जसलाई कामले दोहोर्यायो


आम नेपाली महिलाको जीवन विवाहपछि चुलोचौको गर्दैमा र बालबच्चा हुर्काउँदैमा बित्छ । त्यसैले करिअर रोज्ने कि परिवार भन्ने एउटा दुविधा पुरुषका तुलनामा महिलामा हमेशा बढी छ । विवाहले देखिने/नदेखिने अनेक सीमाहरू कोरिदिने र सामाजिक तथा सांस्कृतिक कर्तव्यका विविध दायित्वका सिर्जना गरिदिने हुँदा यसलाई बन्धन भनिएको हुँदो हो । तर, रोल्पाको डुवारिङमा जन्मेहुर्केकी दीपा बोहोरा दाहालको जीवन भने विवाहपछि झन् बढी फैलिन पुग्यो ।

विवाहपछि पतिको घर सिन्धुली आएकी उनी अहिले गाउँपालिकाको अध्यक्षमा चुनिने देशकै केही थोरै महिलामध्येकी एक भएकी छन् । उनको अनुभवले भन्छ, विवाहपछि आफूभित्रको सुषुप्त राजनीतिक चेतले फैलिने अवसर पाएको हुनाले नै उनी स्थानीय सरकारप्रमुख हुन सम्भव भएको हो ।
रोल्पा यसै पनि माओवादी आन्दोलनको आधारभूमि थियो । दीपा जन्मेको गाउँ यसबाट अछुत हुने त कुरै भएन । त्यसैले हुँदो हो, उनका बाबु श्यामलालको कम्युनिस्ट नेताहरूसँग बाक्लो हिमचिम थियो । त्यसको प्रभाव सानी दीपामा पनि परेको थियो । बाबु श्यामलाल आफ्ना दौंतरीहरूसँग सबै किसिमका बेथितिहरूको अन्त्यका लागि कम्युनिस्ट आन्दोलनका गर्नुपर्छ भन्दै सामन्तवादविरुद्ध लड्ने विचार राख्थे । दीपाको मन–मुटुमा बाबुको यही विचार बीज रोपिएको थियो । कम्युनिस्ट विचारधाराको प्रभावकै कारण उनी माओवादी जनयुद्धमा जनवादी कलाकारको रूपमा सामेल भएकी थिइन् । शान्ति प्रक्रियापछि पनि उनी राजनीतिक रूपमा सक्रिय भइराखिन् ।
राजनीतिमै सक्रिय लेखनाथ दाहाल (राजन) सँग बिहे गरेपछि त त्यो विचार बीजले एक वृक्षका रूपमा हुर्कने मौका पायो । २०७४ को स्थानीय तह निर्वाचनमा उनी माओवादीबाट सुनकोसी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । अहिले पनि त्यसै पदमा चुनाव जितेर उनले दुई–दुई पटक प्रत्यक्ष रूपले जनअनुमोदित हुने महिला पालिका अध्यक्षको कीर्तिमानी अभिलेख राखेकी छन् ।
दीपाले पहिलो चुनाव चित्दै गर्दा उनका श्रीमान् लेखनाथ वाग्मती प्रदेशसभा सदस्य थिए । पहिलो कार्यकालको अनुभव बटुलेपछि उनले दोस्रो पटक पनि गाउँपालिका अध्यक्षको उम्मेदवारको टिकट पाइन् । उनको नेतृत्वमा भएका कामले मतदातालाई चित्त बुझेको हुनुपर्छ, नत्र दोस्रो पटक किन निर्वाचित हुन्थिन् र ? यता दीपा दोस्रो पटक उही पदमा जनअनुमोदित भइन् भने उता उनका पति लेखनाथ सिन्धुली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित हुन पुगे ।
स्थानीय तहमा महिला प्रमुख हुँदा तुलनात्मक रूपमा सुशासन, जवाफदेहिता र पारदर्शिता बढ्ने दाबी अध्यक्ष दीपाको छ । सुशासन, समृद्धि र पारदर्शिता भएपछि महिलाहरू पनि सरकार सञ्चालनमा अब्बल छन् है भन्ने प्रमाणित हुँदै जाने उनले बताइन् । स्थानीय तहको नेतृत्वमा महिला पुग्दा चुल्होचौकामा मात्रै सीमित महिलाहरूले पनि स्थानीय सरकारप्रति अपनत्व महसुस गरिएको अनुभव उनले बाँडिन् ।
शिक्षाको विकास नगरेसम्म स्थानीय तहलाई समृद्ध बनाउन सकिँदैन भन्ने उनको बुझाइ छ । त्यसैले उनले उत्कृष्ट शिक्षकलाई सम्मान, अब्बल विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै छात्रवृत्तिजस्ता शिक्षाको गुणस्तर वृद्धि गर्ने काममा आफूलाई केन्द्रित गरेकी छन् । विद्यालयहरूको निरन्तरको अनुगमनले यस्तो कामलाई थप टेवा दिने उनको बुझाइ छ ।
शिक्षाका अलावा महिलाको प्रजनन स्वास्थ्यको विषयमा पनि उनको चासो छ । समाजशास्त्रमा स्नातकोत्तर गरेकी र दुई छोरीको अभिभावकीय जिम्मेवारी सम्हालिरहेकी दीपाले आफ्नो गाउँपालिकाका ७ वटै वडामा स्वास्थ्य चौकी र एकाइ रहेको बताउँदै गर्भवती महिलाको घरमा हरियो झन्डा राखेर स्वास्थ्यप्रति सचेत गराउँदै सुत्केरीलाई पोषिलो खानेकुराको व्यवस्था गरिएको बताइन् ।
उनले आफ्नो कार्यकालमा न्यायिक समितिलाई पनि सक्रिय गराउने अभ्यास गरेकी छन् । यस्ता समितिहरू सक्रिय हुँदा उत्पीडनका परेकाहरूको पहुँच वृद्धि हुने र सामाजिक न्याय कायम हुने उनको विश्वास छ । उनले आफ्नो कार्यकालमा महिलामैत्री उद्योगको विकासलाई पनि प्राथमिकतामा राखेकी छन् । महिलाहरूलाई आर्थिक विकाससँग जोडेर अधिकारसम्पन्न बनाउने उनको ध्येय छ । त्यसैले, फाइबर र ढाका उद्योग सञ्चालन गरी महिलाहरूको आम्दानीमा वृद्धि गर्नेदेखि महिलाहरूलाई सिलाइबुनाइ, ब्युटिसियन, इलेक्ट्रिसियनजस्ता सीपमूलक तालिम प्रदान गर्ने कार्यक्रम पालिकाले गरिरहेको छ ।
राजनीतिमा महिला नेतृत्वलाई अघि बढाउन धेरैखाले सामाजिक र राजनीतिक अवरोधका पर्खालहरू तोड्नुपर्ने उनको धारणा छ । जस्तो, संविधानले नै हरेक प्रमुख तथा उपप्रमुख पदमध्ये एउटामा महिला हुनु अनिवार्य भनेको छ । तर, फरक दलको भन्दै पुरुष नै सबै पदहरूमा पुग्ने गरी गठबन्धनको सहमति हुँदा संविधानको त्यो विधानको धेरै ठाउँमा उल्लंघन भएको छ । यो असंवैधानिक कदमलाई रोक्न जुनसुकै दलबाट भए पनि एउटा पदमा महिला अनिवार्य रूपले निर्वाचित हुनैपर्ने गरी निर्वाचन कानून बनाउनुपर्ने निष्कर्षमा दीपा पुगेकी छन् । यसो भयो भने मात्रै महिलाहरूको सामाजिक र राजनीतिक क्षेत्रमा सम्मानजनक उपस्थिति हुने र त्यसले समाजको पूर्ण विकासमा सघाउ पुग्ने उनी ठान्छिन् ।
उनको पहिलो कार्यकाल कानुन निर्माण र सिक्दासिक्दै बित्यो । दोस्रो कार्यकालमा भने सुरुआतदेखि नै सेवा प्रवाहलाई चुस्त बनाउन लागिपरेको उनले बताइन् । दीपा कवड्डी खेलाडी पनि हुन् । खेलप्रति पनि उनको विशेष झुकाव र लगाव छ । त्यसैले, खेलकुदको विकासका लागि स्थानीय सरकारले गर्न सक्ने हदसम्मको काम गर्ने योजनामा उनी छन् ।
दुई छोरीकी आमा भएकाले तिनीहरूको अभिभावकीय जिम्मेवारी पूरा गर्दै गाउँपालिको नेतृृत्व सम्हाल्नुपर्ने चुनौती दीपालाई छ । अघिल्लो कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा त दीपाकी सानी छोरी २ वर्षकी मात्रै थिइन् ।
‘कहीँकतै बाहिर जाँदा छोरीले फोन गरेर कहिले आउने भन्दै रुन्थिन्,’ दीपा भन्छिन्, ‘त्यतिबेला मलाई भक्कानो छुटेर आउँथ्यो, तर आफैंलाई सम्हालेर जिम्मेवारी निभाउनतिर लाग्थेँ ।’
स्थानीय तहको नेतृत्व महिलको हातमा आउँदा त्यसको सोझो प्रभाव महिलाहरूमा पर्ने दीपाको विश्लेषण छ । ‘महिलाले केही गर्न सक्दैनन् भन्ने पुरुष मानसिकतालाई धक्का दिन पनि महिला नेतृत्व हुनु जरुरी छ,’ भन्छिन्, ‘महिला प्रमुख हुँदा महिलाहरूले आफ्ना कुराहरू सजिलै राख्दा रहेछन् । त्यसको प्रभाव समाजमा पनि पर्दो रहेछ । महिलाहरूले केही जान्दैनन् र सक्दैनन् भन्ने समाजको बुझाइ चिर्न निरन्तर लडिराख्नुपर्छ भन्ने उनले बुझेकी छन् । स्थानीय चुनावअघि मत माग्न गाउँघर डुल्दाको उनको अनुभवले पनि समाजको स्त्रीद्वेषी भावविरुद्ध उभिनुपर्छ भन्ने बनाएको हो दीपालाई ।
‘महिलाले कहाँ पालिका हाँक्न सक्छन् ?’ पतिका साथ मतदाताको घर दैलोमा पुगेर हात जोड्दा उनलाई धेरैले भनेछन् । सँगै रहेका श्रीमान्लाई तपाईंलाई हो भने दिन्छौं, महिलालाई त हुँदैन भनेको अहिले उनको सम्झनामा छ । यसले उनलाई निकै दुःखी बनाएको थियो, छ ।
‘महिलाले के जानेको हुन्छ र भन्ने बुझाइ धेरैमा रहेछ,’ भन्छिन्, ‘यस्तो विचार रहेसम्म लैंगिक समानता कायम गर्न सकिन्न, त्यसैले यसलाई बदल्ने भनेकै महिलालाई काम गर्न सक्ने अवसरको सिर्जना गर्ने हो ।’
दोस्रो कार्यकालमा पनि जनअनुमोदित भएपछि भने उनलाई काम गरेर देखाउन सकियो भने आम जनताले महिलाको नेतृत्व पनि स्विकार्दा रहेछन् भन्ने लागेको छ ।
कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :
प्राथमिकतामा सामाजिक न्याय
मेयर बन्न उपमेयरको परीक्षा
कर्णालीकी अब्बल
आधारभूत स्वास्थ्य सेवा मूल एजेन्डा
सबैलाई समेट्ने सद्भावना
महिलाको आत्मविश्वास बढाउन अग्रसर
‘अध्यक्षसँग दिदीबहिनी’
महिलालाई महिलाकै भर
जसले दोहोर्याइन् कार्यकाल
कार्यालय सहायकदेखि मेयरसम्म
रेनुको ‘रनिङ’
महिला–बालबालिकालाई छुट्टै अस्पताल
किसानमुखी कार्यक्रम
अध्यक्षसँगै सोध्छन्– ‘अध्यक्षज्यू खोइ’
एकीकृत नमुना बस्ती बसाउँदै
स्वावलम्बी अभियान
बालविवाह रोक्ने कदम
मधेसले गरेको भरोसा
क्यालेन्डर बनाएरै जनसेवा
आयआर्जनको आयतन बढाउँदै
बालविकासमा ध्यान
स्वयंसेवाबाट राजनीति
नयाँ बिर्तामोडको परिकल्पना
पूरा भएको एउटा सपना