कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सप्तरीको विष्णुपुर गाँउपालिकाका सबै सामुदायिक विद्यालय बन्द

चार हजारभन्दा बढी विद्यार्थीको पढाई प्रभावित
अवधेशकुमार झा

राजविराज — एसईई र वार्षिक परीक्षाको मिति नजिकिइरहेका बेला सप्तरीको विष्णुपुर गाँउपालिकाका सबै विद्यालयहरु मंगलबारबाट बन्द भएका छन् । विद्यालयमा कार्यरत शिक्षकहरु तलबभत्ता माग्दै गाँउपालिका कार्यालयमा धर्ना बस्न गएपछि विद्यालयहरु बन्द भएका हुन् ।

सप्तरीको विष्णुपुर गाँउपालिकाका सबै सामुदायिक विद्यालय बन्द

गत साउनदेखि नै शिक्षकहरु तलब भत्ता नपाएपछि मंगलबाबाट विद्यालय बन्द गरी उनीहरु पालिका कार्यालयमा पुगेपछि पढाई ठप्प भएको हो । पालिकाको गाँउसभा हुन नसक्दा शिक्षकहररुले तबल पाएका छैनन् ।

विष्णुपुर गाँउपालिकामा पाँचवटा माध्यमिक र १३ वटा आधारभूत सामुदायिक विद्यालय छन् ।शिक्षकहरुले गठन गरेको संघर्ष समितिका संयोजक रहेका जनता माध्यमिक विद्यालय इटहरीका प्रधानाध्यापक कुशेश्वर मण्डलकाअनुसार पालिकाका सबै सामुदायिक विद्यालयहरुमा एक सय ९२ जना शिक्षक कार्यरत छन् ।

‘एक सय ९२ जना शिक्षकहरु मध्ये १३ जनाले गत वैशाखदेखि नै तलब खाएका छैनन्’ प्रअ मण्डलले भने,‘बाँकी एक सय ७९ जनाले गत साउनदेखि नै तलब पाएका छैनन् ।’

‘सात/आठ महिनादेखि तलब नपाउँदा घर परिवार चलाउनै शिक्षकहरुलाई मुस्किल भयो’ प्रअ मण्डलले थपे,‘पटक पटक गाँउपालिका कार्यालयमा तलबका लागि आग्रह अनुरोध गर्‍यौं तर केही लागेन,बाध्य भएर विद्यालय बन्द गरि पालिकामा आयौं ।’

एसईई र वार्षिक परीक्षाको मुखमा विद्यालय बन्द गर्न नचाहेको उनीहरुले बताए । 'हामीले पनि चोहका होइनौं तर के गर्ने,तलब नपाएपछि घरब्यबहार चलाउनै सकस भयो’ उनले भने,‘पेट भरे पो शिक्षकले पढाउन आउनु,लामो समयदेखि तलब नपाउँदा शिक्षकहरुको दुर्गति भएको छ ।’ शिक्षकहरु मात्र होइनन्,विष्णुपुर गाँउपालिकाका कुनै पनि कर्मचारीले गत साउन यता तलब पाएका छैनन् ।

शिक्षक कर्मचारीले किन पाएनन् तलब ?

गत स्थानीय तहको निर्वाचनमा सप्तरीको बिष्णुपुर गाँउपालिकामा जनता समाजवादी पार्टीका उमेशप्रसाद यादव अध्यक्ष र नेपाली कांग्रेसकी रेणुकुमारी यादव उपाध्यक्षमा निर्वाचित भए ।

सोलारबत्ती जडानसम्बन्धी एक योजनाको भुक्तानीका क्रममा भएको घुस लेनदेन सम्बन्धी विषयमा गाँउपालिका अध्यक्ष उमेशप्रसाद यादवको पनि संल्गनता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना कर्मचारीसहित अध्यक्ष यादवलाई पनि विपक्षी बनाई गत भदौ १९ गते बिशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी निलम्बित छन् । पालिका अध्यक्ष यादव निलम्बित भएपछि उपाध्यक्ष रेणुकुमारी यादव कार्यवाहक अध्यक्ष बनेकी छन् ।

अध्यक्ष यादव निलम्बित हुनुपूर्व गत असार ८ गते नै बिष्णुपुर गाँउपालिकाले गाँउ सभा गरेको घोषणा गरेको थियो । अध्यक्ष यादव निलम्बित भएपछि गाउँसभाको निर्णय कतै फेला नपरेपछि गाउँसभाको तयारीमा पालिका जुटेको थियो । गत माघ १९ गते कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवले आहृवान गरेको गाउँसभामा बहुमत नपुगेपछि सभा स्थगित भएको थियो । ‘कार्यवाहक अध्यक्षले मनपरि गर्न खोजे,हामीलाई सभाबारे जानकारी नै दिएनन्’ वडा नम्बर १ का वडाध्यक्ष बलराम यादवले भने,‘जानकारी नै नभएपछि कसरी र कुन सभामा जानु ?’

गाँउपालिकाका अध्यक्ष निलम्बित भएपछि गाँउ सभामा बहुमत अल्पमतको खेल हुँदा सभा हुन सकेको छैन । सभा हुन नसक्दा पालिकामा कार्यरत कुनैपनि कर्मचारीले तलब खान पाएका छैनन् भने बिकास निर्माण लगायत सबै कार्यहरु ठप्प छ ।

पालिकाकी कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवले गाँउ सभा गरेको दाबी गरिन् । ‘गाँउसभा गरि निर्णय कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई दिएँ तर उनले कार्यान्वयन गरेनन्’ उनले भनिन् ।

विष्णुपुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका उज्जवल आनन्दले आफ्नो अन्यत्र सरुवा भएको बताए । ‘मैले बिष्णुपुर गाउँपालिकाबाट बिदा लिएँ’ आनन्दले भने,‘गाँउसभा भएर कार्यान्वयनका लागि कुनै अख्तियारी मलाई आएको छैन्,विवादै विवाद देखेपछि मैले अन्यत्रै सरुवा गराए ।’ उनको सरुवा भएसँगै यो पालिका अब प्रमुख प्रशासकीय अधिकृतबिहीन पनि भएको छ ।

प्रकाशित : फाल्गुन १५, २०८० १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×