कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

गौतमबुद्ध मुटु अस्पतालबाट एक हजार जनालाई  एन्जियोप्लाष्टी सेवा

घनश्याम गौतम

बुटवल — बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको क्याथ ल्याबबाट १ हजार जनाले सफल एन्जियोप्लाष्टी सेवा पाएका छन् । काठमाण्डौं बाहिर मुटु रोगको भरपर्दो सेवा प्रदान गरिरहेको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालले २०७४ बैशाखदेखि क्याथ ल्याब संचालन गरेको थियो । 

गौतमबुद्ध मुटु अस्पतालबाट एक हजार जनालाई  एन्जियोप्लाष्टी सेवा

समुदाय स्तरमा अस्पताल संचालन गरेर ६ वर्षको अवधिमा १ हजार जना मुटु रोगीलाई सफल एन्जियोप्लाष्टी सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ । मुटुको नशा ब्लक भएपछि मुटु रोगीको तत्काल शल्यक्रिया मार्फत नशा खोल्न (एन्जियोप्लाष्टी) गर्नु पर्छ ।

अस्पतालले पहिलो पटक सुनवलका रामबहादुर नगरकोटीको सफल एन्जियोप्लाष्टी गरेको थियो । २०८० असार २० गते रुपन्देहीकै समरीमाई गाउँपालिकाको तोरी पेलीको सफल एन्जियोप्लाष्टी गरेसँगै अस्पतालबाट सफल एन्जियोप्लाष्टी सेवा लिने रोगीको संख्या १ हजार पुगेको अस्पतालका निर्देशक डा. समिर गौतमले बताए ।

काठमाण्डौं बाहिर समुदायस्तरमा संचालन भएर मुटुरोगीको उपचार गरिरहेको बुटवलको गौतम बुद्ध सामुदायिक अस्पताल पहिलो अस्पताल हो । अस्पतालले मुटुरोगीको उपचारसँगै मृगौला रोगीको डायलासिस सेवा पनि प्रदान गर्दै आएको छ ।

मृगौला रोगीको सुविधाका लागि अस्पतालले लुम्बिनी प्रदेशका पाल्पा र दाङ एवं गण्डकी प्रदेशको स्याङ्जामा पनि डायलासिस सेवा प्रदान गर्दै आएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले विरामीको विश्वास र अस्पतालको सेवा प्रवाहकै कारण गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा विरामीको विश्वास पनि बढ्दै गएको बताए ।

‘एन्जियोप्लाष्टी गर्नकै लागि काठमाडौं पुग्नु पर्ने र धेरै विरामीको काठमाण्डौं नपुग्दै बाटोमै ज्यान गएको पाएपछि अस्पतालले प्रविधि महंगो भएपनि जनस्तरबाटै एन्जियोप्लाष्टी सेवा संचालन गरेको थियो,’ उनले भने, ‘हामीले जोखिम मोलेर सुरु गरेको सेवामा विरामीले विश्वास गरेका कारण ६ वर्षमा १ हजार जनालाई सफल एन्जियोप्लाष्टी सेवा प्रदान गर्न सकिएको हो ।’ अस्पतालको उपचार सेवालाई गरेको विश्वाससँगै धेरै मुटुरोगी लाभान्वित हुन सकेको उनले बताए ।

रुपन्देही उद्योग संघको संरक्षण, रोटरी क्लबको सहयोग तथा स्थानीय व्यवसायी, समाजसेवीहरुको चन्दा संकलनबाट संचालन भएको गौतमबुद्ध सामुदायिक अस्पताल गैर नाफामुखी अस्पताल हो ।

व्यक्तिको घरमा भाडामा संचालन भईरहेको अस्पतालले तिलोत्तमा नगरपालिकामा सुविधा सम्पन्न भवन बनाउनका लागि जग्गा प्राप्तीको तयारीमा रहेको अस्पतालले जनाएको छ । अस्पतालले मुटुको भल्ब खुलाउने, मुटुको प्वाल बन्द गर्नेलगायतका सेवा थप्ने तयारीमा रहेको अस्पतालका निर्देशक डा. गौतमले बताए ।

प्रकाशित : असार २१, २०८१ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×