कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

मधेशका मुख्यमन्त्रीलाई एमाले र माओवादीको साथ

सन्तोष सिंह

धनुषा — मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका ५५ जना सांसदले विश्वासको मत दिने प्रतिबद्धता जनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा जनमत नेतृत्वको सरकारले ल्याएको बजेट पारित गर्ने र सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहलाई  विश्वासको मत दिने प्रतिबद्धता जनाएका छन् ।

मधेशका मुख्यमन्त्रीलाई एमाले र माओवादीको साथ

मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएकाे नेकपा एमाले मधेश प्रदेश संसदीय दलका सचेतक हरिनरायण महताेले बताए । 'विश्वासकाे मत दिने नै हाे,' महताेले भने, 'थप विषयमा छलफल गर्न शुक्रबार संसदीय दलकाे बैठक बस्दै छ । बैठकले थप निर्णय गर्ने छ ।'

शनिबार प्रदेश सभामा मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी केन्द्र, नेकपा एससहितका ५५ जना सांसदले विश्वासको मत दिने प्रतिबद्धता जनाएका माओवादी केन्द्र संसदीय दलका नेता एंम अर्थमन्त्री भरतप्रसाद साहले बताए । बैठकमा नेकपा एसबाहेक सत्ता गठबन्धन एमाले, माओवादी, जनमत, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्तिका मन्त्रीहरू सहभागी भएका थिए ।

नेकपा एसका मन्त्रीहरू पार्टीको अधिवेशनमा सहभागी हुन काठमाडौमा रहेकोले मुख्यमन्त्रीले बोलाएको बैठकमा सहभागी हुन नसकेको श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले बताइन । बैठकमा सहभागी नभएपनि अहिले मुख्यमन्त्रीलाई विश्वासका मत दिएर बजेट पारित गर्न सरकारमा सहभागी दलहरू एकमत रहेको लुङ्गेलीले बताइन् ।

मुख्यमन्त्री बन्न समर्थन गरेका दलका सांसदहरूले विश्वासको मत दिने मुख्यमन्त्री सिंहले बताए । केन्द्रीय गठबन्धनमा जे हुन्छ, हुन्छ नै, मुख्यमन्त्री सिंहले भने, ‘प्रदेशमा जे सहमति भएको छ, त्यही अनुसार विश्वासको पाउँछु ।’ एमाले, माओवादी, नेकपा एससहितका दलले विश्वासको मत दिने मुख्यमन्त्री सिंहले विश्वास व्यक्त गरे ।

मधेस प्रदेश सभामा १०७ प्रदेश सांसद छन् । मधेस प्रदेश सभामा चौथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । मुख्यमन्त्री सिंहलाई एमालेका २५, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ७ प्रदेश, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जना प्रदेश सांसदको समर्थन रहेको छ । नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, लोसपाका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी १ जना प्रदेश सांसद उनको विपक्षमा छन् ।

केन्द्रीय सत्ता गठबन्धन फेरिँदा विश्वसको मत लिन नपाएको जनमत नेतृत्वको मधेश प्रदेश सरकार अलमलमा चर्चा चलिरहँदा एमालेसहितको पुरानो गठबन्धनले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन लागेको हो । मधेश प्रदेशमा माओवादी–एमाले गठबन्धनको समर्थनमा जनमतका सतिशकुमार सिंहले जेठ २५ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए । कांग्रेस–एमाले गठबन्धनले ७ प्रदेशमा ३/३ प्रदेश बाँडफाँट गरेको छ । तर, मधेश प्रदेशको सरकारको नेतृत्व मधेश केन्द्रित कुन दललाई दिने प्रष्ट छैन ।

कांग्रेसकै नेतृत्वमा मधेशमा सरकार बनाउने विषयमा छलफल भइरहेको कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले बताए । मधेश केन्द्रित दलको नेतृत्वमा मधेशमा सरकार बनाउने कुनै सहमति नभएको र कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेको यादवले बताए । जनमतकै नेतृत्वमा सरकार राख्ने कि अन्य कुनै दलको सरकार बनाउने विषयमा कुनै छलफल नभएको लोकतान्त्रिक समाजवादी पार्टी संसदी दलका उपनेता उपेन्द्र महतोले बताए । 'आन्तरिक रुपमा दलहरूले छलफल गरेपनि एक दलले अर्को दलसँग छलफल गरेको छैन,' उनले भने ।

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले मधेशमा जनमत नेतृत्वको सरकार निरन्तरता पाउने र माओवादी सरकारमा रहने बताए । मधेश प्रदेश सरकारको नेतृत्व सुनिश्चितता भए जनमत नया गठबन्धनलाई समर्थन गर्ने जनमत पार्टीका सचिव बीपी साहले बताए । 'गठबन्धनसँग सकारात्मक छलफल भइरहेको छ,' सचिव साहले भने, ‘हाम्रो प्राथमिकता प्रदेश सरकार हो । प्रदेश सरकार जनमतलाई दिएको खण्डमा हामी गठबन्धनमा सहभागी हुन्छौं । जनमतले प्रदेश सरकार नपाए केन्द्र सरकारमा सहभागी हुने सम्भावना न्युन छ ।'

मधेश प्रदेशमा पहिलो ५ वर्ष जसपा नेतृत्वको सरकार थियो । दोस्रो कार्यकालमा जसपाकै सरकार बनेपनि एक महिनाअघि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि सरोज यादव नेतृत्वको सरकार ढल्यो । ०७९ पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता यादवले १७ महिना कार्यकालमा बिताए ।

प्रकाशित : असार २१, २०८१ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×