कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

टिप्पणी : दाहालसँग सत्ता न नैतिक बल

दाहालले निकट राजनीतिक दल तथा शक्तिहरूलाई पनि यसबीचमै पर धकलेका छन् । जसपा नेपाल विभाजनपछि झन् टाढा पुगेको छ । निर्वाचन क्षेत्र नै दाहालका लागि छोडिदिने बाबुराम भट्टराई सबैभन्दा कट्टर आलोचक बन्नपुगेका छन् ।
किशोर दहाल

काठमाडौँ — प्रतिनिधि सभाका दुई ठूला दलसँग खेल्दै ‘सत्ताभोग' गर्दै आएका थिए, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । प्राविधिक रुपमा प्राप्त सरकारको नेतृत्वलाई उनले आफ्नो चलाखीको उपलब्धि ठानिरहेका थिए ।

टिप्पणी : दाहालसँग सत्ता न नैतिक बल

उनी ‘अनेक गर्ने’देखि ‘जादु चलाउने’सम्मका अराजनीतिक अभिव्यक्ति दिइरहेका थिए । कांग्रेस र एमालेबीच असार १७ मध्यरातमा भएको सहमतिले उनलाई यथार्थमा ओरालेको छ । आफ्नो हिस्साको संसदीय गणितको यथार्थ बोध गराइदिएको छ ।

एमाले र जसपाले समर्थन फिर्ता लिइसकेको छ । उनलाई तीस दिनभित्र विश्वासको मत लिन पाउने सुविधा छ । त्यसको उपयोग गर्ने उनको तयारी छ । ‘संवैधानिक र कानुनी व्यवस्था अनुरुप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्छु भन्नुभएको छ’, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि मन्त्री रेखा शर्माले भनिन्, ‘हामी सकेसम्म विश्वासको मत ‘फेस’ गर्छौँ ।’

सत्ता गुमाउनु नेपालका नेताहरूका निम्ति सबैथोक गुमाउनु सरह हो । दाहालका निम्ति त यो तर्क झन् सान्दर्भिक हुन्छ । उनका निम्ति पाउने र गुमाउने एक मात्र कुरा त्यही सत्ता भए जस्तो देखिन्थ्यो । शान्ति प्रक्रियामा आएपछि उनको पार्टीको सत्तारोहण र उनीसमेतको सत्तामोहलाई केलाउने हो भने त्यसको प्रष्ट चित्र देखिन्छ । यसपटक प्रधानमन्त्री छँदा पनि उनले आफ्नो कार्यकाल केही दिनको हुने अनुमान गरेको भए पनि महिनौं लम्बिएको भन्दै सत्ता आसक्तिको आत्ममुग्धता प्रस्तुत गरिरहेका थिए ।

खासमा सम्पूर्ण रुपमा कमजोर भइसकेका भए पनि दाहालले सधैं चर्चा पाइरहनुको एक मात्र कारण सत्तासँग उनको सम्पर्क नै हो ।

पार्टी सत्ता होस् वा राज्य सत्ता, त्यसले शक्ति दिन्छ । दाहालले अभ्यास गरिरहेको शक्ति सत्ता सिर्जित हो । कुनै जनादेश वा नैतिक बलबाट प्राप्त होइन । अब त्यही सत्ता पनि नरहेपछि उनी स्वतः कमजोर बनेका छन् ।

२०६३ असारमा बालुवाटारमा सार्वजनिक भएर खुला राजनीतिक जीवन सुरु गरेका दाहाल २०८१ असारसम्म आइपुग्दा फरक सन्दर्भमा बालुवाटारबाट बाहिरिने अवस्थामा पुगेका छन् । यसबीच उनले सत्ता सौन्दर्यका अनेक घुम्ती पूरा गरेका छन् । बालुवाटार उनका निम्ति पानी पँधेरो जस्तो भयो । तर २०६३ मा उनको जुन ओझ थियो, जुन आभा थियो, यसबीचमा ती सबै खुइलिएका छन् ।

एउटा नेताका निम्ति सत्तामा जाने र आउने स्वाभाविक प्रक्रिया हो । सत्ताको सिँढीबाट ओर्लिँदा प्रायः प्रधानमन्त्रीसँग मेरुदण्डको रुपमा आफ्नो पार्टी हुन्छ । दाहालसँग त्यो अवस्था छैन । उनको पार्टी पछिल्ला निर्वाचनपिच्छे कमजोर हुँदै गएको छ । यसबाट उनको दलप्रति जनविश्वासको घट्दै गएको पुष्टि हुन्छ । उनको पार्टीको सांगठनिक पक्ष भताभुंग छ । विचार, एजेन्डा वा कार्यक्रमका आधारमा जनतालाई अपिल गर्न सक्ने अवस्था छैन । कमजोर पार्टीको नेतृत्व हुनुको कारण उनी स्वतः कमजोर भएका छन् । पार्टी पंक्तिमै चिन्ता व्यक्त हुने गरेको छ- दाहालकै नेतृत्वमा सुरु भएको माओवादी आन्दोलन उनकै नेतृत्वमा समाप्त हुने हो कि !

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर संसारमा सत्ताबाहिर पुगेका धेरै पार्टीहरू पुनः सत्तामा आएको तर त्यसका लागि पार्टी नीति, विधि, आदर्श, चरित्र, मूल्य मान्यता र जनताले पत्याउने एजेन्डा ल्याउन सक्नुपर्ने बताउँछन् । ‘जनयुद्धकै बेलामा माओवादीले भन्ने गर्थ्यो- आफ्नो टाउकोमा आगो लगाऊ । आफ्नै समीक्षा गर’, उनी भन्छन्, ‘यदि भएन भने (दाहाललाई) साथीहरूले पनि टाउकोमा आगो लगाउन सघाउनुपर्छ । जुन ठाउँबाट समस्या आएको छ, जुन ठाउँबाट शक्ति क्षण भयो, त्यहीँ परीक्षण गरेर निर्मम तरिकाले अगाडि बढे गर्न नसकिने के छ ? तर पनि गर्न (दाहालले) सक्नुहुन्छ कि हुन्न, उहाँका सामुन्नेका चुनौती हुन् ।’

पार्टीको संगठन, वैचारिक सबलता वा संसदीय उपस्थिति कमजोर भए पनि व्यक्तिगत रुपमा कुनै नेताको छविले उसप्रति व्यक्तिगत रुपमा आकर्षण सिर्जना गर्न सक्छ । तर त्यस्तो अवस्थाबाट दाहाल अघि बढिसकेका छन् । यस अवधिमा उनले आफ्नो दशकौंअघिको क्रान्तिकारी छवि धुमिल बनाएका छन् ।

यसपटक प्रधानमन्त्री हुँदा उनले देखाएका कतिपय व्यवहारका कारण उनले आलोचना खेपे । जुन अस्वाभाविक होइन । जस्तो कि, नेपालदेखि भारतसम्म उनले आफूलाई धार्मिक नेताको प्रस्तुत गरे । महाकालेश्वर मन्दिरदेखि पशुपतिनाथको मन्दिरसम्म गरेका दर्शन आफूलाई कम्युनिस्ट भन्ने नेताको निम्ति अलिक नौलो नै थियो । बालुवाटार प्रवेशको साइत जुराउने, दौरासुरुवाल लगाउने तथा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन बिदा दिने जस्ता निर्णयले उनलाई कति फाइदा भयो, उनैले हिसाबकिताब गरेका होलान् । तर विगतको उनको छवि भने बाँकी रहेन ।

व्यक्तिको चरित्र विकास भइरहने चिज भएको र परिस्थितिले चरित्रको निर्माण गर्ने विश्लेषक पिटरको टिप्पणी छ । ‘उहाँ हिजोको चरित्रमा नरहीकन नयाँ चरित्रलाई स्वीकार गर्नुभएको हो’, उनी भन्छन् ।

उनी नैतिक बलका दृष्टिले पनि कमजोर भएका छन् । सत्ता र शक्तिमा हुँदा उनले परिवारकै सदस्यलाई प्राथमिकता दिएको अनेक सन्दर्भ सार्वजनिक भइसकेको छ । त्यसले गर्दा उनी आम जनताको होइन, सम्पूर्ण पार्टी पंक्तिको पनि होइन, एउटा निश्चित घेराको अभिभावक बनेको भनेर आलोचना भयो । तर यसक्रममा उनलाई सत्ता शक्तिको सिँढी उकाल्न काँध थापेका जीवित लडाकु होस् वा बलिदानी दिएका योद्धाहरू, सबैसबैलाई बेवास्ता गरे । सशस्त्र युद्धका घाइतेदेखि सहिद परिवारका सहारा बन्न सकेनन् । शीर्ष नेताहरूकै बीचमा पनि अन्तरद्वन्द्व सिर्जना गर्ने उनको स्वभावको यतिबेला पार्टीभित्रै आलोचना बढ्दो छ । पार्टीको नेतृत्वमा त उनी छन्, तर उनीबाट अब पार्टी बन्ने आशा गर्ने पंक्ति भने कमै मात्र छन् ।

उनले आफूसँग निकट राजनीतिक दल तथा शक्तिहरूलाई पनि यसबीचमै पर धकलेका छन् । त्यसको एउटा उदाहरण हो- जसपा नेपाल । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव फरक दलमा रहे पनि दाहालसँग निकट रहेरै भूमिका निर्वाह गर्ने गर्थे । तर केही हप्ताअघि मात्रै उनले सो दल विभाजन गरिदिएका थिए । त्यसैले यादव उनीसँग आक्रोशित छन् । नेकपा एकीकृत समाजवादी पनि उनीसँग निकट शक्ति होइन ।

दाहाल प्रधानमन्त्री छँदै गठन गरिएको समाजवादी मोर्चा पनि सन्दर्भहीन भइसकेको छ । उसै पनि त्यसको औचित्य स्थापित भइरहेको थिएन, झन् जसपा नेपाल विभाजन भइसकेपछि त्यसको मृत्यु नै भयो ।

माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताको कसरत चलेको थियो । तर दाहाल त्यसमा इमानदार भएनन्, बरु सो पार्टीका कतिपय नेताहरूलाई आफूतिर तान्दै भट्टराईलाई कमजोर बनाउने रणनीति अख्तियार गरे । नेसपाप्रति दाहालको जबर्जस्ती कस्तोसम्म रह्यो भन्ने गण्डकी प्रदेश सभामा देखियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै नेसपाका सांसद (माओवादी केन्द्रको निर्वाचन चिह्नमा विजयी) फणीन्द्र देवकोटालाई प्रदेश सभा सदस्यबाटै हटाउने प्रयत्न गरे । दाहालको जबर्जस्तीलाई सर्वोच्चले लगाम लगाइदियो ।

यतिबेला भट्टराई दाहालप्रति आक्रोश व्यक्त गरिरहेका छन् । विगतमा दाहाललाई सर्वोच्च स्थानमा राखेर माओवादी केन्द्र ठड्याउने पिल्लरको भूमिकामा रहेका भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द्र लगायतका नेताहरू र उनीहरूसँग लागेका कार्यकर्ताको पंक्ति उनीसँग छैनन् । व्यक्तिगत रुपमा पार्टी परित्याग गर्नेहरूको सूची पनि उल्लेखनीय छ । बेलाबेलामा उनी पूर्व माओवादीहरू एक हुनुपर्ने र एक्लाएक्लै हिँडेर कोही कहीँ नपुग्ने बताउँछन् । तर उनकै कार्यशैली र जीवनशैलीलाई लिएर पूर्वमाओवादीहरू उनीसँग जोडिन इच्छुक देखिँदैनन् ।

आफ्नो राजनीतिक जीवनको उत्तररार्द्धतिर उनी अपरिपक्व, बोलीमा अडान नभएको र अविश्वसनीय नेताको रुपमा स्थापित भएका छन् । उनले गोप्य वा सार्वजनिक रुपमा गरेका सहमति, वाचा बन्धन पालना होला भनेर अपेक्षा गर्नेहरू साह्रै कम छन् ।

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेबीच सत्ता सहयात्रा हुनुमा पनि दाहालको अस्थिर स्वभाव जिम्मेवार रहको बताउँछन् । ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग अब कसैको पनि विश्वास रहेन’ थापाको भनाइ छ, ‘त्यो कारणले अहिलेको परिस्थिति सिर्जना भएको हो ।’

आफ्नो पहिलो कार्यकाल झल्याकझुलुकमै बितेको बताउँथे, दाहाल । सम्भवतः उनका निम्ति तेस्रो कार्यकाल पनि त्यस्तै रह्यो होला । तर फरक के छ भने, पहिलो पटक प्रधानमन्त्रीबाट बाहिरिँदा पनि उनीसँग मुद्दा थियो, नैतिक बल थियो । यसपटक उनीसँग केही छैन ।

मुख्यतः ‘आफ्नो अन्तिम अवसर’ भन्दै प्रधानमन्त्रीको कुर्सीमा रहँदा पनि उनले उल्लेखनीय ढंगले जनपक्षीय कामहरू गर्न सकेनन् । करिब १८ महिना सत्तामा रहँदा उनले कस्ता कामका कारण चर्चा पाए ? स्पष्ट छ- गठबन्धन हेरफेर र विश्वासको मतको श्रृंखला । बाँकी जस्ता घटनाहरूले चर्चा पाए, ती सबै दाउपेचको सिकार भए । कतिसम्म भने, कम्युनिस्ट पार्टीका नेता भनिने उनले सहकारी पीडितको विषयमा समेत उभिन सकेनन् । जबकि, कम्युनिस्ट भनिने पार्टीहरू नै निर्धक्कसँग पीडितको पक्षमा, अन्यायमा परेका जनताको पक्षमा उभिने अपेक्षा गरिन्छ । तर उनी सहकारीमा बचत गरिएको रकम हिनामिनाको आरोप लागेका रवि लामिछानेको पक्षमा उभिए । संसद्‌बाटै बचाउ गरे । तर यसबीचमा जो ठगिए, उनीहरूको रकम सुरक्षा हुन्छ भनेर भरोसा दिलाउन चाहेनन् । सत्ता निरन्तरताका लागि उनले यी सबै गरेका थिए । तर अब उनीसँग न सत्ता छ, न पीडितले आश गर्न सक्ने व्यक्तित्व ।

‘सत्ताले धेरै कुरा पचाइदिन्छ । चपाइदिन्छ । त्यसैभित्र धेरै पर्छ । प्रतिक्रियाले नेपाली राजनीति हाँकिएका बेलामा सबै राजनीतिक पार्टीहरूको चरित्र जे छ, त्यसमा उहाँ पनि पर्नुहुन्छ’, पिटर भन्छन्, ‘परिस्थितिले घचेटेपछि नेताहरूले हिजोका राजनीतिक चरित्र त्याग्दै जाँदारहेछन् ।’

यस कार्यकालमा उनको सबैभन्दा जोड थियो- संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्‍याउने । पटकपटकको सत्ता गठबन्धन परिवर्तनमा पनि उनको उद्देश्य त्यही देखिन्थ्यो । तर त्यसमा पनि सफलता पाउन सकेनन् ।

सत्ताको नेतृत्वकर्ता खेलेको भूमिकाका कारण प्रतिपक्षी नेताको रुपमा पनि उनले प्रभावकारी भूमिका खेल्न सक्ने आधार कम छ । किनकि, त्यसका लागि सदनमा उनीसँग सिट संख्या कम छ, सडकमा उत्रिन कार्यकर्ता घट्दै गइरहेका छन् र सबैभन्दा मुख्यतः उनको नैतिक बल नै क्षीण भइसकेको छ । उनी ‘न टेक्ने भूइँ, न समात्ने हाँगा’को अवस्थामा पुगेका छन् ।

प्रकाशित : असार २१, २०८१ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×