कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

जुम्लाका १७ प्रतिशत किशोरी आमा 

डीबी बुढा

जुम्ला — बालविवाह रोक्न गाउॅबस्तीमा अभियानहरु चलिरहेका छन् । धमाधम वडाहरु बालविवाहमुक्त घोषणा गर्ने क्रम चलिरहेको छ । बालविवाह रोक्न भन्दै आधा दर्जन गैरसरकारी कार्यालयहरुले घरदैलोमै पुगेर सचेतना फैलाइरहेका छन् । स्थानीय सरकारहरु पनि बालविवाह रोक्न भन्दै ऐन कानुनहरु बनाइरहेका छन् । तर अहिलेसम्मका सबै प्रयास असफल जस्तै देखिएको छ । 

जुम्लाका १७ प्रतिशत किशोरी आमा 

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकअनुसार अहिले जिल्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरु आमा बनेका छन् । स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाहरुको उमेर समूह हेर्दा यो तथ्यांक भेटिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा धेरै गुठिचौर गाउॅपालिकामा ३३ प्रतिशत किशोरीहरु उमेर नपुग्दै आमा बनेका हुन् । क्रमश : पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरीहरु आमा बनेका हुन् । यो तथ्यांकले जुम्लामा बालविवाहको अवस्था निकै भयावह देखाएको छ ।

जनस्वास्थ्य कार्यालय जुम्लामा सिनियर अनमी मोर्चा शाही गाउॅघरमा सानै उमेरमा विवाह गर्ने चलन कायमै रहेको बताउॅछिन् । शिक्षाको कमी, गरिबी र देखासिकीका कारण बालविवाह हुने गरेको देखिन्छ । बच्चा जन्माउने र हुर्काउनेबारे जानकारी नै नभई विवाह गर्दा आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मोर्चाले भनिन्, ‘शरीरका अंगहरु पूर्णरुपमा विकास भइसकेका हुँदैनन् । जसले गर्दा पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने खतरा देखिएको छ । यो चिन्ताजनक अवस्था हो ।’

स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटा शिक्षाको स्तर बढ्दै गइरहेको बेला कम उमेरमै विवाह गर्नेको संख्या पनि घटेको दाबी गर्छन् । कम उमेरमा बच्चा जन्माउनेमा अति गरिब, गरिब र मध्यम आर्थिक अवस्था भएका परिवार रहेका छन् । जिल्लाका चारवटा वडाहरु त बालविवाहमुक्त वडाका रुपमा घोषित भइसकेका छन् ।

गत आर्थिक वर्ष जिल्लाका ८ सय ६० जना किशोरीहरु २० वर्ष नपुग्दै आमा बनेका थिए । सबैभन्दा बढी चन्दननाथमा १ सय ९० जना किशोरीहरु आमा बनेकोमा पातारासीमा १ सय ३४ जना किशोरीहरु आमा बने ।

यसैगरी तातोपानीमा ६६ जना, पातारासीमा १ सय ३४, कनकासुन्दरीमा ९०, सिंजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना किशोरीहरु आमा बनेका थिए । बढ्दो बालविवाह रोक्न स्थानीय सरकारहरुले सरकारी सेवा सुविधा रोक्ने, कानुनी प्रक्रियामा लैजाने, बालविवाह गरेको भोजभत्तेरमा सहभागी नहुनेदेखि गाउॅबस्तीमा सचेतना फैलाउने गरिरहेका जनाएका छन् । गुठिचौर ४ का वडाध्यक्ष टिकादत्त न्यौपाने बालविवाहले किशोरीहरुको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले कडाइ गरिएको बताउॅछन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बालविवाह कुनै व्यक्ति र एक संस्थाले मात्र नरोकिने भएकोले सबैले हातेमालो गरेर मात्र हटाउन सकिने बताए । उनका अनुसार सामाजिक कुरीतिको रुपमा रहेको बालविवाह सबैको प्राथमिकताका विषय बनेको भए पनि रोक्न नसक्नु बिडम्वना देखिएको छ ।

जुम्ला हिमा १ का किशोरीहरु नै बालविवाह रोक्ने अभियानमा छन् । तर उनीहरुले बारम्बार धम्की र दबाब खेपिरहनु परेको छ । २०७२ को संविधानले २० वर्ष नपुग्दै विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ । तर अशिक्षा, आर्थिक अवस्था कमजोर र बालविवाह गर्दा हुनसक्ने समस्याको बारेमा पर्याप्त जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिकाहरु उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन् ।


प्रकाशित : असार २१, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×