कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

ट्रम्पको पक्षमा ‘टेक टाइकुन’

पछिल्ला दिनमा राष्ट्रपति जो बाइडेनको स्वास्थ्य र सार्वजनिक सहभागिताबारे विभिन्न प्रश्न उठिरहेका समयमा अमेरिकी धनाढ्य र ‘टेक’ अर्बपतिहरूको ठूलो समूहले खुला रूपमै ट्रम्पप्रति समर्थन देखाउन थालेका छन् 

काठमाडौँ — अनलाइन भुक्तानी प्रणाली पेपालका संस्थापकमध्येका डेभिड स्याक्स र चमाथ पलिहापिथियाले तीन साताअघि ‘बिलिनियर्स रो’ भनिने आफूहरूका महलमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका लागि आगामी निर्वाचन लक्षित चन्दा संकलन कार्यक्रम आयोजना गरे । उक्त कार्यक्रममा १२ लाख अमेरिकी डलर जम्मा भयो ।

ट्रम्पको पक्षमा ‘टेक टाइकुन’

केही समयअघि ३४ वटा धोकाधडीका मुद्दामा न्युयोर्कस्थित अदालतबाट ट्रम्प दोषी ठहर भएको फैसला आएको २४ घण्टाभित्रै झन्डै ५३ लाख अमेरिकी डलर अनलाइन चन्दा प्राप्त भएको थियो । ट्रम्प अभियानसँगै उनको दललाई निर्वाचन अभियानका लागि भनेर मेभरमा मात्रै १ करोड ४१ लाख अमेरिकी डलर चन्दा जुटाएको समाचार संस्था एपीको अनुमान छ ।

पछिल्ला दिनमा राष्ट्रपति जो बाइडेनको स्वास्थ्य र सार्वजनिक सहभागिताबारे विभिन्न प्रश्न उठिरहेका समयमा अमेरिकी धनाढ्य र ‘टेक’ अर्बपतिहरूको एउटा ठूलो समूहले खुला रूपमै ट्रम्पलाई समर्थन देखाउन थालेका छन् । ‘बिलिनियर्स रो’ कार्यक्रममै ‘क्रिप्टोकरेन्सी’ क्षेत्रका लगानीकर्ता र कार्यकारीहरूले ट्रम्पको चुनावी अभियानलाई सघाउन चन्दा उपलब्ध गराएका थिए । ‘क्रिप्टो एक्सचेन्ज प्लाटफर्म क्वाइनबेस’ का कार्यकारी, ‘क्रिप्टो’ लगानीकर्ताद्वय टाइलर विंकलभस र क्यामरुन विंकलभस पनि उक्त कार्यक्रममा विशेष व्यक्तिका रूपमा सहभागी थिए । जुम्ल्याहा विंकलभस दाजुभाइले शुक्रबार पुनः २ लाख डलर मूल्यको ‘बिटक्वाइन’ चन्दास्वरूप दिने घोषणा गरेका छन् ।

यो साताको सबैभन्दा ठूलो समाचार चाहिँ ट्रम्प अभियानलाई दक्षिणपन्थी पुरातनवादी धारका अर्बपति टिमोथी मेलन एक्लैले एकमुष्ट ५० लाख डलर दिएको पाइएको छ । ‘मेक अमेरिका ग्रेट अगेन इंक’ भनिने ‘सुपर–प्याक’ (चुनावी उम्मेदवारलाई समर्थन गर्न असीमित रकम जुटाउन सक्ने स्वतन्त्र राजनीतिक समिति) कोषले संघीय निर्वाचन आयोगमा बुझाएको विवरणमा गत महिना ट्रम्पले दाताहरूबाट ६८ लाख डलरभन्दा बढी चन्दा लिएको उल्लेख छ ।

पिट्सबर्थस्थित मेलन बैंकिङ समूहले ट्रम्पलाई ५० लाख डलर र अर्बपति लिज र डिक युलेमले १० लाख डलर दिएको ‘रोयटर्स’ले जनाएको छ । व्यावसायिक अभिलेखहरू किर्ते गरेकोसम्बन्धी ३४ वटा कसुरमा अदालतले ट्रम्पलाई गत मेमा दोषी ठहर गरेको थियो । त्यसको भोलिपल्टै मेलनले ट्रम्पलाई चन्दा पठाएको अन्तर्राष्ट्रिय समाचारहरूमा दाबी गरिएको छ । प्रविधि सल्लाहकारका रूपमा चिनिएका ज्याकब हेलबर्गले पनि ट्रम्पको चुनावी अभियानलाई १ लाख डलर चन्दा दिएका छन् । उनी सदस्य रहेको प्रविधि क्षेत्रका अगुवाहरूको सानो तर एक प्रभावशाली समूहले ट्रम्पलाई खुला समर्थन गर्ने घोषणा नै गरेको छ । प्रविधि क्षेत्रसँगै दक्षिणपन्थी धारका अन्य उद्यमीहरूको यस्तो उदारताका कारण ट्रम्प अभियानले शुक्रबार राष्ट्रपति बाइडेनको भन्दा ६० लाख डलर बढी चन्दा उठाउन सफल भयो ।

निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार गत महिनाको अन्तिमसम्ममा बाइडेन समूह र ‘डेमोक्र्याटिक नेसनल कमिटी’ले संयुक्त रूपमा ८५ लाख डलर चन्दा संकलन गरेको थियो भने २१२ लाख डलर बैंकमा छ । ट्रम्प समूह र ‘रिपब्लिकन नेसनल कमिटी’ले भने संयुक्त रूपमा सर्वाधिक १ करोड ४१ लाख डलर चन्दा संकलन गरेको छ भने १ करोड ७० लाख डलर बैंकमा छ । ट्रम्प ३४ को धोकाधडीका मुद्दामा दोषी ठहर भएपछि दसौं लाख डलर चन्दा जुटेको कमिटीले बताउँदै आएको छ ।

‘सिलिकन भ्यालीमा ट्रम्पलाई समर्थन गर्नुको सामाजिक मूल्य पहिलाको जस्तो छैन,’ हेलबर्गको भनाइ उद्धृत गर्दै वासिङटन ‘पोस्ट’ले लेखेको छ, ‘अमेरिकाका लागि बन्ने वा बिग्रिने थुप्रै मुद्दाहरूमा ट्रम्प सही थिए ।’ प्रविधि अर्बपतिहरूको क्षेत्र, सिलिकन भ्यालीमा यसअघि ट्रम्पप्रतिको सार्वजनिक समर्थन दुर्लभ हुने गरेकामा यसपटक प्रणाली ‘रिबुट’को छनक देखिएको बीबीसीको विश्लेषण छ । ‘बाइडेनप्रति कोही पनि उत्साहित छैनन्,’ ‘पडकास्ट होस्ट’समेत रहेका प्रभावशाली लगानीकर्ता स्याक्सले भनेका छन्, ‘मैले चिनेका थुप्रै मानिस छन्, जसले ट्रम्पलाई समर्थन गर्छन् ।’

सिलिकन भ्याली रहेको क्यालिफोर्निया कुनै बेला ‘रेड स्टेट’ अर्थात् रिपब्लिकनहरूकै पल्ला भारी हुने राज्य थियो । रोनाल्ड रेगन र रिचर्ड निक्सन जस्ता क्यालिफोर्निया मूलका रिपब्लिकन राष्ट्रपतिहरू अमेरिकाले पाएको छ । तथापि सन् १९८० पछि यस क्षेत्रबाट रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले चुनाव जितेका छैनन् । ‘डेमोक्र्याटिक पार्टी’प्रति प्रविधि क्षेत्रका प्रभावशालीहरूको बफादारीपन अझै कायम देखिन्छ ।

यद्यपि रिपब्लिकन ज्वार वा एउटा तरंग यसपटक आउँदै गरेको केही न केही छनक देखिएको छ । स्थानीयहरूको चरम निराशा र इलन मस्क जस्ता ट्रम्प समर्थक अर्बपतिहरूका कारण सिलिकन भ्यालीमा रिपब्लिकन दलको तरंग देखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

प्रविधि उद्यमी र विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले यसअघि ‘ट्विटर भनिने एक्स प्लाटफर्म’मा ट्रम्पलाई फिर्ता ल्याएका थिए । झन्डै २ अर्ब डलर सम्पत्तिका मालिक धनाढ्य ट्रम्पको समर्थन गर्ने निर्णय गरेका सिलिकन भ्यालीका मानिसहरू आफूले बाइडेन लचिलो हुने अपेक्षा गरेकामा उनी कट्टरपन्थी प्रशासकका रूपमा देखिएको प्रतिक्रिया दिँदै आएका छन् । ‘आर्टिफिसियल इन्टेलिजेन्स’लाई कठोर नियमन गर्नुका साथै बाइडेनले पुँजीगत लाभ करलाई अहिलेसम्मकै उच्चतम स्तरमा पुर्‍याएको उनीहरूको मुख्य गुनासो छ । प्रविधि क्षेत्रका हस्तीहरूले ट्रम्पलाई समर्थन गर्नुका विविध कारण छन् । कतिले उनलाई ‘डिस्रप्टर’ अर्थात् नवीन सोचसहित परिवर्तनका लागि हस्तक्षेप गर्ने नेतृत्वका रूपमा लिने गरेका छन् ।

नियमनका विषयमा ठूला प्रविधि कम्पनीहरूले ‘डेमोक्र्याटिक र रिपब्लिकन’ दुवै दललाई नरुचाए पनि प्रतिस्पर्धा र गोपनीयतासम्बन्धी कठोर कानुन ल्याउन खोजेको भन्दै ‘डेमोक्र्याट’प्रति उनीहरूको भय तुलनात्मक रूपमा बढी छ । ‘कन्जरभेटिभ रिपब्लिकन’हरूका लागि ‘सिलिकन भ्याली एसोसिएसन’की अध्यक्ष जान सौले मध्यवादी रिपब्लिकनहरूले वास्तविक कन्जरभेटिभहरूलाई चुनावमा हराउन सक्ने चिन्ता प्रकट गर्दै उनीहरूलाई ‘रिपब्लिकन भेषका डेमोक्र्याट’ को रूपमा अर्थ्याउँछिन् ।

क्यालिफोर्नियामा विजय हासिल गर्न ट्रम्पले यस्तै अनिर्णीत मध्यवादी मतदातालाई रिझाउनुपर्ने सौलेको धारणा छ । प्रविधि क्षेत्रका धनी र प्रभावशाली कार्यकारीहरूले ट्रम्पका लागि बोलिदिए त्यसको ठूलो प्रभाव पर्ने उनको बुझाइ छ । सिलिकन भ्यालीमा आउने सानो तरंगले अन्यतिर ठूलो परिणाम ल्याउन मद्दत पुग्ने निश्चित छ ।

प्रकाशित : असार २४, २०८१ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×