कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
नारी नेतृत्व

पूरा भएको एउटा सपना

धेरैले निर्वाचित भएपछि आफूलाई चुनौतीले घेरिएको पाउँछन् तर फूलवतीले काम गर्न अवसर ठानेकी छन्
फूलवती राजवंशी, अध्यक्ष, गौरीगन्ज गाउँपालिका, झापा
अर्जुन राजवंशी

सपना पूरा हुन एउटा आधारभूत सर्त छ, पहिला त्यो देख्नुपर्छ । हुन पनि हो, सपनै नदेखे पूरा हुन्छ कसरी ? गाउँमा राजनीतिज्ञको मानमनितो देखेपछि किशोर वयमै फूलवती राजवंशीले संकल्प गरिन््, एक दिन म पनि नेता बन्छु । हुर्कंदो उमेरमा नेता बन्छु भनेर देखेको सपना फूलवतीलाई तब पूरा भएजस्तो लाग्यो, जब उनी झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइन् ।

पूरा भएको एउटा सपना

धेरैले निर्वाचित भएपछि आफूलाई चुनौतीहरूले घेरिएको पाउँछन् । तर, फूलवतीले यसलाई चुनौती मात्रै मानेकी छैनन् । ‘काम गर्नेका लागि ठूलो अवसर पो हो यो त !’ भन्छिन्, ‘यो अवसरलाई म यहाँका मान्छेहरूको सोचमा परिवर्तन ल्याउनका लागि प्रयोग गर्नेछु ।’

आदिवासी समुदायकी छोरी फूलवतीले मानिसहरूको विचार परिवर्तनमा आफ्नो ध्यान दिनुको पृष्ठभूमिमा उनको विगत उभिएको छ । उनको गाउँ ग्वालडुब्बा बस्तीमा छोरी पढाउने चलन थिएन । र पनि, त्यो पञ्चायतकालीन समयमा अक्षरहरूको संसार चियाउन पाउने दुर्लभ छोरीहरूमध्येकी एक थिइन् उनी । कतिसम्म भने, २०४८ मा प्रगति माध्यमिक विद्यालय जुरोपानीबाट एसएलसी उत्तीर्ण गर्दा आदिवासी समुदायबाट एक जना मात्र सहपाठी थिइन्, डाककुमारी राजवंशी । आदिवासी समुदाय राजवंशी, ताजपुरिया, सन्थाल, गनगाई जातिको घना बस्ती रहेको उक्त क्षेत्रबाटै आफूहरू दुईले मात्रै प्रवेशिकासम्म पढ्न पाएको घटनाले फूलवतीलाई झस्काएको थियो भित्रैदेखि ।

झापाको लखनपुरमा २०३३ कात्तिक २ मा जन्मेकी फूलवतीको बाल्यकाल जुरोपानी गाविसको ग्वालडुब्बास्थित मावलमै बित्यो । त्यहीँ उनले राजनीतिमा पाइला हालिन्, त्यहीँबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि सकिन् । विद्यार्थी राजनीतिको उनको सक्रियता गौरादह बहुमुखी क्याम्पसमा ११–१२ मा पढ्दा झन् बढेर गयो । खजुरगाछी गाविस–३ हरिराका हरिप्रसाद राजवंशीसँग २०५२ मा बिहेपछि केही वर्ष उनको राजनीति सेलायो । तर पनि घरको कामबाट फुर्सद पाउनासाथ सामाजिक गतिविधिमा लागिहाल्थिन् उनी ।

तत्कालीन जिल्ला विकास समितिबाट सञ्चालित गाउँ विकास कार्यक्रमअन्तर्गत खजुरगाछी गाविसका ३१ वटा समूहको उनी अध्यक्ष भइन् । २०६३ देखि निरन्तर दस वर्ष उक्त संस्थाको अध्यक्ष रहँदा फूलवतीले धेरै कुराहरू सिक्ने र सिकाउने मौका पाइन् । राजनीतिसँगै उनी महिला अधिकारका विषयमा वकालत पनि गर्थिन् । महिला अधिकार मञ्च झापाको जिल्ला अध्यक्ष भएपछि त उनको राजनीतिक र सामाजिक सक्रियता थप बढेर गयो । गाउँमा मात्र सक्रिय रहेकी फूलवतीले मञ्चमार्फत जिल्लाकै नेतृत्व गर्ने अवसर पाइन् । जुरोपानी–गौरीगन्ज–खजुरगाछीमा उनको सक्रियता देखेको कांग्रेसले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा फूलवतीलाई समानुपातिक सूचीमा राख्यो । तर, उनी दुवै पटक संविधानसभा सदस्यका लागि छनोटमा भने पर्न सकिनन् ।

‘दोस्रो पटक पनि सांसदमा नाम नपरेपछि थोरै मन खिन्न त भयो । तर, हिम्मत हारिन्,’ भन्छिन्, ‘फेरि पनि सामाजिक र पार्टीको राजनीतिक काममा निरन्तर लागिरहें ।’ स्थानीय तह पुनःसंरचनापछि २०७४ मा भएको निर्वाचनमा उनले कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दिइन् । तर, पहिलो चुनावी प्रतिस्पर्धा उनका निम्ति सुखद रहेन । २०७५ मा उनले सामाजिक काम गर्नकै लागि आफैं अध्यक्ष भएर राष्ट्रिय महिला सशक्तीकरण नामक संस्था स्थापना गरिन् जसमार्फत उनले महिला सशक्तीकरणका काम अघि बढाइन् ।

यो पृष्ठभूमिमा फूलवती दोस्रो स्थानीय तहको निर्वाचनमा एक बलियो उम्मेदवार भइसकेकी थिइन् । कांग्रेसले उनलाई टिकट पनि दियो । केन्द्र र जिल्लाकै अधिकांश पालिकामा पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवार उठाएका थिए । तर, गौरीगन्जमा फूलवतीका विरोधीले गठबन्धन बन्न दिएनन् । सबै पार्टी एक्ला एक्लै चुनाव लडे ।

‘तर, यो पटक मैले धेरै कुरा जानेको र सिकिसकेको थिएँ । मैले कुनै कमजोरी नगरी चुनाव जित्ने हरेक रणनीतिलाई सफल ढंगले परिचान गरें,’ फूलवतीको चुनावी समीक्षा छ, ‘नभन्दै, नतिजा सोचेजस्तै आयो ।’ यो चुनावी जितले उनलाई केही सिकाएको छ । त्यो के भने, पार्टी र समाजका लागि निरन्तर काम गर्न सकियो भने ढिलोचाँडो एक दिन ठाउँमा पुग्न सकिन्छ । त्यसको उदाहरण फूलवती आफैंलाई मान्छिन् ।

निर्वाचित भएर आएको पहिलो बैठकमै उनले गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क पढाउने निर्णय गरेकी थिइन् । त्यसका लागि चालु वर्ष खर्च गर्ने गरी ४० लाख रुपैयाँ बजेट विनियोजन पनि गरेकी छन् । शिक्षाको भौतिक एवं शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनुगमन तथा शैक्षिक छलफलका कार्यक्रम पनि राख्दै आएकी छन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?