कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब झिक्दै 

काठमाडौँ — बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब झिक्दै 

निक्षेप संकलन खरिदका लागि आज (बुधबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस् भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो ।

यसैगरी, वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले हरेक दिनजसो बजारबाट पैसा झिकिरहेको छ ।

यही क्रममा गत मंसिरदेखि शुक्रबारसम्म तरलता व्यवस्थापन (बजारको मागअनुसार नै वित्तीय प्रणालीमा पैसा राख्न) का लागि राष्ट्र बैंकले गत सातासम्म २८ खर्ब ४५ अर्ब ८५ करोड रुपैयाँ झिकिसकेको छ । उक्त अवधिमा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ११ खर्ब ५० अर्ब ३० करोड र स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत १६ खर्ब ९५ अर्ब ५५ करोड रुपैयाँ गरी कुल साढे २८ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ ।

उल्लिखित रकममध्ये धेरै परिपक्व भएर बजारमा फर्किसकेको छ भने गत सातासम्म १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ लगानीमा (आउटस्ट्यान्डिङ) थियो । बैंकहरूलाई आवश्यक परेका बेला प्रयोग गर्न सकून् भन्ने प्रयोजनका लागि राष्ट्र बैंकले निकै कम अवधिका लागि पैसा झिक्ने र पठाउने गर्छ । यसकारण यसरी पैसा झिक्ने र पठाउने प्रक्रियालाई अल्पकालीन तरलता व्यवस्थापन भनिन्छ । ब्याजदरमा अस्वाभाविक उतारचढाव हुन नदिई वाञ्छित सीमामा राख्नकै लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत आवश्यकताअनुसार बजारबाट पैसा तानिरहेको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभाग प्रमुख पीताम्बर भण्डारीले बताए ।

प्रकाशित : असार १९, २०८१ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×