किसानमुखी कार्यक्रम- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

किसानमुखी कार्यक्रम

माओवादी केन्द्र वाग्मती प्रदेश सचिवालय सदस्यसमेत रहेकी रेणुका जनताको मन जित्ने गरी काम गरिरहेकी छन्
बेपत्ता श्रीमान् र परिवारका सदस्यको झल्कोले दिने यादहरूबाट सम्हालिँदै रेणुका राजनीतिमा सक्रिय छिन्
रेणुका चौलागाईं, अध्यक्ष, चौंरीदेउराली गाउँपालिका, काभ्रे
ज्योति श्रेष्ठ

माओवादी केन्द्र वाग्मती प्रदेश सचिवालय सदस्यसमेत रहेकी रेणुका जनताको मन जित्ने गरी काम गरिरहेकी छन्
भ्रेमा १३ पालिकामध्ये चौंरीदेउराली गाउँपालिकाको नेतृत्व मात्रै महिलाको काँधमा छ । ०६४ सालमा नेकपा माओवादीका तर्फबाट समानुपातिकतर्फ संविधानसभा सदस्य रहेकी रेणुका चौलागाईंले १० महिनायता पालिकाको नेतृत्व सम्हालिरहेकी छन् ।

पाँच दिदीबहिनी र तीन दाजुकी कान्छी रेणुकाले सानै उमेरमा पितृवियोग खेपिन् । मध्यमवर्गीय परिवारको सुखदुःख र बाबु नहुँदा हेलाहोचोसँग संघर्ष गर्दै हुर्केकी उनी १५ वर्षकै उमेरमा ०५० सालमा संयुक्त जनमोर्चा निकट विद्यार्थी संगठन अनेरास्ववियु (छैटौं) मा आबद्ध भएर राजनीतिक बाटो समातिसकेकी थिइन् ।

राजनीतिमा लाग्दालाग्दै १७ वर्षकै उमेरमा ०५२ सालमा माओवादीमा आबद्ध नवीन गौतमसँग उनको बिहे भयो । उनले गरेको जनवादी विवाहलाई धेरैले रुचाएनन् । तर पनि समाज बदल्न त्यति सजिलो छैन भनेर उनी संघर्षमै रमाइन् । विवाहपछि उनका श्रीमान् भूमिगत राजनीतिमा लागे । ‘प्र्रहरीले श्रीमान् कहाँ छन् भन्दै अनेक दुःख दिन्थे,’ उनले सुनाइन् ।

माओवादीमा लागेको भन्दै ०५३ मा उनी एक महिना प्रहरी हिरासतमा परिन् । शारीरिक र मानसिक यातना खेपिन् । एसएलसीको परीक्षा नजिकिँदै गर्दा उनले राज्यपक्षबाट खेपेको मानसिक यातनाले राम्ररी परीक्षासमेत दिन सकिनन् । सधैंको निगरानी सुरु भएपछि उनी परिवारकै सल्लाहमा ६/७ महिनाकी छोरी परिवारलाई जिम्मा लगाएर भूमिगत भइन् ।

सशस्त्र द्वन्द्वकै क्रममा उनले आमाजू बिन्दा गौतम, दाजु कमल चौलागाईं र जेठाजु यानप्रसाद गौतमलाई गुमाइन् । ०५६ देखि उनका श्रीमान् नवीन गौतम र अर्की आमाजू कमला बेपत्ता छन् । बेपत्ता श्रीमान् र परिवारका सदस्यको झल्कोले दिने यादहरूबाट सम्हालिँदै उनी राजनीतिमा सक्रिय छिन् । ०५८ सालमा देशमा संकटकाल लागेसँगै उनी त्यही वर्षको पुस १४ मा पक्राउ परिन् । ‘मलाई पाँचखाल ब्यारेक र हनुमानढोकामा २५/२५ दिन र छाउनी ब्यारेकमा एक साता राखियो । अनि काठमाडौंको सेन्टर जेलमा २ वर्ष बसेपछि ०६० सालमा रिहा गरियो,’ उनले भनिन् ।

अहिले माओवादी केन्द्र वाग्मती प्रदेश सचिवालय सदस्य र माओवादी केन्द्र काभ्रेपलाञ्चोककी सहइन्चार्ज रहेकी उनी आफ्नै कार्यकालमा आम जनताको मन जित्ने गरी काम गर्ने योजनामा छिन् । ‘समुदायस्तरमा हुने सानादेखि ठूला समस्या समाधान गर्न लागिपरेकी छु,’ उनले भनिन् ।

स्थानीय तहको नेतृत्वमा महिला भएकैले ज्येष्ठ नागरिक र महिलाले आफ्ना समस्या सजिलोसँग सुनाइरहेको उनको अनुभव छ । ‘प्रशासनिकदेखि न्यायसम्पादनका काममा महिलाले नेतृत्व गरेको कामलाई विश्वास गर्न थालिएको छ,’ उनले भनिन्, ‘सांसदको जिम्मेवारी सम्हालिसकेकाले पनि मेरो नेतृत्वमा भएका काममा विश्वास बढेको पाएकी छु ।’

काभ्रेको चौंरीदेउराली गाउँपालिका राजधानी काठमाडौंबाट नजिक भए पनि यो विकट क्षेत्र नै मानिन्छ । डाँडापारि र कोसीपारि भनेपछि कर्णालीसरह नै मानिन्छ । त्यसैले यहाँको स्वास्थ्य, शिक्षा, खानेपानी तथा जनताको आर्थिक आयआर्जनका कामलाई नै पहिलो प्राथमिकतामा राखिएको उनले बताइन् । यस पालिकालाई समुन्नत र राम्रो बनाउने उनको चाहना छ । ‘यहाँका मानिसहरूलाई कुनै पनि आधारभूत तथा भौतिक विषयको अभाव नहोस् भनेर विभिन्न योजना बनाइरहेका छौं,’ उनले भनिन् ।

शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको उनले बताइन् । पालिकाको शिक्षामा देखिएको सबैभन्दा ठूलो समस्या विद्यार्थीको न्यून संख्या हो । त्यसैले थोरै विद्यार्थी भएका विद्यालय उनले मर्ज गर्ने योजना बनाएकी छन् । ‘केही वर्षयता सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण घट्दै गएको छ,’ उनले भनिन्, ‘सम्पन्न परिवारका बालबच्चा सहरतिरै छन्, गाउँमा थोरै मात्रै बालबच्चा छन्, सामुदायिक विद्यालयमा विद्यार्थीर्को आकर्षण बढाउन आवश्यक छ, त्यसका लागि पनि केही योजना बनाइँदै छ ।’

पालिका क्षेत्राधिकारमा सञ्चालनमा रहेको प्राविधिक धारअन्तर्गत भेटेरिनरी र कृषि विधामा अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताइन् । विद्यार्थीलाई पढाइसँगै आयआर्जनको स्रोत जुटाउन कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘विद्यालयमा स्थानीय पाठ्यक्रमको आवश्यकता छ । त्यसैले शिक्षा शाखासँग समन्वय गरेर पालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम राख्ने तयारी गरिएको छ,’ उनले भनिन् । पालिकाका विद्यालयको गुणस्तर बढाउन शिक्षा शाखाले विशेष पहल गरेको उनले जनाइन् ।

शिक्षापछि उनको प्राथमिकता स्वास्थ्यमा छ । ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सहज एवं सरल उपचारका लागि प्रत्येक महिनामा सबै वडामा एक पटक घुम्ती शिविर राखिएको उनले बतााइन् । ‘शिविरसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य जाँच्ने व्यवस्था गरिएको छ,’ चौलागाईंले भनिन् ।

गर्भवतीलाई डेलिभरीका लागि अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने योजना पनि बनाइएको उनले बताइन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न एमबीबीएस उत्तीर्ण डाक्टरबाट स्वास्थ्य सेवा प्रवाह गराउने योजना पनि रहेको उनको भनाइ छ ।

महिलाको काममा विश्वास बढ्दै गएकाले न्यायसम्पादनतर्फ पनि विश्वास बढेको उनले जनाइन् । न्यायमा सहज पहुँचका लागि सूचना पार्टीको व्यवस्था गरिएको उनको भनाइ छ । महिलाको स्तरोन्नतिका लागि पालिकाले महिलालाई उद्यमसँग पनि जोडेर काम गर्दै आएको र त्यसका निम्ति डेढ सय महिलालाई सीपमूलक तालिम लिएर उद्यममा जोडेको उनले जनाइन् । गृहिणी तथा आम महिलाको व्यक्तित्व विकासका लागि सामाजिक, राजनीतिक क्षेत्रमा चेतनास्तर बढाउन आवश्यक हुने उनको बुझाइ छ । ग्रामीण क्षेत्रका महिलालाई उत्पादनमा जोड्न खेतीपाती र पशुपालनलाई व्यावसायिक बनाउन अनि सीपमूलक तालिमसहित रोजगारीको व्यवस्था मिलाउन पहल गरिरहेको पनि उनले बताइन् ।

पालिकाको खानेपानीको समस्या टार्न उनकै नेतृत्वमा ‘एक घर, एक धारा’ को योजनामा काम भइरहेको छ । सडक स्तरोन्नति र सञ्चारको पहुँच निर्माणमा पनि आफूले प्राथमिकतासाथ काम गरिरहेको उनले जनाइन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

अध्यक्षसँगै सोध्छन्– ‘अध्यक्षज्यू खोइ’

ग्रामीण विकासका कामले महिलाको जीवनस्तर उकास्न कसरी सक्छन् भन्नेमा पार्वतीको चासो छ
स्नातकोत्तर अध्ययन सकेकी पार्वती यति बेला गाउँपालिकाको आन्तरिक आय बढाउन स्रोतहरुको पहिचान गर्दै त्यसका लागि उपयुक्त नीति बनाएर राजस्व सुधार योजना कार्यान्वयनमा व्यस्त छिन्
पार्वती सुनुवार, अध्यक्ष, फिक्कल गाउँपालिका, सिन्धुली
राजकुमार कार्की

ग्रामीण महिलाका दुःख के हुन् ? फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारसँग एकै वाक्यमा यसको जवाफ छैन । किनभने, महिलालाई अल्झाइराख्ने सामाजिक र सांस्कृतिक परिवेशले अनेक उल्झनहरू खडा गरिदिएका छन् । यसलाई हटाउन स्थानीय सरकारको प्रमुखका हैसियतले उनी अहिले अनेक नयाँ योजनाहरूको तर्जुमा र त्यसको कार्यान्वयनमा लागि परिरहेकी छन् । ग्रामीण जीवनका दुःख हटाउने उत्प्रेरणा उनलाई आफ्नै भोगाइ र अनुभवले पनि दिएको छ ।

सामान्य कृषक परिवारमा जन्मिएकी पार्वतीको बाल्यकालमा ग्रामीण भेगका अरू सामान्य कृषक परिवारका छोरीहरूको जस्तै दुःख र सुखको घामछाया छ ।

आफ्ना आमाबुबाको दस छोराछोरीमध्येकी जेठी पार्वतीको भागमा घरयासी कामको बोझ सधैं उस्तै हुन्थ्यो । यही बोझले उनले विद्यालय जाने छेक्न आउँथ्यो जसले गर्दा अक्षरहरूको संसारमा सानी पार्वतीलाई ज्यादा रमाउने अवसरै जुर्दैनथ्यो ।

‘बिहान ९ बजे नै खाना खाएर जानुपर्ने र चार बजेसम्म विद्यालयमा पढ्नुपर्ने भएकाले भोकले उधुमै सताउँथ्यो’, पार्वती सुनाउँझिन्, ‘तर के गर्नु ? खाजा खाने चलन नै थिएन त्यो बेला ।’ कहिलेकाहीँ घरमा खाना पाक्न ढिलो हुन्थ्यो । यस्तोमा, उनी भोकै स्कुल जान्थिन् जसले गर्दा दिनभरि नै उनी पेटको आगोसँग जुध्न पर्ने कष्टकर क्षणहरूबाट गुज्रन्थिन् जसलाई पार्वतीले भुलेकी छैनन् अझै ।

यस्ता अनेकन् अप्ठ्यारा र संघर्षको अनुभवबाट खारिएकी पार्वती यो वर्ष फिक्कल गाउँपालिकाको अध्यक्षका रूपमा चुनिएकी छन् । सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी ३७ वर्षीया अविवाहित पार्वती चाहन्छिन्, उनको बाल्यकालीन भोक अहिलेका बालबालिकाले झेल्न नपरोस् । त्यसैले, उनी गाउँपालिकाका सरकारी विद्यालयको दिवा खाजा कार्यक्रम कत्तिको प्रभावकारी रूपमा चलिरहेको छ भनेर बारम्बार जाँचबुझ गरिराख्छिन् ।

भौकै पेट गए पनि पार्वतीलाई विद्यालयले ज्ञानको खजाना भने प्रशस्त दियो । विद्यार्थीकालमै राजनीतिक क्रियाकलापमा संग्लन हुन पाउँदा उनमा राजनीतिक चेत हुर्किन पायो । २०५९ सालमा विद्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै जिल्ला समिति सदस्य, अखिल नेपाल महिला संघको सदस्य र सचिव हुँदै अध्यक्ष, हाल संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एमालेको जिल्ला सचिवालय सदस्य भएकी पार्वतीले अन्तरपार्टी महिला संजालको जिम्मेवारीको अनुभवसमेत सँगालेकी छन् । तत्कालीन जिल्ला विकास समितिमा जिल्ला सडक सुधार कार्यक्रम, ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम, स्थानीय सडक सुधार कार्यक्रममा लामो समय सामाजिक परिचालकको रूपमा काम गरेको अनुभवले उनलाई यति बेला गाउँपालिकाको नेतृत्व सम्हाल्न मात्रै होइन विकासका प्राथिमकताहरू चयन गर्न पनि सजिलो भएको छ ।

गाउँपालिका अध्यक्ष सम्हाल्नुअघि उनी ग्रामीण महिला चेतना केन्द्र नामक गैरसरकारी संस्थामा लामो समयसम्म आबद्ध थिइन् । यो कार्य अनुभवले उनलाई ग्रामीण समाज चिन्न, यसका आवश्यकता बुझ्न र स्थानीयका समस्या खुट्याउन सजिलो बनाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा उनी एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अघिल्लो कार्यकालको अनुभव सँगाल्दै यसपाला उनी गाउँपालिकाको अध्यक्ष पदमा चुनिएकी हुन् ।

स्नातकोत्तर अध्ययन सकेकी पार्वती यतिबेला गाउँपालिकाको आन्तरिक आयवृद्धि गर्न स्रोतहरूको पहिचान गर्दै त्यसका लागि उपयुक्त नीति निर्माण गरी ३ वर्षे राजस्व सुधार योजना बनाएकी छन् जो यसै वर्षदेखि लागू पनि भइरहेको छ । उनकै नेतृत्वमा गाउँपालिकाले युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन पाँच सयवटा नयाँ व्यवसाय थप गरी तीन सय जनालाई व्यावसायिक तालिम प्रदान गरिसकेको छ । कृषिको क्षेत्रगत वर्गीकरण गरी उत्पादनलाई वृद्धि गर्न आलु, किवी आँप, केरा, कागती, जुनार, धान, दलहन, मकै, अलैंची, जडीबुटी र तरकारीको पकेट क्षेत्र निर्धारण गर्ने काम पनि उनले गरेकी छन् ।

ग्रामीण विकासका कामले महिलाको जीवनस्तर उकास्न कसरी सक्छ भन्नेमा पार्वतीको सधैं चासो रहन्छ । ‘एक घर एक धारा’ को अवधारणा ल्याएर एक हजार पाँच सय घरधुरीमा सुनकोसीको पानी लिफ्ट प्रणालीबाट पुर्‍याइएको उनले बताइन् । पानी ओसार्ने झन्झटबाट मुक्त गरिदिँदा मात्र पनि महिलालाई कामको बोझ कम हुने उनको बुझाइ छ ।

विद्युतीकरण, सडक सञ्जालको विस्तार, झोलुंगे र पक्की पुलदेखि स्वास्थ्य सेवा प्रदान गर्न संस्थाहरूको संरचना निर्माणका अलावा उनले गाउँपालिकाका पर्यटन वृद्धि गर्न पदमार्ग निर्माणको अवाधारणा पनि अघि सारेकी छन् । त्यस्तै बालिकाहरूलाई विद्यालयमा पढ्न सहज होस् भनेर छात्रामैत्री शौचालय निर्माणलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।

महिला नेतृत्वमा पुग्दा महिलाहरूले खुलेर आफ्ना कुरा राख्न सक्ने अनुभव उनले सँगालेकी छन् । महिला अध्यक्षले महिला हितको क्षेत्रमा ज्यादा चासो राख्नु स्वाभाविक हुने हुनाले यसबाट विद्यमान लैंगिक असमानतालाई कम गर्न मद्दत पुग्ने उनको विचार छ । लैंगिक दृष्टिले न्यायपूर्ण नीतिको निर्माण, दिगो विकासको लक्ष्यको स्थानीयकरण, नेतृत्व विकासका लागि समूह सञ्जाल र सहकारीमा महिला आबद्धताजस्ता कामलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।

अघिल्लो कार्यकालमा गाउँपालिकाको उपाध्यक्ष हुँदा नै प्रत्येक वडाबाट असल ‘सासू–बुहारी’ सम्मान कार्यक्रम सुरु गरेकी थिइन् पार्वतीले । वडाका जनप्रतिनिधि र सचिवमार्फत त्यस्ता उत्कृष्ट सासू–बुहारी छनोट हुन्छ । देख्दा सामान्यजस्तो देखिए पनि यो कार्यक्रमले घरझगडामा कमी आएको उनको ठम्याइ छ । वडाका जनप्रतिनिधि र सचिवमार्फत त्यस्ता उत्कृष्ट सासू–बुहारी छनोट हुने गरेका छन् ।

महिला उद्यमीहरूलाई प्रोत्साहन, औजार वितरण र सीप वृृद्धि तथा वित्तीय सहायताजस्ता कामले महिलाहरूको आत्मबल बढाउने अनुभव उनको छ । महिला समूह र आमा समूहहरूलाई बीउ पुँजी दिने व्यवस्थाले वित्तीय पहँॅच बढेको उनले बताइन् । धूवाँरहित आधुनिक चुलो वितरणदेखि किशोरीहरूलाई लोकसेवा कक्षा, रोजगरीमा प्राथमिकताजस्ता अभ्यासले छोरीहरूको विकासमा भूमिका खेलिरहेको उनको बुझाइ छ । छोरीले पनि छोराले गर्ने कामहरू गर्न सक्छन् भन्ने बुझाउनकै लागि गाउँपालिकाले नै पालिकास्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको उनले बताइन् ।

बालिका, किशोरी र आमाहरूले जीवनमा भोग्ने अप्ठ्याराहरूबारे आफू परिचित रहेकाले यस्ता समस्यालाई सहज बनाउने काममा पनि पार्वती लागि परेकी छन् । विद्यालयमा निःशुल्क प्याड वितरणदेखि पाठेघर स्क्रिनिङ कार्यक्रम उनको यही बुझाइको परिणति हो । सबै स्वास्थ्य चौकीमा प्रसूतिगृहको स्थापना, स्वास्थ्यकर्मी जनशक्ति व्यवस्थापन गरी गर्भवती तथा सुत्केरी जाँचबापत भत्ता, घरमा हुने असुरक्षित सुत्केरी शून्य गर्न स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्ता र एम्बुलेन्समा सुत्केरी हुन आउँदा र जाँदा छुट, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउँदा निःशुल्क जाउलो दिनेजस्ता कार्यक्रमलाई उनले प्राथमिकतामा राखेकी छन् ।

स्थानीय तहको नेतृत्व महिलाको हातमा हुँदा लैंगिक विभेदको अन्त गर्न महिला सशक्तीकरण र महिला न्यायका विषयमा धेरै काम हुने उनको ठम्याइ छ । महिलाहरूले पुरुष प्रमुखसँग भन्दा महिला प्रमुखसँग खुलेर कुरा गर्ने गरेको उनको अनुभव छ । अघिल्लो कार्यकालमा आफू न्यायिक समितिमा बसेर काम गर्दाको अनुभव उनले अहिलेको कार्यकालमा धेरै उपयोग गर्न पाएकी छन् ।

महिलालाई अधिकांश अवस्थामा पालिकाको उपाध्यक्षमै सीमित गर्ने चलनले होला, गाउँघरमा डुल्दा उनलाई कतिपयले अध्यक्ष हुँ भन्दा पनि नपत्याएको अनौठो अनुभव छ । भन्छिन्, ‘मानिसहरू मलाई उपाध्यक्ष नै ठान्दा रहेछन्, अध्यक्ष हुँ भन्दा पनि पत्याउँदैनन् । कामले प्रमाणित गर्दै गएपछि यस्ता सबै भ्रम हट्छन् भन्ने ठानेकी छु ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×