कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

बेइजिङ प्लसमा नेपाली दलित महिलाका मुद्दा उठाउन सुझाव

काठमाडौँ — महिला अधिकारकर्मीहरुले अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिएर उठाउनुपर्ने सुजाव दिएका छन् । उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई समेत प्राथमिकताका साथ उठाउन आवश्यक रहेको अधिकारकर्मीहरुको सुझाव छ । 

बेइजिङ प्लसमा नेपाली दलित महिलाका मुद्दा उठाउन सुझाव

काठमाडौँमा शुक्रबार दलित महिला संघ (फेडो) ले दलित महिला पत्रकार र अधिवक्ताहरुबीच अन्तरक्रिया गरेको थियो । अधिकारकर्मी दुर्गा शोवले सन् २०२५ मा हुन लागेको बेइजिङ प्लस सम्मेलनमा दलित महिलाका मुद्दा उठाउनुपर्ने बताइन् ।

फेडोको संस्थापक अध्यक्षसमेत रहेकी उनले अन्तर लैङ्गिकताका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 'महिला भित्रै हुने विभेदमा पनि दलित महिला चरम विभेदमा छन्,' उनले भने, 'हामीले मुद्दा उठाउँदा फरक अवस्था र लैङ्गिकताको अध्ययन गरेर उठाउनुपर्ने देखिन्छ ।'

उनले फेडोले यिनै दलित महिलाका फरक भोगाई, चुनौती र समस्याका विषयलाई प्रमुख मुद्दा बनाएर बेइजिङ सम्मेलनमा प्रतिवेदन पेस गर्ने बताइन् । अनुसन्धानकर्ता एवं मानव अधिकार अध्येता तनुजा बस्नेतले समग्र महिलाको तुलनामा दलित महिलाको अवस्था नितान्त फरक रहेको बताइन् ।

तसर्थ विश्व सम्मेलनमा दलित महिलाको मुद्दालाई छुट्टै र विशेष तरिकाले ध्यानार्कषण गराउन जरुरी रहेको उनको भनाइ थियो । 'सीमान्तकृत समुदायको आवाज विश्वमा पु-याउने थलो भनेको बेइजिङ प्लस सम्मेलन हो', उनले भने, 'अन्तर लैङ्गिकताको विषयमा दलित महिलाका मुद्दा कमै उठाइन्छ, जुन संवेदनशील छ ।'

सन् २०२५ मार्च ३० मा बेइजिङ प्लस हुँदैछ । यो बेइजिङ सम्मेलनको ३०औँ वार्षिकोत्सव हो । सम्मेलनमा नेपालका तर्फबाट महिलाका मुद्दा उजागर गर्दा दलित महिलालाई विशेष ध्यानाकर्षण गराउने उद्देश्यले फेडोले लक्षित वर्गसमक्ष सुझाव लिएको फेडोका महासचिव रेणु सिजापतिले बताइन् ।

अन्तरक्रियामा दलित महिला पत्रकार र अधिवक्ताहरुले लिखित रुपमा बुँदागत सुझाव दिएका थिए ।

प्रकाशित : असार २१, २०८१ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×