कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था छैन : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था नरहेको बताएका छन् ।

सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था छैन : कोइराला

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिइसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले संविधानलाई सबैले मान्नुपर्ने समेत स्मरण गराए ।

उनले भने, ‘मैले त आठ, नौ महिना पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौँथो हुन थालिसक्यो अब त । नेपाली कांग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनायो । उहाँहरुको बीचमा के मिलेन, फेरि कांग्रेससँग आयो । त्यसपछि फेरि कांग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो । यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने ? भन्ने मलाई लाग्यो । म बोल्दै आएको थिएँ । त्यसकारण हामीले संविधानमा न्यूनतम के-के सुधार गर्न सक्छौँ ? किनभने संविधानको डकुमेण्ट ठूलो छ । त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला । ती धेरै कुरामा छेडखानी गर्न थाल्यौँ भने संविधान सुधार हुँदैन । कम्तिमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ भन्ने लाग्छ ।'

नेता कोइरालाले संविधान संशोधन गर्दा समानुपातिक प्रणाली हटाउनुपर्ने र त्यो हटाउँदा संविधानको मर्मलाई मर्न दिनु नहुने बताए । 'समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन । त्यसैले मैले महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गरौँ । महिलाको बीचमा प्रतिष्पर्धा गरौँ । दलितको बीचमा प्रतिष्पर्धा गरौँ । यो कुरालाई अघि बढाउँ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ,' उनले भने, 'सबै साथीहरुसँग कुरा गर्दा यो कुरा सकारात्मकरुपले अघि बढेको छ । तर अहिले नै खुसी हुनसक्ने अवस्था छैन । किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा नदिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।’

प्रकाशित : असार २१, २०८१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×