कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७
लोक सेवा

उपसचिवमा एकैपटक ६ ठाउँमा नाम निकाल्न सफल

बझाङको खप्तडछान्ना गाउँपालिका–७ को गडरायका ३४ वर्षीय शेखर रोकायाले यस वर्ष नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला र आन्तरिक दुवै प्रतियोगितातर्फका सामान्य प्रशासन, लेखा र राजस्व समूहमा एकसाथ नाम निकाल्दै सामान्य प्रशासन रोजेर उपसचिवमा नियुक्ति बुझेका छन्
एकै पटक ६ ठाउँमा नाम निकालेका शेखर रोकाया भन्छन्, ‘म सक्छु भन्ने आत्मविश्वासका साथ अध्ययनमा लाग्यो भने सबै कुरा सजिलो हुन्छ । लोक सेवा पनि त्यस्तै हो । हल्ला गरिएजस्तै टिप्नै नसकिने भीरको फल होइन ।’

बझाङ — बझाङ जिल्लाको नक्सामा खप्तडछान्ना गाउँपालिका–७ गडराय गाउँ सबैभन्दा दक्षिण कुनामा खुम्चिएको छ । बाजुरासँग जोडिएको गडरायको परिचय नक्सामा मात्रै होइन, विकास र पहुँचका हिसाबले पनि साँघुरो नै छ । जसले गडरायलाई चिन्छन्, उनीहरूको दिमागमा यो गाउँको तस्बिर विकट, अभाव, गरिबी, शिक्षा, स्वास्थ्यको असुविधा भएको रूपमा आउँछ । बझाङकै धेरैले नामसमेत नसुनेको यो गाउँ जेठ अन्तिम सातादेखि जिल्लाभर चर्चामा छ । 

उपसचिवमा एकैपटक ६ ठाउँमा नाम निकाल्न सफल

दूर भूगोलको कुनामा सीमित गुमनाम गाउँलाई एकाएक चर्चामा ल्याउने काम ३४ वर्षीय शेखर रोकायाले गरेका हुन् । लोक सेवा आयोगले उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा उनले नाम निकालेपछि रोकायासँगै उनको गाउँको नाम पनि जोडिएको छ । लोक सेवामा तुलनात्मक रूपमा कम नाम निकाल्ने जिल्ला बझाङको दुर्गम गाउँका शेखरले उपसचिव जस्तो पदमा आधा दर्जन ठाउँमा एकै पटक नाम निकालेर धेरैलाई अचम्मित पारिदिएका छन् ।

उनले यस वर्ष नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । रोकायाले सामान्य प्रशासन समूह रोजेर असार १७ गते उपसचिवको नियुक्ति बुझिसकेका छन् । नवनियुक्त उपसचिवका लागि व्यवस्थापन तथा विकाससम्बन्धी अभिमुखीकरणमा रहेका शेखर केही दिनमै नयाँ जिम्मेवारी लिएर सेवामा जाने उत्साहसहित तालिममा सहभागी भइरहेका छन् ।

चौरमा पढाइ, पानी पर्दा कक्षा बन्द

बुबा गंगालाल रोकाया स्थानीय महेश्वरी माध्यमिक विद्यालयका शिक्षक, आमा तिपुरी रोकाया निरक्षर । बुबा शिक्षक भएका कारण घरको आर्थिक अवस्था मध्यम खालको थियो । बुबा शिक्षक भएकाले कामभन्दा पढाइमै जोड दिनुपर्छ भनेर प्रेरित गरिरहन्थे । तर शेखर स्कुल पढ्दा उनी पढ्ने विद्यालयमा पूर्वाधार भने पर्याप्त थिएन । दैनिक आधा घण्टा हिँडेर उनी स्कुल जान्थे । एउटा टिनको छानो भएको विद्यालय भवन थियो । सबै विद्यार्थी कक्षाकोठामा अट्दैनथे ।

गर्मीयामका रूखका छहारीमा र जाडोमा चौरमा कक्षा चल्थ्यो । ‘असार–साउनतिर बढी पानी पर्‍यो भने कहिलेकाहीं ‘क्लास’ नै बन्द हुन्थ्यो,’ विद्यार्थीकालका सम्झना सुनाउँदै शेखर भन्छन्, ‘भित्र बस्न पाइहाले पनि ठूलो पानी पर्दा टिनको छानो बजेर पढाएकै सुनिँदैनथ्यो ।’ विद्यालयको कमजोर पूर्वाधारले पढाइ छुटेको दिन आफू दुर्गमको विद्यार्थी भएकामा हीनताबोध हुने गरेको उनले सुनाए । बिहान–साँझ घरमा र बिदाको समय खेतीपातीको काममा सघाउनु, गोठालो जानु एउटा आम ग्रामीण विद्यार्थीको दिनचर्या नै हो । शेखरको पनि फरक हुने कुरा भएन । परिवारका जेठा छोरा उनी स्कुल नगएको बेला सक्दो घरको काममा सघाउँथे । हलो जोत्ने, खन्ने, घाँसदाउरा गर्नेदेखि धान कुट्ने कामसम्म गर्न आउँछ, उनलाई ।

दुर्गमकै विद्यालय भए पनि शेखरको पढाइ भने कमजोर थिएन । उनी कुनै कक्षामा पहिलो त कुनैमा दोस्रो/तेस्रो हुन्थे । २०६२ सालमा सशस्त्र द्वन्द्व सकिने उत्कर्षमा थियो । जताततै सदरुमकाम आक्रमण र हताहतीका खबर सुनिन्थे । शेखर विद्यालय अध्ययनको अन्तिम खुड्किलोमा थिए । घरबाट एक दिन पैदल हिँडेर सदरमुकाम चैनपुरमा एसएलसी दिन आइपुगेका १६ वर्षीय उनको मनमा पनि केही घटना हुन्छ कि भन्ने डर थियो । चैनपुरमा पनि यस्ता हल्ला दिनहुँ सुनिन्थे । सदरमुकाममा डेरा गरेर उनले यही माहोलबीच एसएलसी दिए । पढाइमा मिहिनेती शेखरले प्रथम श्रेणीमा पास गरे ।

भूगर्भशास्त्रीको सपना, लोक सेवाको यात्रा

एसएलसी पास गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि धनगढी झरे । धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा १२ कक्षा पास गरे । विज्ञानका अरू विधाभन्दा भूगोलमा बढी रुचि थियो । उनको सपना थियो, भूगर्भशास्त्री बन्ने । त्यही सपना पछ्याउँदै काठमाडौंको त्रिचन्द्र क्याम्पस पुगेका शेखरले भूगर्भशास्त्रको अध्ययन सुरु गरे । पढाइ राम्रै चलिरहेको थियो । बीएस्सीको अन्तिम परीक्षा दिएपछि उनी फुर्सदिला हुन पुगे ।

अब के गर्ने ? पढाइमा रस लागेका शेखर खाली बस्न रुचाउँदैनथिए । २०६९ सालतिर लोक सेवा आयोग भिड्ने कुरा फेसन जस्तै चलेको थियो । काठमाडौंमा तयारी कक्षा पढ्न जिल्ला बाहिरबाट आउनेको धुइरो हुन्थ्यो । ‘खाली समय थियो । त्यसै बस्नुभन्दा लोक सेवा दिएर हेरौंन भन्ने भयो,’ शेखरले भने, ‘सामान्य तयारी गरेर खरिदारको परीक्षा दिएको थिएँ, नामै पो निस्कियो ।’ लेखा समूहअन्तर्गत सहायक लेखापाल पदमा उनी नियुक्त भए ।

पहिलो सरकारी जागिर जिल्ला अदालत बैतडीबाट सुरु भयो । यहींबाट उनको भूगर्भशास्त्री बन्ने सपना फेरियो । अनि सुरु भयो लोक सेवा यात्रा । यतिन्जेल उनले बीएस्सी पास गरिसकेका थिए । ‘सरकारी सेवामा प्रवेश गरेपछि अब यतै राम्रो गर्नुपर्छ भन्ने लाग्यो । योग्यता पनि पुगेको थियो । जागिर नै गर्नु छ भने किन खरिदारमै सीमित रहने भन्ने सोच बलियो भएर आयो,’ उनले भने, ‘त्यसपछि मैले थप तयारी सुरु गरें ।’ अदालतमा काम गरिरहेका उनले त्यसै वर्ष न्याय सेवा समूहमा दरखास्त भरे । खरिदार पदमा जागिर सुरु गरेको १० महिना नपुग्दै २०७० मंसिरमा न्याय सेवाअन्तर्गत नायब सुब्बा पदमा नाम निस्कियो । उनी बैतडीबाट छोडेर सरकारी वकिलको कार्यालय सल्यान पुगे ।

सुरुवाती जागिर भएको कार्यालय र पद दुवै छोडे पनि लोक सेवा तयारीको शेखरको लत भने छुटेन । एक दिन अवश्य योग्यताअनुसारको पदमा रहेर देशको सेवा गर्छु भन्ने उनको हुटहुटी झन् बढ्न थाल्यो । उनले कार्यालयको काम सकिएपछि मात्रै होइन, फुर्सद हुँदा कार्यालयमै पनि लोक सेवाका पाठ्यक्रम, विषयवस्तु हेर्ने, पत्रपत्रिका पढ्ने र समसामयिक घटनामा अपडेट हुने नियमित दिनचर्या बनाए । यसैबीच उनले जनप्रशासन विषयमा स्नातकोत्तर पनि भर्ना गरे । पढाइ र अधिकृतको तयारी दुवै सँगै थालेका शेखरलाई शाखा अधिकृत हुन चार वर्ष कुर्नुपर्‍यो । २०७४ मंसिरमा उनले शाखा अधिकृतको परीक्षा पनि उत्तीर्ण गरे । कार्यालय भयो, प्रदेशसभा सचिवालय, धनगढी ।

प्रदेशसभा सचिवालयमा एक वर्ष काम गरिसकेपछि उनको जिल्ला समन्वय समिति बझाङमा सरुवा भयो । अधिकृतका रूपमा काम गर्दा नेपालको प्रशासन सेवा कस्तो छ ? र, कस्तो हुनुपर्छ भन्ने नजिकबाट बुझ्ने मौका पाए । प्रशासन सेवामा भएका कमीकमजोरी र सबल पक्ष केलाउने मौका पाए । यसैबीच उनको अमृता भट्टराईसँग विवाह भयो । प्रशासन सेवामै कार्यालयकै शाखा अधिकृत अमृतासँग विवाह भएपछि उनले यो बुझाइ अझ व्यापक बन्दै गयो ।

उच्च पदमा पुगे फरक काम गरेर देखाउन सकिन्छ भन्ने भावना बलियो हुँदै गयो । हामी दुवै जना एकै पदमा एउटै सेवा समूहमा काम गर्ने भएकाले यो विषयमा खुलेर छलफल गर्ने, एकअर्काको ज्ञान र अनुभव आदानप्रदान गर्ने गर्न थाल्यौं,’ उपसचिवको तयारीमा जीवनसाथीको प्रेरणाले ऊर्जा दिएको बताउँदै शेखर भन्छन्, ‘एकअर्काका सन्दर्भ सामग्री ल्याइदिने, तयारीमा सहयोग गर्ने भयो । सबैभन्दा ठूलो कुरा भनेको उनले तपाईं सक्नुहुन्छ भनेर मलाई सधैं प्रेरित गरिरहिन् । त्यो ऊर्जाले पनि काम गर्‍यो ।’ एक छोराकी आमा अमृता पनि आयोगकै तयारीमा रहेको उनले सुनाए ।

अबको लक्ष्य, प्रशासन सेवाको गरिमा बढाउने

विभिन्न सेवा समूहमा नाम निस्के पनि प्रशासन समूहको फराकिलो दायरा र विभिन्न खालका सेवाग्राहीलाई सेवा दिन सकिने क्षेत्र भएकाले शेखरले यो समूह रोजेको बताउँछन् । ‘जुनसुकै कार्यालयमा पनि प्रशासन समूहको जनशक्ति आवश्यक पर्ने भएकाले अरू समूह जस्तो क्षेत्र पनि सीमित छैन । विविधता भएका सेवाग्राहीसँग जोडिन पाइने र देश बुझ्न पाइने क्षेत्र भएकाले यही समूह रोजेको हुँ,’ उनले भने, ‘अरू क्षेत्रमा गएको भए त्यहीं मात्रै सीमित हुनुपर्थ्यो । प्रशासन सेवामा गएँ भने मैले काम गरेको ठाउँको प्रणाली नै सुधार गर्न सक्छु भन्ने लागेर यो निर्णय लिएँ ।’

अभिमुखीकरण तालिम सकिएलगत्तै साउनको सुरुमै जिम्मेवारी सम्हाल्ने शेखरको तयारी छ । आफूले जिम्मा लिएको कार्यालयमा अरूभन्दा फरक काम गरेर देखाउने उत्साह बोकेका शेखरले नेपालको प्रशासन क्षेत्रका कमीकमजोरी पनि नजिकबाट बुझेका छन् । ‘अझै पनि हाम्रो प्रशासन क्षेत्र सेवाग्राही मैत्री हुन सकेको छैन । कतिपय कर्मचारीहरूमा सेवकभन्दा पनि शासक हुँ भन्ने खालको दम्भ देखिन्छ,’ उनी भन्छन्, ‘राम्रो गर्न खोज्नेलाई ‘मोटिभेसन’ नभएकाले पनि यस्तो भएको हो जस्तो लाग्छ । कर्मचारी सरुवाबढुवादेखि प्रशासनिक क्षेत्रबाट सम्पादन गर्ने काममा हुने राजनीतिक हस्तक्षेप, प्रविधि र पूर्वाधारको अभाव जस्ता कुराले नेपालको प्रशासन क्षेत्रले राम्रो ‘सर्भिस डेलिभरी’ दिन नसकेको उनको बुझाइ छ ।

प्रशासन क्षेत्रको नेतृत्व गर्ने व्यक्तिले मात्रै मैले सुधार गरेर देखाउँछु भन्ने प्रतिबद्धतासहित काम गर्ने हो भने महसुस हुने गरी फरक देखाउन सकिने उनको दरिलो आत्मविश्वास पनि छ । ‘सबै सिस्टम नै चेन्ज गर्न त नसकूँला तर मैले काम गर्ने ठाउँमा अरूभन्दा केही फरक अवश्य गर्छु,’ उनले भने, ‘मैले काम गर्ने कार्यालयले दिने सेवामा सेवाग्राहीले मेरो पहुँच पुगेन र काम भएन भनेर फर्किनु नपर्ने वातावरण बनाउँछु ।’ कतिपय पहुँच र शक्तिका भरमा सेवाप्रवाहमा विभेद हुने गरेको र पहुँच नहुनेहरूमाथि अन्याय हुने गरेकोमा आफू कार्यरत कार्यालयबाट त्यसो हुन नदिने बताउँछन् उनी ।

भीरको फल होइन लोक सेवा

बझाङ, बाजुरा जस्ता सुदूरपश्चिमका जिल्लामा लोक सेवाका परीक्षा उत्तीर्ण गर्नु फलामको च्युरा चपाउनुसरह हो भन्ने बुझाइ छ । सरकारी सेवामा भविष्य बनाउन चाहनेहरू यही बुझाइले पहिले नै तर्सिएर अरू नै क्षेत्रमा लाग्ने गरेका छन् । लोक सेवाको उत्तीर्ण दर हेर्ने हो भने पनि अरू प्रदेशभन्दा सुदूरपश्चिमको संख्या निकै कम छ । यद्यपि आम मान्छेको बुझाइमा भए जस्तो लोक सेवाको परीक्षा उत्तीर्ण गर्न गाह्रो नभएको शेखरको अनुभव छ । उनी भन्छन्, ‘सबैभन्दा पहिला आफू के बन्ने भन्ने स्पष्ट लक्ष्य हुनुपर्‍यो । त्यो लक्ष्य म भेट्टाएरै छाड्छु भन्ने आत्मविश्वास र त्यहीअनुसारको मिहिनेत भयो भने लोक सेवा मात्रै होइन, कुनै पनि क्षेत्र गाह्रो छ जस्तो मलाई लाग्दैन ।’

सुदूरपश्चिमका पहाडी जिल्लामा लोक सेवाको परीक्षा उत्तीर्ण गर्न कठिन छ भन्ने भाष्य बलियो बनाइएका कारण धेरैको आत्मविश्वास कमजोर बनेको उनको बुझाइ छ । ‘गाह्रो विषय होइन, विषयप्रतिको बुझाइ र आत्मविश्वास हुने रहेछ । हाम्रोतिर भएको त्यही हो,’ उनले भने, ‘म सक्छु भन्ने आत्मविश्वासका साथ अध्ययनमा लाग्यो भने सबै कुरा बिस्तारै सजिलो हुन्छ । लोक सेवा पनि त्यस्तै हो । हल्ला गरिएजस्तै टिप्नै नसकिने भीरको फल होइन ।’

उनले सरकारी सेवामा आफू पनि रोजगार हुने र देशको सेवा गर्ने राम्रो अवसर भएको सुनाउँदै लोक सेवामा लाग्न चाहनेहरूले विषयवस्तु अध्ययन सँगसँगै यो क्षेत्रमा सफल भएका व्यक्तिहरूको मार्गदर्शन पनि लिँदा अझ सजिलो हुने आफ्नो अनुभव रहेको सुनाए । लोक सेवा पास गर्नका लागि धेरै पढ्नुपर्छ भन्ने भाष्य गलत भएको बताउँदै उनी भन्छन्, ‘एउटा अनुशासनमा रहेर मन लगाएर दिनको एक/दुई घण्टा पढ्ने हो भने पनि पास गर्न सकिन्छ । तर पढिहालौं न भनेर भन्दा पनि मैले यति पढेर केही बुझ्छु भन्ने हिसाबले पढ्नुपर्‍यो ।’

प्रकाशित : असार २४, २०८१ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×