कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

पाराको दौडमा चन्द्रमालाई दुई स्वर्ण

काठमाडौँ — चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदको एथलेटिक्स प्रतियोगितामा शुक्रबार दुई स्वर्ण पदक जितेकी छन् । चन्द्रमाले होचा/पुड्का महिलाको १०० र २०० मिटर दौडमा स्वर्ण जितेकी हुन् ।

पाराको दौडमा चन्द्रमालाई दुई स्वर्ण

चन्द्रमाले १ सय मिटर दौड २१.२५ सेकेन्डमा पूरा गरिन् । सिर्जना सेन्चुरी दोस्रो र अमृता बाँस्तोला तेस्रो भए । २०० मिटर दौड ४५.२६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन् । सिर्जना र अमृता नै क्रमशः दोस्रो र तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको व्यवस्थापनमा भएको प्रतियोगिताको ह्विलचेयर पुरुष १ सय मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए । सविन थापा दोस्रो तथा सन्तोष कार्की तेस्रो भए । महिलामा ऐश्वर्यकुमारी कुमाल ३६.१५ सेकेन्डसहित पहिलो भइन् । बविता फुयाल दोस्रो र प्रतिक्षा माझी तेश्रो बने ।

दशरथ रंगशालामा भएको प्रतियोगिताको होचा/पुड्का पुरुष २ सय मिटर दौडमा लालबहादुर खत्री विजेता भए । उनले ४३.८३ सेकेन्डमा दौड पूरा गरे । खुर्शेद मन्सुर र राजदीप थापा क्षेत्री दोस्रो र तेस्रा भए । पुरुष १ सय मिटर दौडमा भने खुर्शेद विजयी भए । उनले निर्धारित दूरी २०.०५ सेकेन्डमा पूरा गरे । लालबहादुरले दोस्रो र मानबहादुर नेवार तेस्रो भए ।

पूर्ण दृष्टिविहीनको पुरुष १ सय मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते । विश्वरामले १५.९५ सेकेन्ड खर्चे । धीरेन्द्र बुढाले रजत र विपेश चौधरीले कांस्य जिते । उक्त स्पर्धाको महिलामा २३.८१ सेकेन्डमा दौड पूरा गरेकी सकुन्तला वादी पहिलो भइन् । प्रेरणा खप्तरी दोस्रो र रेणुका तामाङ तेस्रो भए ।


अल्प दृष्टिविहीनको पुरुष १ सय मिटर दौडमा दयारामनारायण चौधरी पहिलो भए । उनले १४.०९ सेकेन्डमा दौड पूरा गरे । सुवास सुनार दोस्रो र दावा स्याङबु शेर्पा तेस्रो भए । महिलामा दिलसरा धमला १८.१० सेकेन्डबाट पहिलो भइन् । सरिता घिमिरे दोस्रो र पवित्रा धामी तेस्रो बने । क्रचेचतर्फ पुरुष १ सय मिटर दौडमा निखिलकुमार बुढा पहिलो भए । उनले २६.६८ सेकेन्ड समय निकाले । गिरीराज थापा दोस्रो तथा हरिबहादुर गुरुङ तेस्रो भए ।

सामान्य अपाङ्गको पुरुष १ सय मिटर दौड १५.२२ सेकेन्डमा पूरा गर्दै यम्बर घले मगरले स्वर्ण जिते । हिक्मत थापा मगरले रजत तथा नागेश जोशीले कांस्य प्राप्त गरे ।

बौद्धिकतर्फ पुरुष १२–१५ वर्षको १ सय मिटर दौडमा मिटियोन ताचामो पहिलो भए । विवेक श्रेष्ठ दोस्रो तथा कृष दुवाल तेस्रो भए । महिलामा सर्वदा सुवाल पहिलो भइन् । निर्भाना शाक्य दोस्रो र समीक्षा सिल्पकार तेस्रो भए । बौद्धिकतर्फ १८ वर्षमाथि पुरुष १ सय मिटर दौडमा अदित वज्राचार्यले स्वर्ण जिते । उनले निर्धारित दूरी १५.२१ सेकेन्डमा पूरा गरे । शक्ति तिमिल्सेना दोस्रो र सुशन बुयो तेस्रो बने । उक्त स्पर्धाको महिलामा २१.०३ सेकेन्डमा पूरा गर्दै निता श्रेष्ठ पहिलो बनिन् । आस्मा वज्राचार्य दोस्रो तथा लोजिना खरेल तेस्रो भए । एकदिने प्रतियोगितामा ८० खेलाडीले २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : असार २१, २०८१ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×