कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पारिवारिक प्रतिसोधमा दुई जनाको हत्या  

भूषण यादव

वीरगन्ज — जग्गा विवादको विषयलाई लिएर पारिवारिक प्रतिसोधका कारण सुपारी दिएर दुई जनाको हत्या गरेको खुलेको छ । गत जेठ २९ मा पर्सा जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारमा नेपाल तर्फको सिमानाको दशगजा भन्दा ८० मिटरभित्र खाली जग्गामा गाडिएको अवस्थामा दुई शव बरामद भएको थियो । वन्यजन्तुले शव खोस्रिरहेको सूचना आएपछि जिल्ला प्रहरी पर्साबाट विशेषज्ञ टोली परिचालन गरिएको थियो ।

पारिवारिक प्रतिसोधमा दुई जनाको हत्या  

जेठ ३० मा दुबै शवको पहिचान खुलेको थियो । जिल्ला प्रहरी पर्साका अनुसार पहिलो शव बारा कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकवाल कुम्हालको र दोस्रो शव बाराकै आदर्शकोतवाल गाउँपालिका–७ निवासी ४० वर्षीय सुरेश ठाकुर लोहारको रहेको थियो ।

करिब तीन साताको अनुसन्धान पछि पर्सा प्रहरीले बुधबार कुम्हाल र ठाकुरको हत्या पारिवारिक रिसईबी र जग्गा जमिनको विवादका कारण गरिएको जनाएको छ ।

हत्यामा संलग्न मूख्य योजनाकारसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जगरनाथपुर गाउँपालिका–५ का ३२ वर्षीय सन्तोष प्रसाद कुम्हाल, जगरनाथपुरकै ४५ वर्षीय महादेव महतो नुनिया र बारा कलैया उपमहानगरपालिका–५ का ३३ वर्षीय लक्ष्मणकुमार प्रजापति मूख्य योजनाकार रहेको प्रहरी प्रवक्ता डीएसपी दिपक भारतीले बताए ।

मूख्य योजनाकारले हत्या गर्ने पूर्व योजना बनाई कुम्हाल र ठाकुरलाई झारफुक एवम् धामीझाँक्रीको काम रहेको भन्ने विश्वासमा पारि बाराबाट घटनास्थलसम्म बोलाएको देखिएको डीएसपी भारतीले जनाए ।

‘पारिवारिक रिसईबी तथा जग्गाजमिनको विवादका कारण योजनाबद्ध तरिकाले हत्या गरिएको खुलेको छ,’ डीएसपी भारतीले भने, ‘यसका लागि निश्चित व्यक्तिलाई ८ लाख रकम (सुपारी) समेत दिइएको छ ।’

गत जेठ २५ मा साँझ करिब ६ बजे कुम्हाल र ठाकुर बाराको कलैयाबाट बस चढेर पर्साको प्रतिमा चोकमा झरेका थिए । त्यहाँबाट पावरहाउस चोकमा आएर विन्दवासिनीको केहुनीया जाने गाडी चढेका थिए । अनुसन्धान अधिकृतका अनुसार विन्दवासिनी चोकबाट घटनामा संलग्न एक व्यक्तिले दुबैलाई मोटरसाइकलमा चढाएर बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुयाएका थिए ।

त्यहाँबाट नहरको बाटो हुँदै बिसुनपूर्वास्थित ओरिया खोला लगेका थिए । डीएसपी भारतीका अनुसार कुम्हाल र ठाकुरको साथमा रहेको गम्छाले घाटी थिची हत्या गरेका थिए । दुबै शवलाई घटना घटाएको स्थान नजिकै ओरिया खोला तटमा शव गाडेका थिए ।

हत्यामा संलग्न तीन जना पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको छ । हत्यामा संलग्न अन्यको समेत पहिचान भइसकेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०८१ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×