कांग्रेस-एमाले गठबन्धनलाई साथ दिएर अघि बढ्दा प्रधानमन्त्री दाहालको पनि हित हुन्छ : एमाले सचिव भट्टराई

असार २४, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Dahal is also in the interest of supporting the Congress-UML alliance: UML Secretary Bhattarai

काठमाडौँ — नेकपा (एमाले) का सचिव योेगेशकुमार भट्टराईले कांग्रेस-एमाले सत्ता गठबन्धनको सरकारलाई साथ दिँदा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि हित हुने बताएका छन् । 

शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर नै आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधनको कार्य अघि बढाउने बताए ।

सचिव भट्टराईले भने, ‘संविधान संशोधन गर्न त्यति सहज छैन । त्यो सहज छैन भनेर नै हामी कांग्रेस–एमाले एक ठाउँ आएका हौं । हामी दुई एक ठाउँ नआई त यो सम्भावना नै छैन । किनभने दुई तिहाई बहुमत एमालेले कुनै कोलिएशन बनाए पनि पुग्दैन । गाह्रो छ । कांग्रेसले अलग्गै कोलिएशन बनाए पनि पुग्दैन । त्यो पनि सम्भावना देख्या छैन भने माओवादीको त झन त्यो सम्भावना छैन । त्यसैले संविधानमा पुनरावलोकन गर्नुपर्ने र आवश्यकता भए संशोधन पनि गर्नुपर्ने हामीलाई जुन महशुस भयो । त्यो आवश्यकताले नै नेपाली कांग्रेस र हाम्रो बीचमा एउटा सहमति बनेको हो । त्यो सहमतिले संघीय संसद्‌मा दुई तिहाई कमाण्ड गर्छ । दुई वटा पार्टीले मात्रै संख्या पुग्दैन । हामी अरु पार्टीको पनि त्यसमा साथ लिन्छौँ ।'

उनले माओवादी केन्द्रले पनि संविधान संशोधनको एजेण्डामा कांग्रेस-एमाले गठबन्धनलाई साथ दिन्छ भन्ने विश्वास रहेको बताए । 

कान्तिपुर

Link copied successfully