कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सुपर न्यादीको बिजुली अर्को वर्ष

आश गुरुङ

लमजुङ — लमजुङको उत्तरी भेग ङादीखोलामा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् परियोजनाबाट अर्को वर्षमात्रै विद्युत् उत्पादन हुने भएको छ ।

सुपर न्यादीको बिजुली अर्को वर्ष

परियोजनाले यही असार मसान्तभित्र विद्युत उत्पादन गर्ने कार्यतालिका बनाएको थियो । निर्माणको समयावधि १ वर्ष थपिएको परियोजनाले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादीखोलामा निर्माणाधीन उक्त परियोजनाको निर्माणकार्य ७२ प्रतिशत सकिएको परियोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङले जानकारी दिए । उनका अनुसार २०८२ जेठ मसान्तभित्र परियोजना निर्माण सक्नेगरी निर्माणकार्यलाई द्रुत गतिमा अघि बढाएको छ ।

‘सुरुमा कोरोना महामारी, बाढीपहिरो, भारतबाट विस्फोटक पदार्थ आउन ढिलाई, लामो पहुँचमार्ग निर्माणलगायतले हामी ढिला भयौं,’ उनले भने, ‘अहिले हामी द्रुत गतिमा काम अघि बढाइरहेका छौं, बर्खायमको बाढीपहिरोले समस्या पारिरहेको छ ।’ परियोजनाले पहुँचमार्गमात्रै २२ किलोमिटर निर्माण गरेको छ ।

सिउरी न्यादी पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भइरहेको उक्त परियोजनाको निर्माणकार्य २०७६ माघ महिनाबाट सुरु भएको हो । परियोजनाको सिभिल संरचना जी एण्ड जी इन्फ्रा प्रालिको मातहतमा आरके हाइड्रो प्रालिले निर्माण गरिरहेको छ । भारतको ग्लोबल हाइड्रो प्रालिले इलेक्ट्रोमेकानिकलतर्फको कार्य गरिरहेको छ । नेपालको प्रिसाइज हाइड्रो प्रालिले हाइड्रो मेकानिकलको काम गरिरहेको छ । ट्रान्समिसन लाइनको कार्य एएस कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।

परियोजनाका प्राविधिक प्रमुख विराटदेव भट्टका अनुसार मर्स्याङ्दी गाउँपालिका ६, डहरेभन्दा माथि बाँध निर्माण गरिनेछ । ६ हजार ८ सय ८५ मिटरको सुरुङबाट ल्याएको पानीलाई नाइँचे गाउँ नजिकै निर्माण हुने भूमिगत विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ । विद्युतगृहमा २ वटा भर्टिकल पेल्टन टर्बाइन रहनेछन् । आयोजनाको ग्रसहेड ७ सय ३ मिटर रहेको छ ।

उनका अनुसार सुरुङको काम ८५ प्रतिशत सकिएको छ । केही दिनअघि फेज १ देखि २ सम्म १ हजार ७ सय मिटरको सुरुङ छेडिएसंगै ड्याम (बाँध) को काम तीब्र गतिमा अघि बढेको उनले बताए । सुरुङको ८ वटा फेजमा काम भइरहेको छ । ७ वटा सहायक सुरुङहरु सवैको काम सकिएको उनले बताए । पेनस्टक जमिनमा ६ सय ९० मिटर, ठाडो सुरुङमा २ सय ९० मिटर र छड्के सुरुङमा २ सय ५० मिटर हुने र यसको काम भइरहेको भट्टले बताए ।

सुपर न्यादी जलविद्युत परियोजनामा एनएमबीको लिडिङमा ४ वटा बैंकको ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत गरी परिआयोजना ७ अर्ब रुपैयाँ लागतमा निर्माण हुने प्रवन्ध निर्देशक गुरुङले बताए । उनका अनुसार परियोजनामा लमजुङबासीको करिब २० करोड रुपैयाँ ‘प्रमोटर’ सेयर रहेको छ ।

परियोजनाबाट उत्पादित विद्युत ११ किलोमिटर टाढा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको टारीकुना सबस्टेशनमा जोडिनेछ । यसका लागि सुपर न्यादीले न्यादी जलविद्युत आयोजनासम्म ५ दशमलव १ मिटर लामो १३२ केभीको सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्नेछ ।

न्यादी आयोजनाले यसअघि निर्माण गरेको ६ किलोमिटर सिंगल सर्किटलाई सुपर न्यादी परियोजनाले पनि ‘सेयरिङ’ गर्ने भएको छ । परियोजनाका अनुसार बर्सातको समय ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको छ ।

प्रकाशित : असार २१, २०८१ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×