अध्यक्षसँगै सोध्छन्– ‘अध्यक्षज्यू खोइ’- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

अध्यक्षसँगै सोध्छन्– ‘अध्यक्षज्यू खोइ’

ग्रामीण विकासका कामले महिलाको जीवनस्तर उकास्न कसरी सक्छन् भन्नेमा पार्वतीको चासो छ
स्नातकोत्तर अध्ययन सकेकी पार्वती यति बेला गाउँपालिकाको आन्तरिक आय बढाउन स्रोतहरुको पहिचान गर्दै त्यसका लागि उपयुक्त नीति बनाएर राजस्व सुधार योजना कार्यान्वयनमा व्यस्त छिन्
पार्वती सुनुवार, अध्यक्ष, फिक्कल गाउँपालिका, सिन्धुली
राजकुमार कार्की

ग्रामीण महिलाका दुःख के हुन् ? फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारसँग एकै वाक्यमा यसको जवाफ छैन । किनभने, महिलालाई अल्झाइराख्ने सामाजिक र सांस्कृतिक परिवेशले अनेक उल्झनहरू खडा गरिदिएका छन् । यसलाई हटाउन स्थानीय सरकारको प्रमुखका हैसियतले उनी अहिले अनेक नयाँ योजनाहरूको तर्जुमा र त्यसको कार्यान्वयनमा लागि परिरहेकी छन् । ग्रामीण जीवनका दुःख हटाउने उत्प्रेरणा उनलाई आफ्नै भोगाइ र अनुभवले पनि दिएको छ ।

सामान्य कृषक परिवारमा जन्मिएकी पार्वतीको बाल्यकालमा ग्रामीण भेगका अरू सामान्य कृषक परिवारका छोरीहरूको जस्तै दुःख र सुखको घामछाया छ ।

आफ्ना आमाबुबाको दस छोराछोरीमध्येकी जेठी पार्वतीको भागमा घरयासी कामको बोझ सधैं उस्तै हुन्थ्यो । यही बोझले उनले विद्यालय जाने छेक्न आउँथ्यो जसले गर्दा अक्षरहरूको संसारमा सानी पार्वतीलाई ज्यादा रमाउने अवसरै जुर्दैनथ्यो ।

‘बिहान ९ बजे नै खाना खाएर जानुपर्ने र चार बजेसम्म विद्यालयमा पढ्नुपर्ने भएकाले भोकले उधुमै सताउँथ्यो’, पार्वती सुनाउँझिन्, ‘तर के गर्नु ? खाजा खाने चलन नै थिएन त्यो बेला ।’ कहिलेकाहीँ घरमा खाना पाक्न ढिलो हुन्थ्यो । यस्तोमा, उनी भोकै स्कुल जान्थिन् जसले गर्दा दिनभरि नै उनी पेटको आगोसँग जुध्न पर्ने कष्टकर क्षणहरूबाट गुज्रन्थिन् जसलाई पार्वतीले भुलेकी छैनन् अझै ।

यस्ता अनेकन् अप्ठ्यारा र संघर्षको अनुभवबाट खारिएकी पार्वती यो वर्ष फिक्कल गाउँपालिकाको अध्यक्षका रूपमा चुनिएकी छन् । सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी ३७ वर्षीया अविवाहित पार्वती चाहन्छिन्, उनको बाल्यकालीन भोक अहिलेका बालबालिकाले झेल्न नपरोस् । त्यसैले, उनी गाउँपालिकाका सरकारी विद्यालयको दिवा खाजा कार्यक्रम कत्तिको प्रभावकारी रूपमा चलिरहेको छ भनेर बारम्बार जाँचबुझ गरिराख्छिन् ।

भौकै पेट गए पनि पार्वतीलाई विद्यालयले ज्ञानको खजाना भने प्रशस्त दियो । विद्यार्थीकालमै राजनीतिक क्रियाकलापमा संग्लन हुन पाउँदा उनमा राजनीतिक चेत हुर्किन पायो । २०५९ सालमा विद्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै जिल्ला समिति सदस्य, अखिल नेपाल महिला संघको सदस्य र सचिव हुँदै अध्यक्ष, हाल संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एमालेको जिल्ला सचिवालय सदस्य भएकी पार्वतीले अन्तरपार्टी महिला संजालको जिम्मेवारीको अनुभवसमेत सँगालेकी छन् । तत्कालीन जिल्ला विकास समितिमा जिल्ला सडक सुधार कार्यक्रम, ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम, स्थानीय सडक सुधार कार्यक्रममा लामो समय सामाजिक परिचालकको रूपमा काम गरेको अनुभवले उनलाई यति बेला गाउँपालिकाको नेतृत्व सम्हाल्न मात्रै होइन विकासका प्राथिमकताहरू चयन गर्न पनि सजिलो भएको छ ।

गाउँपालिका अध्यक्ष सम्हाल्नुअघि उनी ग्रामीण महिला चेतना केन्द्र नामक गैरसरकारी संस्थामा लामो समयसम्म आबद्ध थिइन् । यो कार्य अनुभवले उनलाई ग्रामीण समाज चिन्न, यसका आवश्यकता बुझ्न र स्थानीयका समस्या खुट्याउन सजिलो बनाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा उनी एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अघिल्लो कार्यकालको अनुभव सँगाल्दै यसपाला उनी गाउँपालिकाको अध्यक्ष पदमा चुनिएकी हुन् ।

स्नातकोत्तर अध्ययन सकेकी पार्वती यतिबेला गाउँपालिकाको आन्तरिक आयवृद्धि गर्न स्रोतहरूको पहिचान गर्दै त्यसका लागि उपयुक्त नीति निर्माण गरी ३ वर्षे राजस्व सुधार योजना बनाएकी छन् जो यसै वर्षदेखि लागू पनि भइरहेको छ । उनकै नेतृत्वमा गाउँपालिकाले युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन पाँच सयवटा नयाँ व्यवसाय थप गरी तीन सय जनालाई व्यावसायिक तालिम प्रदान गरिसकेको छ । कृषिको क्षेत्रगत वर्गीकरण गरी उत्पादनलाई वृद्धि गर्न आलु, किवी आँप, केरा, कागती, जुनार, धान, दलहन, मकै, अलैंची, जडीबुटी र तरकारीको पकेट क्षेत्र निर्धारण गर्ने काम पनि उनले गरेकी छन् ।

ग्रामीण विकासका कामले महिलाको जीवनस्तर उकास्न कसरी सक्छ भन्नेमा पार्वतीको सधैं चासो रहन्छ । ‘एक घर एक धारा’ को अवधारणा ल्याएर एक हजार पाँच सय घरधुरीमा सुनकोसीको पानी लिफ्ट प्रणालीबाट पुर्‍याइएको उनले बताइन् । पानी ओसार्ने झन्झटबाट मुक्त गरिदिँदा मात्र पनि महिलालाई कामको बोझ कम हुने उनको बुझाइ छ ।

विद्युतीकरण, सडक सञ्जालको विस्तार, झोलुंगे र पक्की पुलदेखि स्वास्थ्य सेवा प्रदान गर्न संस्थाहरूको संरचना निर्माणका अलावा उनले गाउँपालिकाका पर्यटन वृद्धि गर्न पदमार्ग निर्माणको अवाधारणा पनि अघि सारेकी छन् । त्यस्तै बालिकाहरूलाई विद्यालयमा पढ्न सहज होस् भनेर छात्रामैत्री शौचालय निर्माणलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।

महिला नेतृत्वमा पुग्दा महिलाहरूले खुलेर आफ्ना कुरा राख्न सक्ने अनुभव उनले सँगालेकी छन् । महिला अध्यक्षले महिला हितको क्षेत्रमा ज्यादा चासो राख्नु स्वाभाविक हुने हुनाले यसबाट विद्यमान लैंगिक असमानतालाई कम गर्न मद्दत पुग्ने उनको विचार छ । लैंगिक दृष्टिले न्यायपूर्ण नीतिको निर्माण, दिगो विकासको लक्ष्यको स्थानीयकरण, नेतृत्व विकासका लागि समूह सञ्जाल र सहकारीमा महिला आबद्धताजस्ता कामलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।

अघिल्लो कार्यकालमा गाउँपालिकाको उपाध्यक्ष हुँदा नै प्रत्येक वडाबाट असल ‘सासू–बुहारी’ सम्मान कार्यक्रम सुरु गरेकी थिइन् पार्वतीले । वडाका जनप्रतिनिधि र सचिवमार्फत त्यस्ता उत्कृष्ट सासू–बुहारी छनोट हुन्छ । देख्दा सामान्यजस्तो देखिए पनि यो कार्यक्रमले घरझगडामा कमी आएको उनको ठम्याइ छ । वडाका जनप्रतिनिधि र सचिवमार्फत त्यस्ता उत्कृष्ट सासू–बुहारी छनोट हुने गरेका छन् ।

महिला उद्यमीहरूलाई प्रोत्साहन, औजार वितरण र सीप वृृद्धि तथा वित्तीय सहायताजस्ता कामले महिलाहरूको आत्मबल बढाउने अनुभव उनको छ । महिला समूह र आमा समूहहरूलाई बीउ पुँजी दिने व्यवस्थाले वित्तीय पहँॅच बढेको उनले बताइन् । धूवाँरहित आधुनिक चुलो वितरणदेखि किशोरीहरूलाई लोकसेवा कक्षा, रोजगरीमा प्राथमिकताजस्ता अभ्यासले छोरीहरूको विकासमा भूमिका खेलिरहेको उनको बुझाइ छ । छोरीले पनि छोराले गर्ने कामहरू गर्न सक्छन् भन्ने बुझाउनकै लागि गाउँपालिकाले नै पालिकास्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको उनले बताइन् ।

बालिका, किशोरी र आमाहरूले जीवनमा भोग्ने अप्ठ्याराहरूबारे आफू परिचित रहेकाले यस्ता समस्यालाई सहज बनाउने काममा पनि पार्वती लागि परेकी छन् । विद्यालयमा निःशुल्क प्याड वितरणदेखि पाठेघर स्क्रिनिङ कार्यक्रम उनको यही बुझाइको परिणति हो । सबै स्वास्थ्य चौकीमा प्रसूतिगृहको स्थापना, स्वास्थ्यकर्मी जनशक्ति व्यवस्थापन गरी गर्भवती तथा सुत्केरी जाँचबापत भत्ता, घरमा हुने असुरक्षित सुत्केरी शून्य गर्न स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्ता र एम्बुलेन्समा सुत्केरी हुन आउँदा र जाँदा छुट, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउँदा निःशुल्क जाउलो दिनेजस्ता कार्यक्रमलाई उनले प्राथमिकतामा राखेकी छन् ।

स्थानीय तहको नेतृत्व महिलाको हातमा हुँदा लैंगिक विभेदको अन्त गर्न महिला सशक्तीकरण र महिला न्यायका विषयमा धेरै काम हुने उनको ठम्याइ छ । महिलाहरूले पुरुष प्रमुखसँग भन्दा महिला प्रमुखसँग खुलेर कुरा गर्ने गरेको उनको अनुभव छ । अघिल्लो कार्यकालमा आफू न्यायिक समितिमा बसेर काम गर्दाको अनुभव उनले अहिलेको कार्यकालमा धेरै उपयोग गर्न पाएकी छन् ।

महिलालाई अधिकांश अवस्थामा पालिकाको उपाध्यक्षमै सीमित गर्ने चलनले होला, गाउँघरमा डुल्दा उनलाई कतिपयले अध्यक्ष हुँ भन्दा पनि नपत्याएको अनौठो अनुभव छ । भन्छिन्, ‘मानिसहरू मलाई उपाध्यक्ष नै ठान्दा रहेछन्, अध्यक्ष हुँ भन्दा पनि पत्याउँदैनन् । कामले प्रमाणित गर्दै गएपछि यस्ता सबै भ्रम हट्छन् भन्ने ठानेकी छु ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

एकीकृत नमुना बस्ती बसाउँदै

विकास निर्माणका काममा विपक्षीले तगारो हाल्दा आफू सुरूमा अप्ठ्यारोमा परे पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर गरिएका कामले दिए नतिजा
निजी जग्गा किनेर ६ वटा विद्यालय भवन बनाउनेदेखि खस्किँदै गएको शिक्षा क्षेत्रलाई सबल बनाउन रिनादेवीले कम्मर कसिन्
रिनादेवी साह, प्रमुख, मौलापुर नगरपालिका, रौतहट
शिव पुरी

०७४ को स्थानीय तह निर्वाचनमा माओवादी (केन्द्र) ले रौतहटको मौलापुर नगरपालिका प्रमुखमा रिनादेवी साहलाई उम्मेदवार बनाएपछि धेरैको मनमा साझा शंका थियो, ‘महिलाले कसरी नगर हाँक्न सक्छन् ?’ यस्तो शंका सामान्य मान्छेको मनमा मात्रै उब्जेको थिएन ।

पार्टीपंक्तिभित्र पनि धेरै थिए, जसले यही शंकालाई मलजल गरिरहेका थिए । तर सबैको शंकालाई दूर गर्दै रिनादेवी चुनावमा होमिइन् र जितिन पनि । उनी रौतहटको मात्रै नभएर सिंगो मधेस प्रदेशकै एक मात्र महिला मेयर थिइन् । पहिलो जितले उनलाई स्थानीय तहमा यसरी स्थापित गरिदियो कि, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उनले चुनाव जितेर दोस्रो कार्यकाल सम्हाल्ने अवसर पाइन् ।

दुई पटक नगरको बागडोर सम्हाल्ने अवसर पाएकी उनी पहिलो कार्यकालमा भने अनेक समस्या र चुनौतीसँग जध्नुपरेको सुनाउँछिन् । विकास निर्माणका काममा विपक्षीले तगारो हाल्दा आफू सुरुमा अप्ठ्यारोमा परे पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर गरिएका कामले नतिजा दिन थालेपछि विरोधी चुप भएको उनले बताइन् ।

रिनादेवीको पृष्ठभूमि राजनीतिक होइन । भारत सीतामाढीको जमिनदार परिवारमा ०४१ सालमा जन्मिएकी रिनादेवीले ०५५ सालमा माओवादीका तत्कालीन नेता प्रभु साहसित विवाह गरेपछि मात्रै राजनीतिबारे जान्न–बुझ्न थालेकी हुन् । उनका हजुरबा अठन्चित साह सीतामाढीका स्थानीय नेता भए पनि उनले किशोरावस्थामा राजनीतिप्रति उति चासो राखिनन् । बिहेपछि उनले नेपालबाटै प्रवीणता प्रमाणपत्र तह पास गरिन् । ०५९ सालमा उनका श्रीमान् माओवादीका जिल्ला कमिटी सदस्य थिए । श्रीमान् माओवादीको भूमिगत राजनीतिमा लागेपछि उनी मौलापुरस्थित घरमा एकलै बस्न सकिनन् । अनि उनी पनि गर्भवती अवस्थामै श्रीमान्सँगै भूमिगत भइन् ।

माओवादी–एमाले हुँदै आफ्नै नेतृत्वमा प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । उनी अहिले रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित सांसद हुन् । अघिल्लो कार्यकालमा श्रीमान् एमाले पार्टीमा थिए । त्यसैले रिनादेवी पनि एमालेबाटै चुनाव उठेकी थिइन् । सशस्त्र द्वन्द्वका बेला श्रीमान्सँगै भूमिगत भएकी रिनादेवीको महिला प्रमुख पनि केही गर्न सक्छन् भन्ने उदाहरण बन्ने सोच छ ।

महिला प्रमुख भएकैले अहिले कार्यलयमा पुरुषभन्दा महिला सेवाग्राही धेरै आउने गरेको उनको अनुभव छ । ‘महिला प्रमुख भएकाले उनीहरू कुराकानी गर्न पनि सहज मान्छन् । त्यसैले पनि सबै सेवाग्राहीलाई भेटघाटमा सहज पहुँच दिएको छु,’ उनले भनिन् । पहिलो कार्यकालमा आफू महिलाको हक अधिकारको सुरक्षा र प्रवर्द्धनका लागि नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रम सञ्चालन गर्ने दायित्वमा अग्रसर भएको उनले सुनाइन् । त्यसका अतिरिक्त पहिलो कार्यकालमा उनले सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिन् । नगरभरि विद्युत् महसुल छुट गराइन् ।

आधुनिक बसपार्क, नमुना दलित बस्ती र प्रदेशमै पहिलो प्रादेशिक शिक्षालय बनाएर चर्चामा आइन् । निजी जग्गा किनेर ६ वटा विद्यालय भवन बनाउनेदेखि खस्किँदै गएको शिक्षा क्षेत्रलाई सबल बनाउन कम्मर कसेर लागिन् । छात्रालाई प्रोत्साहनस्वरूप ल्यापटप र साइकल वितरण गरिन् । साक्षरता कार्यक्रमका लागि एक घरबाट शिक्षित व्यक्तिलाई पुरस्कृत गर्ने योजना अगाडि सारिन् ।

मधेसमा महिलाको शिक्षामा पहुँच र सहभागिता कमजोर छ भन्नेमा उनी प्रस्ट छिन् । ‘जब महिला शिक्षा क्षेत्रमा सक्रिय भएर भाग लिन्छन्, तिनीहरूले शिक्षाको स्वामित्व आफैं प्राप्त गर्छन्,’ उनले भनिन् ।

राजनीतिमा महिलाको सहभागिता बढे पनि नेतृत्वमा संख्या न्यून रहेको उनले सुनाइन् । यही कारण समाजले अझै पनि महिलाले नेतृत्व र आमूल परिवर्तन गर्न सक्छ भन्ने आम विश्वास निर्माण हुन नसकेको उनको भनाइ छ । मौलापुरको मर्यादापुरका २५ मुसहर परिवारलाई पक्की घर बनाएर स्वामित्व हस्तान्तरण गरेपछि नगर प्रमुख रिनादेवीको चर्चा हुन थालेको हो । दलितकै जमिनमा रहेको फुसको घर भत्काएर दुईकोठे पक्की घर बनाइएको छ । नगर क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान एवं प्रोत्साहनस्वरूप नवीनतम सूचना र सञ्चारको प्रभावकारितासँग जोड्न उनले स्मार्टफोनसमेत वितरण गरेकी छन् । ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत नगरका विपन्न परिवारका उमेर पुगेका छोरीको विवाहमा २५ हजार रुपैयाँ अनुदानको व्यवस्था गरिदिएपछि उनको प्रशंसा चौतर्फी भएको छ ।

रिनादेवीकै नेतृत्वमा गरिब विपन्न परिवारलाई औषधि, पक्की घर तथा व्यवस्थित सामूहिक आवासको व्यवस्था गरिएको छ । महिलाको स्तरोन्नतिका लागि कम्प्युटरसम्बन्धी ज्ञान, ब्युटिपार्लर र प्राविधिक शिक्षालयमा छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गरिदिएको उनको रिनादेवीको भनाइ छ ।

रिनादेवीकै पहलमा नगरभित्र ७ करोड १२ लाख लागतमा एकीकृत नमुना बस्ती निर्माण भएका छन् । एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत मर्यादापुरमा २५ र मौलापुरमा १८ परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिकाले करिब १२ बिघा जग्गा खरिद गरेर शैक्षिक संस्था, सरकारी कार्यालय, एकीकृत बस्ती विकासलगायतको दीर्घकालीन पूर्वाधार निर्माण गरिरहेको छ । सबै वडामा विद्यालय स्थापना भएका छन् । धेरैजसो विद्यालयको स्तरोन्नति गरिएको छ । मौलापुरलाई शैक्षिक हब बनाउने उद्देश्यले यस्ता काम गरिएको उनले जनाइन् ।

नगर प्रमुख रिनादेवीकै कार्यकालमा नगरपालिकाले स्थानीय राजपत्रसहित नगरपालिका शिक्षा ऐन ०७५, कृषि, कृषि संस्थान, सहकारी, एफएम रेडियो प्रसारण, प्राविधिक तथा व्यावसायिक तालिम प्रतिष्ठान र प्रशासनिक कार्यविधि ऐन गरी सातवटा ऐन पारित गरेर लागू गरिसकेको छ । उनको कार्यकालमा नगरक्षेत्रमा पोलिटेक्निक कलेज सञ्चालन गरिएको छ । सिभिल इन्जिनियरिङको डिप्लोमा तहको कक्षा सञ्चालनमा छ । प्राथमिक उपचार केन्द्रमा एक वर्षदेखि प्रसूति सेवा उपलब्ध छ । सरकारी विद्यालयका छात्रालाई जिल्लामै पहिलो पटक सेनिटरी प्याड वितरण हुँदै आएको छ । सिँचाइका लागि प्रयोग हुने कृषि विद्युत् मिटरको शुल्क नगरपालिकाले तिर्ने गरेको छ । धूवाँ चुलोमुक्त नगर घोषणा भएको छ । उन्नत जातका बीउबिजन निःशुल्क वितरण गरिँदै आएको छ ।

रिनादेवीकै कार्यकालमा सबै वडामा स्वास्थ्य चौकी निर्माण सुरु भएको छ । १५ शय्याको अस्पताल निर्माणका क्रममा छ । ग्रामीण सडकको स्तरोन्नतिदेखि दुई वर्षमा सक्ने गरी ७ सय २८ परिवारको घर मर्मत र निर्माणमा सहयोग गर्न सुरक्षित आवास कार्यक्रम जारी छ । ‘हरेक क्षेत्रमा धेरै समस्या हुन्छन् । चुनौती प्रशस्त आउँछन्,’ उनले भनिन्, ‘तर सकारात्मक सोच र ठोस योजना बनाएर अगाडि बढ्दा सफलता पाउन बेर लाग्दैन ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×