कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

बाढीको जोखिमले १४ परिवार विस्थापित

मनोज बडू

दार्चुला — मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका छन् । दुई दिनदेखिको लगातारका वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन् । 

यही असार तेस्रो साताको अन्त्यतिर आएको वर्षाको भलले गन्याड खोलामा बाढी आउन सुरु भएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले बताए । अहिले दुई दिनदेखि लगातार वर्षा हुन थालेपछि बाढीको जोखिमका कारण घर छोड्न बाध्य भएका छन् । गन्याड दलित बस्तीका ५ परिवार र बाँकी परिवार मर्मती बस्तीका विस्थापितमा परेको उनले जानकारी दिए ।

बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोखिममा परेपछि मर्मती क्षेत्रका १४ घरधुरीका ४३ महिला र ४९ पुरुष गरी ९२ जनालाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिह धामीले बताए ।

अहिले उनीहरुको स्थानीय विद्यालयमा स्तान्तरण गरिएको छ । वर्षा नरोकिएका कारण बस्ती माथिबाट जमिन धासिने सम्भावना रहेकाले डरमा बस्नु जोखिम धेरै रहेको हुनाले विद्यालयमा स्तान्तरण गरिएको हो ।

बाढीको जोखिमको डरले विस्थापित परिवारहरुलाई हटिनाथ आधारभुत विद्यालय र सुर्यदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अविरल वर्षा जारी रहेकाले गन्याड खोलामा आउने बाढीको जोखिम बढेपछि जीउधनको क्षति नहोस भनेर बस्तीका मानिसलाई स्थानान्तरण गरिएको हो ।

महताका अनुसार तपोवन, मुरै, निम्ठा हुदै सदरमुकाम जोड्ने सडकले बस्ती माथिबाट खन्दा दुवैतिर काटेर थुप्रिएको ढुङ्गा माटो एउटै खोल्सामा थुपारिदा बाढी आउन सुरु गरेको हो । मार्मा–४ मर्मतीको तल्लो क्षेत्रमा पर्ने फेरेबगर बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको छ । मर्मती आसपास बस्तीका १४ परिवार विस्थापित हुनुका साथै उर्बर भूमि बगरमा परिणत हुन पुगेको छ ।

बाढीको जोखिमा परि विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएको मार्मा गाउँपालिकाले जनाएको छ । तत्काल पालिकाले टेण्ट त्रिपाल व्यवस्था गरेको छ । खानाको व्यवस्था विस्थापित आफैँले व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष धामीले बताए । ‘राशन र भाडाकुडा विस्थापित आफैले गरेका छन्,' उनले भने, ‘पाइप गाउँपालिकाले उपलब्ध गराएर खानेपानीको व्यवस्थापन गरिएको छ ।’ विस्थापित घरधुरीका गाईबस्तु आफन्तका घरमा सारिएका छन् ।

प्रकाशित : असार २१, २०८१ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×