ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन : कांग्रेस सांसद पौडेल

असार २४, २०८१

कान्तिपुर संवाददाता

Oli is not in a position to make a list of the good things he did as Prime Minister: Congress MP Paudel

काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको बताएका छन् । 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्ने गरी काम गर्न आग्रह गरे । उनले एमाले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्धमा रहेकाले पनि देश र जनताको लागि काम गर्न आग्रह गरे । 

उनले भने, ‘केपी ओलीज्युलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन । उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्धमा हुनुहुन्छ । परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । झन्डै दुई तिहाईले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्ने सक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’

सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्ने गरी काम गर्न सुझाव दिए । 

कान्तिपुर

Link copied successfully