कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

युगान्डाबाट सात करोडको एभोकाडो आयात

नेपालमा सिजन सुरु नभइसकेकाले आयातकै भर

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म युगान्डाबाट ७ करोड ८६ लाख ८० हजार रुपैयाँ बराबरको १ लाख ७७ हजार २ सय ६ किलो एभोकाडो आयात भएको छ । यसबाट ११ महिनामा २ करोड ५२ लाख ७२ हजार रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांक छ । यसअनुसार आयात गरिएको एभोकाडोको मूल्य प्रतिकिलो ५ सय ८७ पर्छ । 

युगान्डाबाट सात करोडको एभोकाडो आयात

भाटभटेनीको अनामनगर शाखामा गत मंगलबार प्रतिकिलो ६ सय ८६ रुपैयाँमा एभोकाडो बिक्री भइरहेको थियो । सोही दिन बिगमार्टको शान्तिनगरमा आयातित एभोकाडो प्रतिकिलो ७ सय ४० रुपैयाँ र स्थानीय एभोकाडोको प्रतिकिलो ४ सय २० रुपैयाँमा बिक्री भएको थियो । ‘अनलाइन तरकारी पसल’ मा प्रतिकिलो ७ सय ९९ रुपैयाँ थियो । अन्य फलफूल पसलमा ६ सय रुपैयाँभन्दा बढी थियो ।

सिजन नभएकाले बजारमा पाइने आयातित एभोकाडोको मूल्य ६ सय रुपैयाँभन्दा बढी छ । नेपालमा एभोकाडो साउनदेखि मंसिरसम्म टिप्ने गरिए पनि मुख्य सिजन भदौ र असोज हो । पर्याप्त मात्रामा स्वास्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएका एभोकाडो खानुका थुप्रै फाइदा रहेको समशीतोष्ण बागवानी केन्द्रद्वारा जारी ‘व्यावसायिक एभोकाडो उत्पादन प्रविधि’ पुस्तकमा उल्लेख छ ।

धनकुटाबाट व्यावसायिक खेती सुरु भएको एभोकाडो अहिले देशका अन्य भागमा पनि विस्तार भइसकेको छ । अहिले धनकुटामा झन्डै ७ हजार जनाले एभोकाडोको व्यावसायिक खेती गरिरहेका छन् भने झन्डै ३ सय जनाले यसको नर्सरी चलाउँदै आएका छन् । समशीतोष्ण बागवानी केन्द्रद्वारा जारी ‘व्यावसायिक एभोकाडो उत्पादन प्रविधि’ पुस्तकअनुसार एभोकाडोको नेपालमा व्यावसायिक खेती केही वर्षअघि सुरु भएको हो । ०३५ सालतिर कीर्तिपुर, त्रिशूली, सर्लाही बागवानी फार्महरूमा हास, फुर्टे, इटिन्जर, रिड र टोपाटोपा गरी पाँच जातका एभोकाडो भित्र्याइएको पुस्तकमा उल्लेख छ ।

०२८ सालमा पाख्रिबास कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पर्यटक तथा कर्मचारीहरूले खान संयुक्त राज्य (यूके) बाट केही फल ल्याइएको जनाएको छ । यसरी विभिन्न समयमा नेपालीहरू विभिन्न ठाउँमा जाँदा ल्याएको जातहरूको विविधता काठमाडौंसहित मुख्य सहरका हरेक घरका करेसाबारीमा मनग्य देख्न पाइनेसमेत पुस्तकमा छ । सबैभन्दा बढी एभोकाडो खेती हुने हुँदा ०७५ सालमा धनकुटालाई ‘एभोकाडो’ को राजधानीसमेत घोषणा गरिएको छ । तर अझै पर्याप्त मात्रामा एभोकाडोको जात, रोगका उपचारका बारेमा अध्ययन हुन नसकेको किसान बताउँछन् । एभोकाडोको बजार काठमाडौं, पोखरा, चितवनलगायत क्षेत्र हुन् ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार अघिल्लो आर्थिक वर्ष जिल्लामा १३० हेक्टर क्षेत्रफलमा खेती गरिएकामध्ये २३ हेक्टर मात्रै उत्पादनशील क्षेत्रफल थियो । त्यसबाट २६० टन एभोकाडो उत्पादन भएको थियो । गत आर्थिक वर्ष १३२ हेक्टर जग्गामा एभोकाडो खेती गरिएको केन्द्रले जनाएको छ । मुलुकमा सबैभन्दा बढी एभोकाडो युगान्डाबाट आयात हुन्छ । भारत, केन्या, मेक्सिकोबाट पनि एभोकाडो आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७७/७८ मा मुलुकमा भारत, केन्या र युगान्डाबाट ३ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख १३ हजार ७ सय ५८ किलो एभोकाडो आयात भएको थियो । आर्थिक वर्ष ०७८/७९ केन्या, मेक्सिको, युगान्डाबाट ८ करोड १ लाख ४९ हजार रुपैयाँ बराबरको २ लाख ८४ हजार २ सय ५९ किलो आयात गरिएको थियो । गत आर्थिक वर्ष केन्या र युगान्डाबाट ९ करोड ४५ लाख ७८ हजार रुपैयाँ बराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोकाडो आयात गरिएको थियो ।

प्रकाशित : असार २१, २०८१ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×