कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

‘बर्खाको बुँद तल बित्छ जीवन’

चिमटी — गत वैशाख १८ गते सप्तरीको महदेवा गाउँपालिका १ चिमटीमा भएको भीषण आगलागी पीडितहरुको अहिले बिचल्ली भएको छ । यादव, मुसहर र मुस्लिमको संयुक्त बस्तीका ६२ घरपरिवार आगलागीबाट खरानी भएको थियो । 

‘बर्खाको बुँद तल बित्छ जीवन’

सिंगो बस्ती नै जलेर नष्ट हुँदा घरविहीन भएका चिमटीका स्थानीयहरु मुसलधारे वर्षाका बीच कष्टपूर्ण जीवन बाँच्न बाध्य छन् । आगलागीपीडित परिवारको बसोवासका लागि तीन तहका कुनै पनि सरकारले चासो देखाएको छैनन् । ‘सुरुमा आगलागीको विपतले घर र सम्पत्ति जल्यो, त्यसपछि प्रचण्ड गर्मीमा पालतल पोल्यो । अहिले हावाहुरीले पाल उडाउँदा बर्खाको बुँद तल हाम्रो जीवन कट्छ,’ अग्नीपीडित चनरदेवी सदाले भनिन्, ‘नेता, मन्त्री आए । सबैले आश्वासनमात्र दिए ।’

चिमटी बस्तीमा आगलागी भएको तेस्रो दिन वैशाख २१ गते त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य डा. सीके राउत पुगेका थिए । उनले घर निर्माणको पहल गर्ने आश्वासन दिएका थिए । सोही दिन मधेश प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादव पनि अग्नीपीडित बस्ती आएका थिए । उनले २–४ दिनमै प्रदेश सरकारबाट निर्णय गरी घर निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । तर मुख्यमन्त्रीको प्रतिबद्धता दुई महिना बित्दा पनि चिमटीका अग्नीपीडितको घर निर्माणबारे कुनै पहल हुन सकेको छैन । घर बनाइदिने आश्वासन दिएका मुख्यमन्त्री यादव अहिले पदच्यूत भइसकेका छन् । आगलागी भएको बस्तीसँग जोडिएको प्रादेशिक निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सतिशकुमार सिंह अहिले मुख्यमन्त्री छन् ।

अघिल्लो मुख्यमन्त्रीले गरेको प्रतिबद्धता पूरा गर्नेतर्फ मुख्यमन्त्री सिंहले पनि चासो नदेखाएको अग्नीपीडितहरुको गुनासो छ । ‘आगो लागेका केही दिनसम्म राहत ल्याउनेहरु देखिए तर अब सबै हराए,’ अग्नीपीडित जगदेव सदाले भने, ‘घर छैन्, बासको अस्थायी टहराजस्तो बनाएर माथि पाल हालेको छु, चर्को धाममा गर्मीले पोल्यो, हुरीले पाल उडायो, अहिले मुसलधारे वर्षामा बस्नु परिरहेको छ ।’

‘पानी सुरु हुनेबित्तिकै आँगनबाट बाढीजस्तै बग्न थाल्छ, घर छैन्, पाल हाल्छु हावाले उडाउँछ, संकटमा छौं हामी,’अर्का पीडित राजकुमार सदाले भने, ‘कुनै सरकारले देखेन हामीलाई ।’ अग्नीपीडितमध्ये केहीले ऋण गरेर जस्ताको छाना हाली अस्थायी टहरा त बनाए तर त्यो पनि केहीदिन हुरीले उडाएको स्थानीयको भनाइ छ । ‘बर्खाको बुँद तल भिजेर बस्नु बाहेकको विकल्प छैन,’ स्थानीय भूपेन्द्र यादवले भने, ‘विपदले सर्वस्व लग्यो, सरकारले नहेर्दा नारकीय जीवन जिउन बाध्य छौं ।’

बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अग्नीपीडितहरु अर्कोको खेतमा धान रोपाइँ गर्न पनि जान पाएका छैनन् । ‘घर छैन्, बच्चाबुच्चीलाई कहाँ छोडेर जानु ?’ चनरदेवी सदाले भनिन्, ‘बनिबुतो गर्न नजाँदा अहिले छाक टार्न समस्या छ ।’

महदेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले अग्नीपीडितको घर निर्माण गर्न नसकेको स्वीकारे । ‘हामीले घर निर्माण गर्न नसकेको सही हो, बीचमा तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारबाट घर निर्माण गरिदिने बताएपछि हामी ढुक्क थियौं तर त्यताबाट पनि कुनै पहल हुन सकेन ।’

अग्नीपीडित बस्ती रहेको सप्तरी २ का प्रतिनिधिसभा सदस्य डा. राउत अध्यक्ष रहेको जनमत पार्टीकै नेतृत्वमा अहिले मधेश प्रदेश सरकार छ । ‘चिमटीका अग्नीपीडित परिवारको घर निर्माणका लागि अहिलेसम्म ठोस पहल हुन सकेको छैन, प्रदेश सरकारले विश्वासको मत लिएपछि हामी आवश्यक कार्य गर्ने छौं,’ सांसद राउतले भने ।

प्रकाशित : असार २१, २०८१ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×