कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

फ्रान्सेली संसदीय चुनाव : वामपन्थी गठबन्धन उदायो, दक्षिणपन्थी दल तेस्रो स्थानमा

काठमाडौँ — फ्रान्सको संसदीय चुनावमा वामपन्थी दलहरूले सबैभन्दा बढी सिट ल्याउन सफल भएका छन् । चरम दक्षिणपन्थी दल न्यासनल र्‍यालीले बहुमत ल्याउने प्रक्षेपण गरिए पनि न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन चुनावी नतिजामा अगाडि देखिएको छ । 

फ्रान्सेली संसदीय चुनाव : वामपन्थी गठबन्धन उदायो, दक्षिणपन्थी दल तेस्रो स्थानमा

५ सय ७७ सिटको राष्ट्रिय सभामा वामपन्थी गठबन्धनले १८२ सिट जितेको छ । वामपन्थी दलहरू मिलेर ३ हप्ताअघि मात्र उक्त गठबन्धन बनाएका थिए । अतिदक्षिणपन्थी मानिने न्यासनल र्‍याली नेतृत्वको गठबन्धनले भने १४३ सिट ल्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको मध्यमार्गी पार्टीले भने १६८ सिट जितेको छ ।

यो नतिजाअनुसार फ्रान्समा कुनै पनि दलले एकल सरकार भने चलाउन सक्ने स्थिति छैन । वामपन्थी गठबन्धनले सरकार बनाउने दाबी गरिरहेको छ तर बहुमतको आँकडा कसरी पुर्‍याउँछ भन्नेबारे भने केही खुलाएको छैन । युरोपेली संसद्का लागि भएको मतदानमा ईयूमा आबद्ध राष्ट्रका दक्षिणपन्थी दलहरू हाबी भएका छन् । फ्रान्समा पनि त्यस्तै नतिजा आउने प्रक्षेपण गरिएको थियो । चुनावमा आफ्नो दल पराजित भएसँगै फ्रान्सका राष्ट्रपति एमानुयल म्याक्रोंले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए । संसद्को कार्यकाल बाँकी रहँदै उनले मध्यावधि घोषणा गरेका थिए । फ्रान्समा संसद्को कार्यकाल सन् २०२७ मा मात्र सकिनेवाला थियो ।

वामपन्थी गठबन्धनमा आबद्ध फ्रान्स अनबाउन्ड पार्टीका नेता जाँ ल्युक मेलेँसोले प्रधानमन्त्री गाब्रियल अट्टलले राजीनामा दिनुपर्ने बताएका छन् । उनले अति दक्षिणपन्थी र राष्ट्रपति म्याक्रोंको एजेन्डाविरुद्ध वामपन्थी गठबन्धनको जित भएको बताएका छन् । राष्ट्रपति म्याक्रोंको पार्टी रेनेसाँबाट प्रधानमन्त्री भएका अट्टलले पनि राजीनामा दिने बताएका छन् । ३४ वर्षीय अट्टल गत जनवरीमा मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

युरोपेली संघको महत्त्वपूर्ण खेलाडी फ्रान्समा राष्ट्रपति र प्रधानमन्त्री दुवैले कार्यकारी भूमिका निर्वाह गर्छन् । राष्ट्रप्रमुखको भूमिकामा रहने राष्ट्रपतिले सरकारको रेखदेखका अलावा सामरिक महत्त्वका निर्णय लिन्छन् । राज्यका दैनिक मामिला व्यवस्थापन गर्ने जिम्मा भने सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीको हुन्छ । त्यसकारण युरोपेली चुनावमा रेनेसाँले ल्याउने परिणामलाई अट्टलको राजनीतिक भविष्यसँग पनि जोडेर हेरिएको थियो । म्याक्रोंले आफ्नो उत्तराधिकारीका रूपमा अघि सारेका अट्टलका लागि भने यो चुनाव पहिलो गाँसमै ढुंगा साबित भएको छ ।

फ्रान्सेली राजनीतिमा म्याक्रों उदाएको भने एक दशक पनि पुगेको छैन । २०१६ अप्रिलमा नयाँ दल स्थापना गरेका म्याक्रों त्यसको एक वर्षपछि सम्पन्न चुनावमा राष्ट्रपति निर्वाचित भएका थिए । २०१७ मा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि भएको मतदानमा म्याक्रोंले ६६.१ प्रतिशत मतसहित ला पेनलाई पराजित गरेका थिए । सामान्यतः राष्ट्रिय सभामा कुनै एक दलले बहुमत हासिल गर्न सक्ने अवस्था नरहेको फ्रान्समा म्याक्रोंको नवगठित पार्टी रेनेसाँले परम्परा भत्काइदिएको थियो ।२०१७ जुनमा भएको संसदीय चुनावमा म्याक्रोंको दल रेनेसाँले बहुमत ल्याउन सफल भएको थियो । उक्त दलले ५ सय ७७ सिटको राष्ट्रिय सभामा ३ सय ८ सिट जितेको थियो ।

म्याक्रों २०२२ मेमा लु पेनलाई पराजित गर्दै पुनः राष्ट्रपति निर्वाचित भएका थिए । सोही वर्ष भएको चुनावमा भने उनको दलले संसद्मा बहुमत गुमाएको थियो । राष्ट्रिय सभामा उनको दल १ सय ५३ सिटमा सीमित भएको थियो । फ्रान्समा अपवादबाहेक लामो समयदेखि गठबन्धन सरकारको संस्कृति छ ।

प्रकाशित : असार २४, २०८१ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×