धनुषा — नेकपा एमाले मधेश प्रदेशले मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रदेश सरकारको बजेटमा भएको त्रुटि संशोधन गरेर अगाडि बढ्ने र नयाँ सत्ता गठबन्धनअनुसार सरकारमा सहभागी हुने विषयमा छलफल भएको बैठकपछि खेलकुद तथा समाज कल्याण राज्यमन्त्री शारदा देवी थापाले बताइन् ।
'शनिबार प्रदेशसभामा मुख्यमन्त्रीले लिने विश्वासको मतमा एमालेले मत दिने निर्णय गरेको छ,' राज्यमन्त्री थापाले भनिन्, ‘बैठकमा विश्वासको मत, परिवर्तन भएको गठबन्धनअनुसार मन्त्रालय बाटफट हुँदा मन्त्रालय फेरबदल नहुने र बजेटमा रहेको त्रुटि सच्याएर बजेट कार्यान्वन गराउने विषयमा छलफल भयो ।’
बैठकमा विश्वासको मत दिएर बजेट प्रदेशसभाबाट पारित गराउने निर्णय भएको पनि थापाले बताइन् ।
शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ ।
