कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६४

बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर बने नयाँ प्रधानमन्त्री

नवीन पोखरेल

लन्डन — बेलायतमा लेबर पार्टीका नेता  किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् ।

बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर बने नयाँ प्रधानमन्त्री

सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर सत्तामा आएको हो । लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरको लिडरसीपमा उक्त पार्टीले सन् १९९७ मा ऐतिहासिक ४१८ सिट जितेको थियो ।

यसपटक लज्जास्पद हार बेहोरेको सत्तारुढ कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार बकिङ्घम प्यालेसमा राजा चार्ल्ससमक्ष आफ्नो राजीनामा बुझाएपछि राजाले स्टारमरलाई प्रधानमन्त्री नियुक्त गर्दै अर्को सरकार बनाउन आमन्त्रित गरेका थिए ।

प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टारमर टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गरे । ‘हाम्रो काम अत्यावश्यक छ । हामी आजबाटै सुरु गर्छौं,’ उनले भने, ‘परिवर्तनको काम तुरुन्तै सुरु हुन्छ । यद्यपि स्विच क्लिक गर्नु जत्तिकै सरल भने हुने छैन।’

उनले देशमा अवसरको पूर्वाधार इट्टा-इट्टाले पुनर्निर्माण गर्ने बाचा पनि गरे । निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित भएका छन् । सरकार बनाउन ३२६ सिट आवश्यक हुन्छ ।

सत्तारुढ कन्जरभेटिभ (टोरी) ले पार्टी इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ, जसले १२१ सिटमात्र जित्यो । टोरीले ५ बर्ष अघिको तुलनामा २५० सिट गुमाएको छ । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभले ३६५ सिट ल्याएको थियो । लिबरल डेमोक्य्राटले ७१ सिट जितेको छ ।

उक्त पार्टीले अघिल्लो निर्वाचनभन्दा ६३ सिट बढाएको हो । उता स्कटिश नेशनल पार्टी (एसएनपी) ले ९ सिटमा मात्र चित्त बुझाउनु परेको छ । अघिल्लो चुनावभन्दा यसपटक एसएनपीले ३८ सिट गुमाएको छ । सिन फेनले ७, इन्डिपेन्डेन्ट ६, डेमोक्य्राटिक यूनिअनिस्ट पार्टी ५, रिफर्म यूके ४ सिट, प्लेड क्यामरु ४, ग्रीन्सले २ र अन्यले १९ सिट ल्याएका छन् ।

आफ्नो पार्टीले प्रचन्ड बहुमत प्राप्त गरेपछि स्टारमरले समर्थकहरूको भीडलाई भनेका थिए- "हामीले शुरु गर्‍यौं, तपाईंले यसका लागि प्रचार गर्नुभयो, तपाईं यसका लागि लड्नुभयो, तपाईंले यसलाई भोट गर्नुभयो र अब यहाँ आइपुग्यो, अब परिवर्तन सुरु हुन्छ।"

सम्बन्धित समाचार

१४ वर्षपछि लेबर पार्टीलाई बेलायती सत्तामा फर्काउने स्टार्मर को हुन् ?

प्रकाशित : असार २१, २०८१ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×