कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६२

१४ वर्षपछि लेबर पार्टीलाई बेलायती सत्तामा फर्काउने स्टार्मर को हुन् ?

'हामीले भनेका थियौँ-भद्रगोल रोक्छौँ । र हामीले रोक्छौँ नै । हामीले भनेका थियौँ नयाँ इतिहास रच्छौँ, रच्यौँ नै । आजैदेखि परिवर्तन सुरु भएको छ।'
नवीन पोखरेल

लन्डन — बेलायतमा बिहीबार भएको निर्वाचनको मतपरिणाम घोषणा अन्तिम अवस्था पुगिरहँदा प्रतिपक्षी लेबर नेता किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लेबर पार्टीले ४१२ सिट जितिसकेको छ । २०१९  मा भन्दै झन्डै दोब्बर बढी सिट जितेको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कंदैछ र प्रधानमन्त्री बन्दैछन् स्टार्मर ।

१४ वर्षपछि लेबर पार्टीलाई बेलायती सत्तामा फर्काउने स्टार्मर को हुन् ?

वर्तमान प्रधानमन्त्री ऋषि सुनकको पार्टीले भने नराम्रो पराजय बेहोरेको छ । उनको दल कन्जरभेटिभ पार्टीले झन्डै २५० सिट गुमाएको छ । उसले १२० सिट जितेको छ ।

बेलायतको प्रधानमन्त्री हुन केही औपचारिक प्रक्रिया छ। यसपटक लज्जास्पद हार बेहोरेको सत्तारुढ कन्जरभेटिभ दलका नेता प्रधानमन्त्री ऋषि सुनकले आज राजासमक्ष आफ्नो राजीनामा बुझाउनेछन् र राजाले स्टार्मरलाई अर्को सरकार बनाउन आमन्त्रित गर्नेछन्। यो बैठक सामान्यतया बकिङ्घम प्यालेसमा हुनेछ ।

को हुन् स्टार्मर ?

६१ वर्षीय किअर स्टार्मर बेलायती राजनीतिमा आएको त्यति धेरै भएको छैन । पहिलो पटक उनी सन् २०१५ मा सांसद निर्वाचित भएका थिए । उनी हल्बोर्न एन्ड सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् जहाँ उनी आफ्नो परिवारसँग धेरै वर्ष बसे । वासिंटन पोस्टका अनुसार स्टार्मर प्रतिपक्षमै बसे पनि छायामन्त्रीका रूपमा निरन्तर खटिरहे । दक्षिणी इंग्ल्यान्डको एउटा सानो सहरका बासिन्दा स्टार्मर पूर्व अभियोजक र मानवअधिकार अधिवक्ता हुन् । उनी सन् २०२० अप्रिलमा मात्र लेबर नेता बनेका थिए ।

स्टार्मरका बुबा एक उपकरण निर्माता (टुल मेकर) थिए । अखबारहरूका अनुसार स्टार्मरले आफ्नो बुबाको व्यापारबारे सुनाउँदा राजनीतिक वर्ग र कहिलेकाहीँ मतदाताहरूले खिल्ली उडाउने गरेको सार्वजनिक रूपमै बताउने गरेका छन्। त्यसो त उनले आफूलाई 'वर्किङ क्लास' को प्रतिनिधिका रूपमा चिनाउँछन् ।

१६ वर्षको उमेरसम्म उनको विद्यालय शुल्क स्थानीय परिषद्लै तिर्ने गरेको बीबीसीले जनाएको छ । विश्वविद्यालय जाने उनी परिवारकै एक्ला सदस्यसमेत हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट एलएलबी गरेका छन् । वकालतकै सिलसिलामा उनले क्यारेबिया तथा अफ्रिकामा समेत काम गरेका छन् । मृत्युदण्ड सुनाइएका कैदीबन्दीको पक्षमा उनले थुप्रै मुद्दा लडेका छन् । उनकी आमा नेसनल हेल्थ सर्भिस (एनएचएस) की एक नर्स थिइन् । आमा जिन्दगीभर बिरामी हुँदा स्टार्मरले नै रेखदेख गर्थे । बाबुआमाले उनको नाम लेबर पार्टीका पहिलो नेता किअर हार्डीको नामबाट राखेका थिए ।

स्टार्मरका चुनौती र वाचा

समग्रमा बेलायतको अर्थतन्त्र र जनताको दैनिकीमा थपिएको संकटले जनता यस पटक लेबरलाई जिताएको उनको धारणा छ । ‘बेलायतको निर्वाचनमा मतदाताहरूको ध्यान तान्ने मुख्य दुई कुरा छन् । पहिलो, दलको नेता र दलको नीति । ‘भविष्यमा प्रधानमन्त्री हुने व्यक्तिको व्यक्तित्व, उसको नैतिकता, सार्वजनिक जीवन, आचरण, देश हाँक्न सक्ने वा सरकार चलाउन सक्ने दक्षता, नीति निर्माणमा उसको प्रस्टता र खुबी आदि सबैको मूल्यांकन हुन्छ । दलले वा संसद्का उम्मेदवारहरूले मत प्राप्त गर्ने यो एक मुख्य आधार हो,’ २०१७ को आमनिर्वाचनमा लेबर पार्टीबाट सांसदको उम्मेदवार डा. बच्चु कैलाश कैनीको बुझाइ छ ।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु छ । त्यस्तै, नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय (वेटिङ टाइम) घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् ।

लेबर पार्टीको सरकार बनेपछि आन्तरिक शासन सञ्चालन र आम जनजीविकासँग सम्बन्धित कुराहरू जस्तै– अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, आन्तरिक सुरक्षा, ऊर्जा आदिमा केही नयाँ नीतिको अपेक्षा गरिए पनि तत्काल विदेश नीति र अन्तर्राष्ट्रिय सहयोग नीतिमा केही अन्तर नपर्ने डा. कैनीको बुझाइ छ ।

नेपाली जनसमुदायका लागि चासोको विषय बनेको आप्रवासी नीतिका विषयमा आगामी लेबर सरकारले पनि कुल आप्रवासी संख्या घटाउने नीति राखेको छ । अंक वा पोइन्टमा आधारित अध्यागमन प्रणालीमा व्यापक सुधार ल्याउने नीति लेबरको छ । तसर्थ, आगामी लेबर सरकार पहिलेको लेबर सरकारजस्तै आप्रवासन सम्बन्धमा खुला हुनुभन्दा अलि कठोर हुने पक्का छ । यसले बेलायत आउने विद्यार्थी र अन्य अदक्ष जनशक्तिलाई निरुत्साहित बनाउने देखिन्छ ।

चुनावी जितपछि दिएको पहिलो मन्तव्यमा स्टार्मरले भनेका छन्, 'हामीले भनेका थियौँ-भद्रगोल रोक्छौँ । र हामीले रोक्छौँ नै । हामीले भनेका थियौँ नयाँ इतिहास रच्छौँ, रच्यौँ नै । आजैदेखि परिवर्तन सुरु भएको छ।'

स्टार्मरका मुख्य वाचा

स्वास्थ्य सेवा : बेलायती स्वास्थ्य सेवा (एनएचएस) मा अहिले पनि बिरामीहरू लामो समय पालो पर्खिनुपरिरहेको छ । त्यसलाई कम गर्ने लेबरको नीति छ । यसैहप्ता एनएचएसले ४० हजारभन्दा बढी नियुक्तिसमेत गर्दैछ ।

अवैध प्रवासी : मानव तस्करी तथा अवैध आप्रवासन रोक्न बोर्डर सेक्युरिटी कमान्ड सार्वजनिक गर्ने ।

आवास : १५ लाख नयाँ घर निर्माण हुनेछ । 'पहिलो पल्ट घर किन्नेलाई पहिलो अधिकार' दिने योजना।

शिक्षा : ६ हजार ५ सय शिक्षक नियुक्ति गर्ने ।

प्रकाशित : असार २१, २०८१ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×