कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

एमालेसँग सत्ता सहकार्य गर्ने सहमति कांग्रेस बैठकबाट अनुमोदन

काठमाडौँ — नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले एमालेसँगको समझदारीलाई समर्थन गरेको हो ।

एमालेसँग सत्ता सहकार्य गर्ने सहमति कांग्रेस बैठकबाट अनुमोदन

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मूलतः पदाधिकारी बैठकमा एमाले र कांग्रेसबीच भएको समझदारीलाई स्वागत गरिएको बताए । उनले भने, 'एमाले र कांग्रेसबीच सत्ता साझेदारी गर्ने दुई दलका शीर्ष नेर्ताहरूबीच भएको समझदारीलाई बैठकले समर्थन गरेको छ ।'

यसैगरी बैठकमा नेतृत्वको सवालमा जानकारी दिइएको बताए । उनले भने, 'बैठकले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने विषयलाई पनि अनुमोदन गरेको छ ।'

कांग्रेस र एमालेले असार १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई हटाएर नयाँ सरकार बनाउने समझदारी गरेका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८१ असार १९ गते बसेको बैठकको निर्णयहरू :

(१) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ ।

(२) नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय के.पी. शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।

(३) नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ ।

(४) महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक—फरक निर्देशक समिति गठन गर्ने; नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेश; संघका तदर्थ कार्यसमितिहरूको समयावधी लगायतका विषयमा असार १७, २०८१ मा गरिएको निर्णयलाई यो बैठक पारित गर्दछ ।


प्रकाशित : असार १९, २०८१ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×