महिला–बालबालिकालाई छुट्टै अस्पताल- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

महिला–बालबालिकालाई छुट्टै अस्पताल

प्रत्येक शनिबार स्थानीयको सहभागितामा नगर सरसफाइ र वृक्षरोपणमा जुट्ने बानीले मीनाकुमारीलाई मतदातासँग नजिक राख्न सहयोग गरेको छ
यसअघि उपमेयरको पाँचवर्षे कार्यकालमा उनी विरलै विवादमा आइन्, न्याय सम्पादनका मसिना काम गरिन्
मीनाकुमारी लामा, प्रमुख, हेटौंडा उपमहानगरपालिका, मकवानपुर
प्रताप विष्ट

२०३९ सालमा मुलुककै पहिलो महिला जिल्ला सभापति बनेर ओमुटेम्पु लामाले मकवानपुरमा आफ्नो इतिहास रचेकी थिइन् । विकास निर्माणको केन्द्र मानिने जिल्ला पञ्चायतको नेतृत्व महिलाले गरेको विषय धेरैका निम्ति नौलो थियो । त्यही इतिहास पछ्याए जसरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि हेटौंडा उपमहानगरपालिकाकी मेयर भइन्, मीनाकुमारी लामा । देशका ११ उपमहानगरमध्ये महिलाको नेतृत्वमा रहेको यो एक मात्र उपमहानगर हो । 

राजनीतिमा लामो बाटो हिँडेर मीना नेतृत्वको यस पदमा आइपुगेकी हुन् । ०४६ सालपछि विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी मीनाले पञ्चायतको निरंकुशता त बेहोर्नुपरेन । तर समाजमा विद्यमान लैंगिक र जातीय विभेदका अनेक घटनाकी साक्षी भने बन्नुपर्‍यो । यस्तै विभेद र बेथिति हटाउन उनलाई राजनीतिमा सक्रिय भएर लाग्नुपर्ने सोच आएको थियो । ‘समाजमा रहेको महिलामाथिको विभेदले मलाई नराम्रोसँग चिमोट्यो । अनि त्यसलाई हटाउन राजनीतिबाहेक अरू बाटो देखिनँ,’ उनले भनिन् ।

हेटौंडा उपमहानगरपालिका—११ नवलपुरमा ०३३ सालमा जन्मिएकी लामा ०५२ सालमा २० वर्षकै उमेरमा अनेरास्ववियु मकवानपुरको जिल्लाको कोषाध्यक्ष भइसकेकी थिइन् । बिहेपछि पनि उनको राजनीतिक यात्रा रोकिएन । किसान परिवार भए पनि छोरीलाई अगाडि बढाउनुपर्छ भन्ने सोच भएको माइती र सवारी चलाएर परिवारको गुजारा चलाउने पति अनि ससुरा भए पनि नारीशक्तिको सम्मान गर्ने परिवार भएकाले उनलाई बिहेपछि पनि राजनीतिमा लागिरहने वातावरण मिल्यो ।

समाजशास्त्रमा एमए र कानुनमा एलएलबीसम्म अध्ययन गरेकी उनी ०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिवसहित अखिल नेपाल महिला संघ मकवानपुर सचिवको जिम्मेवारीमा थिइन् । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन् । पाँचवर्षे उपमेयरको कार्यकालमा उनी विरलै विवादमा आइन् । न्यायिक समितिमा बसेर न्याय सम्पादनका मसिना काम सम्पन्न गरिन् ।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित भएपछि उनी एमालेमा फर्किनन् । बरु एकीकृत समाजवादीमा रहिन् । सोही पार्टीबाट मेयरकी प्रत्याशी बनेकी उनले गठबन्धनको साझा उम्मेदवारका रूपमा विजयी भएर इतिहास रचिन् । यो जित उनले सजिलै हात पारेकी थिइनन् ।

‘राजनीतिमा लागेदेखि सबैभन्दा बढी दबाब र चुनौती ०७९ को स्थानीय निर्वाचनमा बेहोर्नुपर्‍यो,’ मेयर लामाले भनिन्, ‘गठबन्धनमा भएका दलको आन्तरिक विवाद र निर्वाचनको मुखमा दल अदलबदलले ठूलै समस्या बेहोर्नुपर्‍यो ।’ मेयरमा निर्वाचित भएपछि लामाले आफूलाई सकभर जनताको नजिक राख्ने प्रयत्न गरेकी छन् ।

प्रत्येक शनिबार स्थानीयको सहभागितामा नगर सरसफाइ र वृक्षरोपणमा जुट्ने बानीले उनलाई मतदातासँग नजिक राख्न सहयोग गरेको छ । लामाले आफ्नो कार्यकालमा हेटौंडामा केही महत्त्वपूर्ण काम सक्ने उद्देश्य राखेकी छन् । यहाँमा हालसम्म इन्जिनियरिङ कलेज छैन भने एलएलबीको पढाइ पनि हुँदैन । त्यसले उनले कानुन संकायको पढाइ गर्न र इन्जिनियरिङ कलेज स्थापना गर्न पहल सुरु गरेकी छन् । ‘एलएलबी र इन्जिनियरिङ कलेजको सञ्चालन नगरपालिकाले नै गर्नेछ,’ उनले भनिन् । यी कलेजमा आर्थिक रूपमा विपन्नका छोराछोरीले पढ्न पाउने उनको भनाइ छ ।

आफ्नो कार्यकालमा महिला र बालबालिकाका लागि छुट्टै अस्पताल निर्माण गर्न प्रक्रियासमेत उनले अघि बढाएकी छन् । त्यसका लागि प्रसूति अस्पताल निर्माण गर्न उपमहानगरपालिकाले बजेटको समेत व्यवस्था गरिसकेको छ । महिलाले भोग्नुपरेका स्वास्थ्य जटिलताबारे मेयर लामाको मिहिन बुझाइ देखिन्छ । ‘महिलाले कति पीडा भोग्नुपर्छ, त्यो मलाई थाहा छ,’ उनले भनिन्, ‘त्यसैले पनि हेटौंडामा छुट्टै प्रसूति अस्पताल स्थापना गर्न खोजेका हौं ।’ मेयर लामाकै पहलमा महानगरले सुत्केरी महिलालाई पोसिलो खाना पुगोस् भनेर घरघरमै कोसेली पुर्‍याउन थालेको छ । महिलालाई आत्मनिर्भर बनाउन टोलटोलमा उनले सीपमूलक तालिम दिने र तिनले उत्पादन गरेका सामग्री बिक्रीवितरणका लागि उपमहानगरले नै बजारीकरणको व्यवस्था गरेको छ । हेटौंडा उपमहानगरले नगरवासीका लागि मासिक १० हजार लिटर खानेपानीको महसुल निःशुल्क गराएको छ । यसरी खानेपानी महसुल निःशुल्क गराएको यो नै पहिलो उपमहानगर रहेको लामाको दाबी छ ।

राजनीतिमा महिलाको सहभागिता बढ्दा महिलाको पहुँचमा पनि वृद्धि हुने मेयर लामाको बुझाइ छ । ‘पुरुष मेयर हँॅदा महिलाहरू मेयरको कार्यकक्षमा छिर्न डराएजस्तो भान हुन्थ्यो,’ उनले आफ्नै अनुभव सुनाइन्, ‘अहिले ठ्याक्कै फरक अवस्था छ ।’ महिलाहरू नेतृत्वमा हुँदा उनीहरूमा प्रणालीप्रति अपनत्व महसुस हुने उनको भनाइ छ । महिला कुनै पनि सरकारी कार्यालय वा जनप्रतिनिधि निकायमा प्रमुख हुँदा सबैभन्दा बढी महिलालाई नै सहज हुनेछ । आफू मेयर भएर बसिरहँदा महिलाहरू कार्यालयमा सहजसँग उपस्थित भएर खुलेर कुरा गर्न सकेको अनुभव गरेको उनले बताइन् । समुदायका हरेक क्षेत्रमा पुरुषसरह महिलाको सहभागिता स्थापित गर्नेमा उनको विशेष चासो छ । ‘महिला र बालबालिकाले नगरमा सुरक्षित र संरक्षित महसुस गर्नपर्छ भनेर लागिपरेकी छु,’ उनले भनिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

जसलाई कामले दोहोर्‍यायो

पहिलो कार्यकाल कानुन निर्माण र सिकाइमै बित्यो, दोस्रो कार्यकालमा भने दीपा सेवा प्रवाह चुस्त बनाउन लागिपरेकी छन्
स्थानीय तहमा महिला प्रमुख हुँदा तुलनात्मक रूपमा सुशासन, जवाफदेहिता र पारदर्शिता बढ्ने दीपाको दाबी छ
दीपा बोहोरा दाहाल, अध्यक्ष, सुनकोसी गाउँपालिका, सिन्धुली
राजकुमार कार्की

आम नेपाली महिलाको जीवन विवाहपछि चुलोचौको गर्दैमा र बालबच्चा हुर्काउँदैमा बित्छ । त्यसैले करिअर रोज्ने कि परिवार भन्ने एउटा दुविधा पुरुषका तुलनामा महिलामा हमेशा बढी छ । विवाहले देखिने/नदेखिने अनेक सीमाहरू कोरिदिने र सामाजिक तथा सांस्कृतिक कर्तव्यका विविध दायित्वका सिर्जना गरिदिने हुँदा यसलाई बन्धन भनिएको हुँदो हो । तर, रोल्पाको डुवारिङमा जन्मेहुर्केकी दीपा बोहोरा दाहालको जीवन भने विवाहपछि झन् बढी फैलिन पुग्यो ।

विवाहपछि पतिको घर सिन्धुली आएकी उनी अहिले गाउँपालिकाको अध्यक्षमा चुनिने देशकै केही थोरै महिलामध्येकी एक भएकी छन् । उनको अनुभवले भन्छ, विवाहपछि आफूभित्रको सुषुप्त राजनीतिक चेतले फैलिने अवसर पाएको हुनाले नै उनी स्थानीय सरकारप्रमुख हुन सम्भव भएको हो ।

रोल्पा यसै पनि माओवादी आन्दोलनको आधारभूमि थियो । दीपा जन्मेको गाउँ यसबाट अछुत हुने त कुरै भएन । त्यसैले हुँदो हो, उनका बाबु श्यामलालको कम्युनिस्ट नेताहरूसँग बाक्लो हिमचिम थियो । त्यसको प्रभाव सानी दीपामा पनि परेको थियो । बाबु श्यामलाल आफ्ना दौंतरीहरूसँग सबै किसिमका बेथितिहरूको अन्त्यका लागि कम्युनिस्ट आन्दोलनका गर्नुपर्छ भन्दै सामन्तवादविरुद्ध लड्ने विचार राख्थे । दीपाको मन–मुटुमा बाबुको यही विचार बीज रोपिएको थियो । कम्युनिस्ट विचारधाराको प्रभावकै कारण उनी माओवादी जनयुद्धमा जनवादी कलाकारको रूपमा सामेल भएकी थिइन् । शान्ति प्रक्रियापछि पनि उनी राजनीतिक रूपमा सक्रिय भइराखिन् ।

राजनीतिमै सक्रिय लेखनाथ दाहाल (राजन) सँग बिहे गरेपछि त त्यो विचार बीजले एक वृक्षका रूपमा हुर्कने मौका पायो । २०७४ को स्थानीय तह निर्वाचनमा उनी माओवादीबाट सुनकोसी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । अहिले पनि त्यसै पदमा चुनाव जितेर उनले दुई–दुई पटक प्रत्यक्ष रूपले जनअनुमोदित हुने महिला पालिका अध्यक्षको कीर्तिमानी अभिलेख राखेकी छन् ।

दीपाले पहिलो चुनाव चित्दै गर्दा उनका श्रीमान् लेखनाथ वाग्मती प्रदेशसभा सदस्य थिए । पहिलो कार्यकालको अनुभव बटुलेपछि उनले दोस्रो पटक पनि गाउँपालिका अध्यक्षको उम्मेदवारको टिकट पाइन् । उनको नेतृत्वमा भएका कामले मतदातालाई चित्त बुझेको हुनुपर्छ, नत्र दोस्रो पटक किन निर्वाचित हुन्थिन् र ? यता दीपा दोस्रो पटक उही पदमा जनअनुमोदित भइन् भने उता उनका पति लेखनाथ सिन्धुली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित हुन पुगे ।

स्थानीय तहमा महिला प्रमुख हुँदा तुलनात्मक रूपमा सुशासन, जवाफदेहिता र पारदर्शिता बढ्ने दाबी अध्यक्ष दीपाको छ । सुशासन, समृद्धि र पारदर्शिता भएपछि महिलाहरू पनि सरकार सञ्चालनमा अब्बल छन् है भन्ने प्रमाणित हुँदै जाने उनले बताइन् । स्थानीय तहको नेतृत्वमा महिला पुग्दा चुल्होचौकामा मात्रै सीमित महिलाहरूले पनि स्थानीय सरकारप्रति अपनत्व महसुस गरिएको अनुभव उनले बाँडिन् ।

शिक्षाको विकास नगरेसम्म स्थानीय तहलाई समृद्ध बनाउन सकिँदैन भन्ने उनको बुझाइ छ । त्यसैले उनले उत्कृष्ट शिक्षकलाई सम्मान, अब्बल विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै छात्रवृत्तिजस्ता शिक्षाको गुणस्तर वृद्धि गर्ने काममा आफूलाई केन्द्रित गरेकी छन् । विद्यालयहरूको निरन्तरको अनुगमनले यस्तो कामलाई थप टेवा दिने उनको बुझाइ छ ।

शिक्षाका अलावा महिलाको प्रजनन स्वास्थ्यको विषयमा पनि उनको चासो छ । समाजशास्त्रमा स्नातकोत्तर गरेकी र दुई छोरीको अभिभावकीय जिम्मेवारी सम्हालिरहेकी दीपाले आफ्नो गाउँपालिकाका ७ वटै वडामा स्वास्थ्य चौकी र एकाइ रहेको बताउँदै गर्भवती महिलाको घरमा हरियो झन्डा राखेर स्वास्थ्यप्रति सचेत गराउँदै सुत्केरीलाई पोषिलो खानेकुराको व्यवस्था गरिएको बताइन् ।

उनले आफ्नो कार्यकालमा न्यायिक समितिलाई पनि सक्रिय गराउने अभ्यास गरेकी छन् । यस्ता समितिहरू सक्रिय हुँदा उत्पीडनका परेकाहरूको पहुँच वृद्धि हुने र सामाजिक न्याय कायम हुने उनको विश्वास छ । उनले आफ्नो कार्यकालमा महिलामैत्री उद्योगको विकासलाई पनि प्राथमिकतामा राखेकी छन् । महिलाहरूलाई आर्थिक विकाससँग जोडेर अधिकारसम्पन्न बनाउने उनको ध्येय छ । त्यसैले, फाइबर र ढाका उद्योग सञ्चालन गरी महिलाहरूको आम्दानीमा वृद्धि गर्नेदेखि महिलाहरूलाई सिलाइबुनाइ, ब्युटिसियन, इलेक्ट्रिसियनजस्ता सीपमूलक तालिम प्रदान गर्ने कार्यक्रम पालिकाले गरिरहेको छ ।

राजनीतिमा महिला नेतृत्वलाई अघि बढाउन धेरैखाले सामाजिक र राजनीतिक अवरोधका पर्खालहरू तोड्नुपर्ने उनको धारणा छ । जस्तो, संविधानले नै हरेक प्रमुख तथा उपप्रमुख पदमध्ये एउटामा महिला हुनु अनिवार्य भनेको छ । तर, फरक दलको भन्दै पुरुष नै सबै पदहरूमा पुग्ने गरी गठबन्धनको सहमति हुँदा संविधानको त्यो विधानको धेरै ठाउँमा उल्लंघन भएको छ । यो असंवैधानिक कदमलाई रोक्न जुनसुकै दलबाट भए पनि एउटा पदमा महिला अनिवार्य रूपले निर्वाचित हुनैपर्ने गरी निर्वाचन कानून बनाउनुपर्ने निष्कर्षमा दीपा पुगेकी छन् । यसो भयो भने मात्रै महिलाहरूको सामाजिक र राजनीतिक क्षेत्रमा सम्मानजनक उपस्थिति हुने र त्यसले समाजको पूर्ण विकासमा सघाउ पुग्ने उनी ठान्छिन् ।

उनको पहिलो कार्यकाल कानुन निर्माण र सिक्दासिक्दै बित्यो । दोस्रो कार्यकालमा भने सुरुआतदेखि नै सेवा प्रवाहलाई चुस्त बनाउन लागिपरेको उनले बताइन् । दीपा कवड्डी खेलाडी पनि हुन् । खेलप्रति पनि उनको विशेष झुकाव र लगाव छ । त्यसैले, खेलकुदको विकासका लागि स्थानीय सरकारले गर्न सक्ने हदसम्मको काम गर्ने योजनामा उनी छन् ।

दुई छोरीकी आमा भएकाले तिनीहरूको अभिभावकीय जिम्मेवारी पूरा गर्दै गाउँपालिको नेतृृत्व सम्हाल्नुपर्ने चुनौती दीपालाई छ । अघिल्लो कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा त दीपाकी सानी छोरी २ वर्षकी मात्रै थिइन् ।

‘कहीँकतै बाहिर जाँदा छोरीले फोन गरेर कहिले आउने भन्दै रुन्थिन्,’ दीपा भन्छिन्, ‘त्यतिबेला मलाई भक्कानो छुटेर आउँथ्यो, तर आफैंलाई सम्हालेर जिम्मेवारी निभाउनतिर लाग्थेँ ।’

स्थानीय तहको नेतृत्व महिलको हातमा आउँदा त्यसको सोझो प्रभाव महिलाहरूमा पर्ने दीपाको विश्लेषण छ । ‘महिलाले केही गर्न सक्दैनन् भन्ने पुरुष मानसिकतालाई धक्का दिन पनि महिला नेतृत्व हुनु जरुरी छ,’ भन्छिन्, ‘महिला प्रमुख हुँदा महिलाहरूले आफ्ना कुराहरू सजिलै राख्दा रहेछन् । त्यसको प्रभाव समाजमा पनि पर्दो रहेछ । महिलाहरूले केही जान्दैनन् र सक्दैनन् भन्ने समाजको बुझाइ चिर्न निरन्तर लडिराख्नुपर्छ भन्ने उनले बुझेकी छन् । स्थानीय चुनावअघि मत माग्न गाउँघर डुल्दाको उनको अनुभवले पनि समाजको स्त्रीद्वेषी भावविरुद्ध उभिनुपर्छ भन्ने बनाएको हो दीपालाई ।

‘महिलाले कहाँ पालिका हाँक्न सक्छन् ?’ पतिका साथ मतदाताको घर दैलोमा पुगेर हात जोड्दा उनलाई धेरैले भनेछन् । सँगै रहेका श्रीमान्लाई तपाईंलाई हो भने दिन्छौं, महिलालाई त हुँदैन भनेको अहिले उनको सम्झनामा छ । यसले उनलाई निकै दुःखी बनाएको थियो, छ ।

‘महिलाले के जानेको हुन्छ र भन्ने बुझाइ धेरैमा रहेछ,’ भन्छिन्, ‘यस्तो विचार रहेसम्म लैंगिक समानता कायम गर्न सकिन्न, त्यसैले यसलाई बदल्ने भनेकै महिलालाई काम गर्न सक्ने अवसरको सिर्जना गर्ने हो ।’

दोस्रो कार्यकालमा पनि जनअनुमोदित भएपछि भने उनलाई काम गरेर देखाउन सकियो भने आम जनताले महिलाको नेतृत्व पनि स्विकार्दा रहेछन् भन्ने लागेको छ ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×