कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

काठमाडौंका मेयर र वडाध्यक्षको विवादले अन्योलमा नगरसभा

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र वडाध्यक्षहरूबीचको विवादले महानगरको नगरसभा अन्योलमा परेको छ । गत शुक्रबार बिहान ८ बजे बोलाइएको १५औं अधिवेशनको चौथो नगरसभा स्थगन भएयता कहिले बैठक बस्ने टुंगो भएको छैन । 

काठमाडौंका मेयर र वडाध्यक्षको विवादले अन्योलमा नगरसभा

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबारसम्म पनि बैठक बस्ने कुनै खबर नपाएको बताए । ‘नगरसभा बैठकको विषयमा मलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘नगरसभा बोलाउने मेयर सापले मात्र हो । उहाँलाई नसोधी भन्न सकिन्न । सभा बस्नलाई छलफल पनि भएको छैन ।’ अहिलेसम्म सहमतिमा जान नसकेको विषयमा मेयर शाहले प्रस्तावका रूपमा ल्याइसकेपछि मात्र सहज ढंगबाट अगाडि बढ्ने उनले सुनाए ।

मेयरको सचिवालयले आउँदो साताभित्र नगरसभा बैठक बस्नलाई तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिका, नगरसभा सञ्चालन कार्यविधि, ०७४ अनुसार बजेट र नीति तथा कार्यक्रम अब सहमतिबाटै असारभित्रै पास गरेर लैजानुपर्ने अवस्था रहेको मेयरको सचिवालय बताउँछ । कार्यविधिअनुसार अधिवेशनको गणपूरक संख्या नपुगे दुई दिनभित्र अर्को अधिवेशन बस्ने गरी सूचना गर्नुपर्नेछ । तर उक्त समयभित्र अधिवेशन नबसे २५ प्रतिशत नगरसभा सदस्यको उपस्थितिमा अधिवेशन बस्नेछ ।

काठमाडौंका मेयर र वडाध्यक्षबीच विभिन्न संघसंस्थालाई अनुदान उपलब्ध गराउने कि नगराउने विषयमा विवाद भइरहेको छ । यी संघसंस्थाको विषयमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखा परीक्षण प्रतिवेदनले समेत समीक्षा एवं पुनरावलोकन गरिनुपर्ने उल्लेख गरेको छ । महालेखाले प्रश्न उठाएको विषयमा भने मेयर शाह कुनै पनि सहमति गर्न तयार नरहेको मेयर सचिवालयको भनाइ छ ।

प्रकाशित : असार २१, २०८१ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×