कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

आमाबुबाविहीन बालबालिकालाई बेथानचोकको आर्थिक सहयोग

काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिकाले आमाबुबाविहीन बालबालिकालाई आर्थिक सहायता दिएको छ । आमाबुबाविहीन भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत प्रतिमहिना २ हजार रुपैयाँका दरले पालिकाका ९ जना बालबालिकालाई एकमुष्ठ २ लाख ११ हजार ४८० रुपैयाँ संरक्षण रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

आमाबुबाविहीन बालबालिकालाई बेथानचोकको आर्थिक सहयोग

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन भएको आमाबुबाविहीन संरक्षण कार्यक्रमका लागि मन्त्रालयले प्रतिव्यक्ति २ हजारका दरले वार्षिक एकमुष्ठ रकम पठाउनुपर्नेमा यस आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार रुपैँयाँमात्रै पठाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सुशीला राईले जानकारी दिइन् । उनका अनुसार, प्रदेशबाट पठाएको रकम अपुग भएपछि पालिकाले १ लाख ३९ हजार ४८० रुपैयाँ थपेर आमाबुबाविहीन बालबालिकालाई वितरण गरेको हो ।

सामाजिक सुरक्षा भत्तासम्बन्धी कार्यविधिअनुसार स्थानीय तहले आवश्यक कागजात समयमै नपठाउँदा केही पालिकामा बजेट कम पुगेको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चैत मसान्तसम्ममा प्रदेशका सबै पालिकालाई आवश्यक कागजातको माग गरिएको थियो । तर, केही पालिकाबाट निर्धारित समयमा कागजात नआइपुगेकाले बजेट कम पुगेको हो । यसमा स्थानीय तहको पनि दायित्व रहन्छ । यस कार्यक्रमलाई अपनत्व लिएर काम गर्नुपर्ने हुन्छ । प्रदेशबाट पालिकालाई कम बजेट गएको अवस्थामा स्थानीय तहले नै अपुग रकम थपेर दिनुपर्ने प्रदेशको कार्यविधिमा उल्लेख छ ।

सोही कार्यविधिलाई आधार मानेर पालिकाले आमाबुबाविहीन भएका बालबालिका संरक्षणमा आफ्नो दायित्वलाई स्मरण गर्दै सामाजिक सुरक्षा भत्ता वितरणमा अपुग रकम थप गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार, यस कार्यक्रमलाई पालिकाले अपनत्व लिएर आमाबुबाविहीन बालबालिका संरक्षणमा आर्थिकसँगै शैक्षिक रुपमा सहयोग गर्दै आएको छ ।

बेथानचोक गाउँपालिकाले आमाबुबाविहीन बालबालिकालाई समय समयमा शैक्षिक सामग्रीहरु पनि वितरण गर्दै आएको छ ।

प्रकाशित : असार २१, २०८१ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×