको बाल्यकाल पढाइ र घरायसी कामसँगै बित्यो । जागिरे बाबु भएकाले उनले धेरै अभाव र दुःख भने झेलिनन् । तर महिलालाई हेर्ने समाजको नजर फरक छ भन्ने कुरा भने उनको मनमा बिझिराख्थ्यो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी मोहनमायालाई धेरैले दिने एउटै सुझाव हुन्थ्यो, पढालिखा महिलाले जागिर नै खानुपर्छ । तर, उनको लगाव राजनीतिमै थियो । यसबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने उनको जो ठनाइ थियो ।

‘सफलताको जगमा संघर्ष त लुकेकै हुन्छ’ भन्छिन्, ‘मैले पनि यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नॅपर्‍यो जसमध्ये जागिर होइन राजनीतिक बाटो मेरा लागि हो भनेर आफन्त र समाजलाई बुझाउनु पनि एउटा थियो ।’

आफ्नो कार्यकालमा स्थानीय तहले गर्ने विकास निर्माणका कामबाट महिलाले प्रत्यक्ष लाभ लिन सकून् भन्ने उनी ठान्छिन् । उनी निर्वाचित भएपछि केही ठूला विकासका परियोजनाहरू नगरपालिकामा सुरु भएका छन् । जस्तो कि, १ लाख ५४ स्थायीसहित ४ लाख नगरवासीलाई स्वच्छ पानी खुवाउन नगरपालिकाकै योजनामा भेरी लिफ्टिङ आयोजना सुरु भइसकेको छ । संघीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा विश्व बैंकको सहयोगमा ७ करोड रुपैयाँ लागतको यो परियोजनाले झन्डै ५ लाख जनसंख्यालाई स्वच्छ खानेपानी सुविधा दिने विश्वास योगमायाको छ । त्यस्तै, नगरपालिकाले नगर गौरवको योजनाअन्तर्गत ५ करोडको लागतमा ३२ किलोमिटरको चक्रपथ निर्माणको काम पनि धमाधम गर्दै छ । उनको नेतृत्वमा यो वर्ष वीरेन्द्रनगरमा २ करोड रुपैयाँको लागतमा ल्यान्डफिल साइटको काम अघि बढेको छ । योगमाया २ वर्षभित्र वीरेन्द्रनगरका सबै भित्री सडकहरू पिच भएको देख्न चाहन्छिन् । त्यसका लागि ६० करोड रुपैयाँ विनियोजन पनि भइसकेको छ ।

यसरी, करोडौंका विकास परियोजनाहरूको नेतृत्व सम्हालिरहेकी मोहनमाया लामो राजनीतिको बाटो हिँडेर यहाँसम्म आइपुगेकी हुन् । विद्यालय पढ्दादेखि अनेरास्ववियुले आयोजना गर्ने विभिन्न आन्दोलनमा सक्रियता जनाउँदै उनी सक्रिय राजनीतिमा हाम फालिन् । उनी २०५६ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुँदै राष्ट्रिय परिषद् सदस्यसम्म पनि भइन् ।

विवाह गरेपछि केही बर्ष उनको राजनीतिक यात्रा सुस्त भयो । तर, फेरि नयाँ जाँगरका साथ उनी राजनीतिमा फर्किन् । परिणामतः २०६३ सालमा अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष र २०६५ मा नेकपा एमालेको जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्यसम्म भइन् ।

२०७४ मा उनले एमालेको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखको टिकट पाइन् । उपप्रमुखको अनुभवले उनलाई यसपालि नगरप्रमुखकको टिकट दिलाइदियो । भन्छिन्, ‘जनताले मलाई विश्वास गरे र जितेँ पनि ।’

महिलाको हातमा नगरप्रमुखको नेतृत्व आउँदा राजनीतिमा लागेका समग्र महिलाहरूलाई अघि बढ्न प्रेरणा मिल्ने उनको ठम्याइ छ । भन्छिन्, ‘आउने दिनमा दिनमा प्रमुख पदमा महिलाले दाबी गर्न थप सहज भएको छ ।’

उपप्रमुखको ५ वर्षको कार्यकाल पूरा गरेपछि मोहनमाया समाजको सबै तह र तप्कालाई छुने विकास गर्न जरुरी भएको निष्कर्षमा पुगेकी छन् । ‘महिला जनप्रतिनिधि भएकाले स्वाभाविक रूपले महिलाको मुद्दालाई बढी महत्त्व दिएकी छु,’ उनले भनिन्, ‘महिला आन्दोलनबाटै आएकाले मैले महिलाका धेरै समस्या बुझेकी छु र त्यसलाई हल गर्ने बाटामा लागेकी छु ।’

कर्णालीमा बालविवाह र छाउपडी प्रथाजस्ता कुरीति धेरै छन् । यिनलाई हटाउने र सामाजिक न्यायको प्रत्याभूति दिलाउने कामलाई भौतिक विकासजत्तिकै महत्त्व दिएकी छन् उनले । शिक्षा, स्वास्थ्य र पूर्वाधारका अलावा महिला सशक्तीकरणको मुद्दा सधैं आफूले प्राथमिकतामा राखेको उनी बताउँछिन् ।

उनकै नेतृत्वमा नगरपालिकाले शिक्षामा १० वर्षीय रणनीतिक योजना तयार पारेर अगाडि बढेको छ । यसमा सबै बालबालिकालाई गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिनेदेखि वीरेन्द्रनगरलाई शैक्षिक हब बनाउनेसम्मका योजना छन् । महिलाहरूलाई कानुनी सेवा निःशुल्क दिनेदेखि स्यानेटरी प्याड सबै स्वास्थ्यचौकीबाट निःशुल्क वितरण गर्ने काम पनि उनले अगाडि बढाएकी छन् ।

‘गर्भवती महिलाहरूलाई निःशुल्क भिडियो एक्सरे र एम्बुलेन्स सेवा सुरु भइसकेको छ,’ उनले भनिन्, ‘समस्यामा परेका महिलाहरूका लागि ५० जनाको क्षमताको सुरक्षित आवासगृह पनि निर्माण गरिसकेका छौं ।’

ढकालकै नेतृत्वमा ‘एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार’ नारासहित नगरपालिका अघि बढेको छ । उनले अहिलेसम्म नगरभित्रका ५ सय महिलालाई विभिन्न स्वरोजगारमूलक तालिम दिई आयआर्जनमा लगाएकी छन् ।

नगरपालिकाकै सहयोगमा ३५ महिलाले वीरेन्द्रनगरमा अटो चलाइरहेका छन् । ढाका बुनाइ, डेरी सञ्चालन, सेक्युरिटी गार्ड, साना उद्यमलगायतलाई प्राथमिकता दिई यो कार्यक्रम सुरु गरिएको हो ।

‘अहिले पनि महिलाहरूलाई उनीहरूले इच्छाएको तालिम दिलाउने गरी फाराम भराएका छौं,’ भन्छिन्, ‘उहाँहरूलाई विभिन्न व्यावसायिक तालिम दिएर आत्मनिर्भर बनाउन खोजेका छौं, मेरो कार्यकालभित्र कम्तीमा ५ हजार महिलाहरू आत्मनिर्भर बन्ने गरी नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छु ।’

स्थानीय तहमा महिला मेयर हुनुको अर्थ हो समावेशी विकासले प्राथमिकता पाउनु । ठूला पूर्वाधारका योजना निमार्ण देखी स–साना कुराहरूमा पनि महिला मेयरले ध्यान दिन सक्छन् भन्ने अनुभव उनीसँग छ । शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र सीमान्तीकृत वर्गको सशक्तीकरणजस्ता मामिलाले आफू महिला भएका कारण बढी प्राथमिकता पाएको उनी ठान्छिन् ।

‘स्थानीय तहमा महिला प्रमुख हुँदा सेवा प्रवाहमा सबैको सहज पहुँच भएको अनुभव मैले गरेकी छु’ भन्छिन्, ‘महिला मेयर भएपछि महिला तथा सीमान्तीकृत समुदायको सहज पहुँच भएको सेवाग्राहीले महसुस गरेका छन् ।’

नेतृत्वमा महिला हुँदा आम मानिसले गुनासो र मागहरू सजिलै राख्न सक्दा रहेछन् भन्ने अनुभव पनि उनको छ । ‘पारदर्शिता र जवाफदेहिता अझै धेरै बढेको छ । योजना पनि महिला र सीमान्तीकृत वर्गको पक्षमा ज्यादा निमार्ण हुन थालेका छन्’ भन्छिन्, ‘मेरो कार्यकालमा सामाजिक न्यायसहितको विकासमा पनि जोड हुनेछ ।’ आफ्नो कार्यकालमा स्थानीय तहमा विकास निर्माणमा महिलाको सहभागिता बढेको देख्दा उनलाई खुसी लाग्छ ।

नेतृत्वमा भएका बेला गाउँघरमा जाँदा उनले अनेकन् रमाइला अनुभवहरू सँगालेकी छन् । कतिले उनलाई आफ्नै छोरीजस्तै रैछन् भन्छन्, कतिले दिदीबहिनीको साइनो गाँसेर कुराकानी गर्छन् । ‘गाउँमा जाँदा धेरै माया पाउँछु’ कर्णालीकी एक्ली महिला मेयर भन्छिन्, ‘विशेषगरी ज्येष्ठ नागरिकहरूले माया देखाउनुहुन्छ । अनि स–साना नानीहरूले हामी पनि हजुरजस्तै मेयर बन्ने के गर्नुपर्छ भन्दै प्रश्न पनि गर्छन् ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×