कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

भारतबाट उद्धार गरिएका छ जना महिलालाई आफन्तको जिम्मा

माधव ढुंगाना

भैरहवा — भारतीय सुरक्षा निकायको सहयोगमा भारतीय सीमा नाकाबाट उद्धार गरिएका छ जना नेपाली महिलालाई रुपन्देही प्रशासनले शुक्रवार आफन्तको जिम्मा लगाएको छ ।

भारतबाट उद्धार गरिएका छ जना महिलालाई आफन्तको जिम्मा

वैदेशिक रोजगारीका लागि कुवेत जान भनेर हिंडेका ती महिलालाई भारतीय सीमा सुरक्षा बलले गत असार १८ गते सोधपुछका क्रममा बेचबिखनको जोखिममा परेको आशंका लागेपछि रोकेर सिमावर्ती नेपालको शसस्त्र प्रहरीलाई जानकारी सहित जिम्मा लगाएका थिए ।

भारतीय सिमा सुरक्षा बलले ती महिलालाई नेपाल–भारत सीमा क्षेत्रस्थित भारतको सिद्धार्थनगर झिगरीग्राम ग्राम पञ्चायतबाट उद्धार गरेको हो । नेपालको सशस्त्र प्रहरीको समन्वयमा ती महिलालाई नेपालमा ल्याइ चार दिनसम्म भैरहवास्थित माइती नेपालको आवधिक गृहमा राखी आफन्तको खोजी शुक्रबार परिवारका सदस्य बोलाएर जिम्मा लगाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनाए ।

उद्धार गरिएका महिलामा रुपन्देहीको देवदह नगरपालिका–४ की ३२ वर्षीया, दाङको घोराही उपमहानगरपालिका–३ की ३१ वर्षीया, दाङकै राप्ती गाउपालिका–४ की ३७ बर्षिया, चितवनको खैरहनी नगरपालिका–४ की ३१ बर्षिया, सिन्धुलीको दुधौली नगरपालिका–१२ की २४ वर्षीया र सल्यान कपुरकोट गाउँपालिका–५ की वर्षीया छन् ।

दलालले कुवेत पठाउने भनेर उनिहरुलाई लामो समय काठमाडौंमा राखी रुपन्देही हुँदै सिमानाकाको प्रयोग गरी भारत पुर्‍याएको कुरा खुल्न आएको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजितसिंह राठौरले महिलाहरुले आफूहरुलाई यहाँसम्म ल्याउने दलालबारे जानकारी गराएकाले तत्काल नाम गोप्य राखेर प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

माइती नेपाल आवधिक गृह, भैरहवाकी प्रमुख माया क्षेत्रीले उनीहरुलाई बैदेशिक रोजगारीका नाममा केही समय अगाडि काठमाडौँ गोङ्गबुस्थित एक घरमा राखेपछि दलालले एक जनालाई मोटरसाइकलमा राखेर र अन्यलाई पैदल खेतको बाटो हुँदै सिमाना पार गराएको कुरा पीडित महिलाबाट खुलेको बताइन् ।

प्रकाशित : असार २१, २०८१ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×