कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

हिंसा पीडितलाई उपचार न परामर्श

प्रकाश बराल

बागलङ — आफन्तबाटै बलात्कारमा परेकी एक बालिका अल्पकालिन महिला सेवा केन्द्रमा एक महिना बसेर शारीरिक चोटपटकको उपचार गराइन् । तर उनको मानसिक समस्याको उपचार गर्न धेरै समय लाग्यो । 

हिंसा पीडितलाई उपचार न परामर्श

समय सँगै मनोसामाजिक परामर्शकर्ताको खोजी गरेर ल्याउन आर्थिक व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको केन्द्र प्रमुख रचना अचार्यले बताइन् । बजेटको दिगो श्रोत अभावमा पीडितलाई पुनस्थापना गर्ने काम चुनौतीपूर्ण बनेको छ ।

लामो समय सम्म मनोसामाजिक परामर्श गराएर पीडितलाई जिविको पार्जनमा लगाउनुपर्ने बाध्यता केन्द्रलाई छ । अझैपनि ती बालिका र उनीजस्तै पीडितहरु घर परिवारमा बस्न सक्ने अबस्था छैनन् । बरु परिवार भन्दा छुट्टै स्थानमा बस्ने व्यवस्थापनको आवस्यकता छ । त्यसकालागि बजेट र सुरक्षा समस्या छ ।

हिंसामा पर्ने अधिकांस महिला र बालिकाहरु आफन्तबाटै पीडित छन् । उनीहरुलाई तत्काल दिने सेवा बाहेक समाजमा पुनस्थापना गर्न खोज्दा झनै असुरक्षा हुने गरेको हो । त्यसैले केन्द्रले ४५ दिन सम्म राखेर चोटपटकको उपचार, कानूनी सेवा र अन्य सुरक्षाको व्यवस्थापन पनि गर्दै आएकोछ । कानूनी सेवा भने आवस्यकता अनुसार एकबर्षसम्म पनि दिने गरेको हो ।

बागलुङ नगरपालिकाले संचालन गरेको अल्पकालिन महिला सेवा केन्द्रमा आउने हिंसा पीडितको दिगो व्यवस्थापनमा ती बालिकाको जस्तै समस्या धेरै छ । कतिपयलाई समाजमा पुनस्थापना समेत गर्न सकिएको छैन । शारिरीक हिंसा, मानसिक हिंसा, आर्थिक र यौनजन्य हिंसा खेपेका महिलालाई केन्द्रमा सेवा दिने गरिएको छ । आर्थिक र शारिरीक हिंसामा परेकाहरु छिटै घर फर्कन सकेका छन् । तर मानसिक समस्या भएकाहरुको व्यवस्थापन चुनौती भएको केन्द्र प्रमुख रचना आचार्यले बताइन् ।

उनका अनुसार चालुबर्ष ८८ जना हिंसा पीडित महिला आएकोमा ५० बढी पीडित महिलालाई मनोसामाजिक परामर्श दिनु परेको थियो । यो केन्द्रमा मनोसामाजिक परामर्शकर्ता छैनन् । विभिन्न क्षेत्रबाट शुल्क तिरेर ल्याउने परामर्शकर्ताको भरमा उनीहरुलाई सेवा दिनु परेको आचार्यले बताइन् । मानसिक, आर्थिक तथा यौनजन्य हिंसामा परेकाहरुलाइ केन्द्रले परामर्श दिने र जिविकोपार्जनमा लगाउने गरेको छ ।

‘त्यस्ता पीडितहरु सिधै परिवारमा मिल्न जान सक्दैनन् त्यसैले उनीहरुको पुनस्थापनाकालागि धेरै काम गर्नुपर्छ’ आचार्यले भनिन्, ‘जिल्लाभरका पीडितको अबसथा बुझेर सेवा दिएपनि स्थानीय तहहरुले केन्द्र संचालनमा साथ दिएका छैनन् ।’ हरेक बर्ष १ सय बढी पीडितको सेवा गर्नुपर्ने भएपनि बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारले दिने सानो रकमबाट केन्द्र संचालनमा छ ।

आचार्यका अनुसार गत आर्थिक बर्षपनि यहाँ ९५ जना पीडितको उपचार गराइएको थियो । त्यस अघि आर्थिक बर्ष २०७८/०७९ मा १ सय ४८ पीडितलाई सेवा प्रवाह गरिएको थियो । त्यसकालागि बागलुङ नगरपालिकाले दिएको साँढे ५ लाख र गण्डकी प्रदेशबाट आएको ८ लाख रुपैयाँ गरी १३ लाख रुपैयाँबाट संचालित छ ।

यहाँ दुइजना हेरालु र भान्छेको व्यवस्था समेत छ । ६ वटा बेडमा राखेर पीडितलाई १५ देखि ४५ दिन सम्म सेवा दिइन्छ । अस्पतालमा उपचार गराउने देखि कानूनी सेवा, मनोसामाजिक परामर्श लगायतका काम गर्दा उक्त खर्चले नपुग्ने गरेको हो । पीडित बसुन्जेल खानेबस्ने, कपडा तथा गाडिभाडा समेत दिएर पठाउने गरिएको छ । उच्च अदालत बार एसोसिएसनको कानूनी सहायता समितिले निशुल्क मुद्दा लड्ने व्यवस्था गरिदिएको छ ।

अन्य सबै सेवा पाएपनि कतिपयले हिंसा सहन नसकेर आत्महत्याको बाटो रोज्ने गरेका छन् । धौलागिरि अस्पतालमा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख देवी भट्टराइका अनुसार चालु बर्ष मात्रै अस्पतालमा १२ जना हिंसा खेप्न नसकेर आत्महत्या गरेकाहरुको पोष्टमार्टम भएको छ । उनीहरुलाई समयमा परामर्श दिन सकेको भए बचाउन सकिने भट्टराइ बताउँछिन् । केन्द्रले घरेलु हिंसा, शारिरीक हिंसा र बेचबिखनमा परेका महिलाको हितमा काम गर्दै आएको हो ।

तत्कालिन महिला बिकास कार्यालयले संचालन गरेको केन्द्र हाल बागलुङ नगरपालिकाले संचालनमा ल्याएको हो । जिल्लाभरका पीडित राख्नुपर्ने तर बजेट एउटा पालिकाले मात्रै बिनियोजन गर्नुपर्दा सेवा प्रभावकारी बनाउन नसकेको नगर उपप्रमुख राजु खड्काले बताए । नीतिगत रुपमा पीडितको सेवामा बजेट बिनियोजनगर्ने व्यवस्थापनकालािग पहल गरिदिन खड्काले सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रकाशित : असार २१, २०८१ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×