कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

छोरीको उमेर पुगेपछि विवाह गर्ने ४९ जना अभिभावक सम्मानित 

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र छोरीको विवाह गरेका ४९ अभिभावकलाई सम्मान गरेको छ । 

छोरीको उमेर पुगेपछि विवाह गर्ने ४९ जना अभिभावक सम्मानित 

बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत प्रतिबद्ध भई समाजमा राम्रो सन्देश दिएको भन्दै त्यस्ता अभिभावकहरुलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गरेका ४९ जना अभिभावकलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गरिएको महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दासले बताइन् । कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले समाजमा विद्यमान बालविवाहलाई निरुत्साहित गर्न पालिकाले केही फरक गर्नेलाई सम्मान गरी अरुलाई पनि अनुशरण गर्न सन्देश दिने उद्देश्यले अभिभावकको सम्मान गरेको बताए । २०८३ सालसम्म पालिकालाई बालविवाह मुक्त नगरपालिका बनाउने लक्ष्य लिएको मण्डलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी गेलालले बालविवाह सामाजिक अपराध र कुरीति रहेकोले यस्तो अन्त्य गर्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला तहका सबै कार्यालय प्रमुखहरूले मटिहानीले गरेको कार्य राम्रो रहेको भन्दै प्रशंसा गरेका छन् । मटिहानीले बालविवाहलाई निरुत्साहित गर्न विगत १ वर्षदेखि पालिकाभित्र विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको पालिकाको महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।


प्रकाशित : असार १८, २०८१ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×