वर्णविन्यासको राजनीतिलाई अदालतबाट निकास 

वर्णविन्यास परिवर्तनको विपक्षमा अदालत उभिए पनि भाषा आयोगबाट नेपाली वर्णविन्याससम्बन्धी सिफारिस दूषित मनसायप्रेरित हुन सक्ने संवैधानिक धराप जिउँदै छ, जुन धराप जुनसुकै बेला प्रयोग हुन सक्छ । त्यसका लागि नेपाली भाषाका प्रयोक्ता नै सजग हुन जरुरी छ ।

असार २४, २०८१

सविता विमली

Taking apartheid politics out of court

पाठ्यक्रम विकास केन्द्रको प्रस्तावका आधारमा तह–तहबाट टिप्पणी उठाई तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ मा सदर गरेको नेपाली भाषाको वर्णविन्यास परिवर्तनको निर्णयविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले २०७३ भदौ २४ मा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

त्यस रिटको अन्तिम आदेश यही असार ९ मा आएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले गरेको आदेशको पूर्णपाठ आउन बाँकी छ तर हाललाई जारी संक्षिप्त आदेशअनुसार तत्कालीन शिक्षामन्त्री शर्माले सदर गरेको नियम बदर भएको छ । 

सर्वोच्चको आदेशमा भाषालाई कुनै देशको संविधान वा कानुन वा नीति नियम निर्माण भए गरेजस्तो तवरले राज्य वा सरकारको कुनै अंगले निर्णय गरेर जारी गरेको जस्तो विषयका रूपमा लिन नमिल्ने भनिएको छ । भाषा मानव विकासको क्रमसँगै विकसित र परिवर्तित हुँदै आएको तथा भाषाको उत्पत्ति, विकासक्रम, भाषाको व्याकरण, भाषाविद्हरूले अध्ययन, चिन्तन खोज गर्ने विषय भएको आदेशमा उल्लेख गरिएको छ । यस्तै, न्यायको रोहमा अदालतले भाषाको उत्पत्ति र विकासको इतिहास, दर्शन तथा व्याकरण यस्तो हुनुपर्छ वा यसैगरी भएको हो, भाषाको कथ्य र लेख्य व्याकरण यस्तो हो वा हुनुपर्छ भनी विवाद निरूपणको विषय बनाउन नमिल्ने पनि भनिएको छ ।

वर्णविन्यास नेपाली भाषाको भाषिक शुद्धता र व्याकरणको विषय भएको, वर्णविन्यास र शैली परिवर्तनले भाषाको व्याकरण नै परिवर्तन हुने अवस्था रहेको, वर्णविन्यास र शैली परिवर्तनले हाल प्रचलित भाषाको भाषिक शुद्धता र भाषा सम्प्रेषणमा नै प्रत्यक्ष प्रभाव पर्ने पनि आदेशमा उल्लेख छ । यस्तै, मानव शरीरमा स्नायु प्रणाली जति संवेदनशील हुन्छ, भाषामा वर्णविन्यास र व्याकरणका नियम पनि त्यति नै संवेदनशील हुने, वर्णविन्यास फरक पर्दा भाषिक सम्प्रेषणमा तात्त्विक फरक पर्न जाने तथा भाषाको वर्णविन्यासको प्रश्न पाठ्यक्रम र पाठ्यपुस्तकसँग मात्र सम्बन्धित विषय हो भनी मान्न नमिल्ने सर्वोच्चको ठहर छ । वर्णविन्यास र शैली परिवर्तनले नेपाली भाषाको अध्ययन, अध्यापन, पाठ्यक्रम र पाठ्यपुस्तकलाई मात्र प्रभाव पर्ने नभई नेपाली भाषाको समग्रतालाई प्रभाव पर्ने पनि सर्वोच्चको निष्कर्ष छ । 

समाजमा बोलिने जीवित भाषाको मानकीकरण हुँदै जानु स्वाभाविक प्रक्रिया हो । मानक भाषा बोलिने समुदायमा स्वाभाविक वा प्राकृतिक रूपमा विकसित हुने भाषिक सम्पन्नतालाई ‘अ डिक्सनरी अफ लिङ्ग्विस्टिक्स एन्ड फोनेटिक्स’ ले मानकीकरण भनेको छ । सम्बन्धित भाषाको कुनै भाषिक भेदको हिज्जेमा सुधार, व्याकरण निर्माण, शब्दकोश निर्माण, मान्यता तथा प्रचारप्रसारसम्मको प्रक्रिया मानकीकरण हो । यो सर्वमान्य र स्वीकार्य भने हुनैपर्छ । 

ईशापूर्व चौथो शताब्दीका वैयाकरण पाणिनिको व्याकरण लेखनबाट संस्कृत भाषामा मानकीकरणको प्रक्रिया प्रारम्भ भएको मानिन्छ । पश्चिममा चाहिँ युरोपबाट पन्ध्रौं शताब्दीको पुनर्जागरणकालबाट भाषिक मानकीकरण सुरु भएको मानिन्छ । भाषाविज्ञानका क्षेत्रमा मानक भाषासम्बन्धी अवधारणा पहिलो पटक भाषावैज्ञानिक फर्डिन्यान्ड डी सोसुरको भाषा तथा वाक्सम्बन्धी अवधारणामा व्यक्त भएको मानिन्छ । उनको यस भाषिक मान्यतामध्ये भाषासम्बन्धी व्यक्त धारणा नै मानक भाषासम्बन्धी व्यक्त गरिएको प्रथम आधुनिक धारणा मानिन्छ । मानक भाषासम्बन्धी काम गर्ने पहिलो भाषिक सम्प्रदाय भने प्राग हो । यस सम्प्रदायका भी मेथेसियसले सन् १९३२ मा ‘मानक भाषामा स्थिरताको आवश्यकता’ शीर्षकमा लेख लेखेर यससम्बन्धी धारणा व्यक्त गरेका थिए । 

नेपाली भाषाको लेख्य मानकीकरणको पहिलो सचेत प्रयास विसं १९६० को दशकमा राममणि आ.दी.ले सुरु गरेको हलन्त बहिष्कार आन्दोलन हो । यसरी हेर्दा नेपाली भाषाको वर्णविन्यास परिवर्तन गर्ने कार्य पनि मानकीकरणकै प्रयास हो भन्ने तर्क यसका कर्ताहरूको छ । त के यो प्रयास सर्वमान्य तथा स्वीकार्य थियो त ? कि यो कार्य कुनै अमूक पक्षले एकपक्षीय रूपमा लादेको थियो ? यसमा कस्ता स्वार्थ समूहको कस्तो भूमिका रह्यो ? र यो भूमिका कहाँसम्म आइपुग्यो ? यस्ता प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ । 

नेपालीको लेख्य मानकीकरणको पछिल्लो प्रयास पाठ्यक्रम विकास केन्द्र सानोठिमीले विसं २०६३ मा तयार पारेको ‘सम्पादन प्रकाशन शैली पुस्तिका’ सम्म आइपुग्दा विरोधको स्वर खासै सुनिएको देखिँदैन । केन्द्रले शैली पुस्तिका परिमार्जनका लागि २०६७ मा पाँच सदस्यीय कार्यदल बनायो । त्यही कार्यदलको सिफारिसमा वर्णविन्यास परिवर्तन गरिएको भनिएको छ । र, यो निर्णय अतिशय विवादित बन्यो । शैली पुस्तिका बनेको चार वर्ष नबित्दै त्यस्तो के परिवर्तन गरिहाल्नुपर्ने थियो र कार्यदल बनाइयो ? कार्यदललाई के–कस्तो कार्यादेश दिइएको थियो ? यसमा कुनै राजनीतिक उद्देश्य पनि थियो कि ? 

यही सन्दर्भमा एउटा अनुभव साझा गर्न चाहन्छु । २०७६ कात्तिकको तेस्रो साता त्रिवि केन्द्रीय नेपाली विभागले भर्खरै सुरु हुन लागेको चारवर्षे स्नातक तहको पहिलो वर्षको ऐच्छिक नेपाली विषयको अभिमुखीकरण कार्यक्रम राख्यो । आधुनिक नेपाली आख्यान विषयक अभिमुखीकरणमा विभाग प्रमुख कृष्णप्रसाद घिमिरेले आधुनिक नेपाली आख्यानको कालविभाजनको उत्तरवर्ती चरणको चर्चा गर्ने क्रममा २०५२ साल टर्निङ प्वाइन्ट भएको बताए । २०५२ साल नेपाली आख्यानको टर्निङ प्वाइन्ट कसरी बन्यो ? म यसको जवाफ सुन्न चाहन्थें । विभाग प्रमुखसँग यसको उत्तर थिएन । उनी चुपचाप बसे । 

कुनै आधिकारिक शोध एवं कुनै विशेष आख्यान कृतिको प्रकाशनबिना नेपाली आधुनिक आख्यानको विकासक्रममा कसरी २०५२ साल भित्रियो त ? यसको जरा विश्वविद्यालयका पदाधिकारी हुँदै माओवादी केन्द्रसम्म पुग्ने रहेछ । माओवादी कोटामा शिक्षाध्यक्ष भएकी नेपालीकी प्राध्यापक सुधा त्रिपाठी र उनैको सशक्त हस्तक्षेपपछि विभागका वरिष्ठ प्राध्यापकहरूलाई पन्छाउँदै प्रमुख बनेका घिमिरे र उनको समूहले २०५२ साललाई त्रिविविको पाठ्यक्रममा कहाँ–कहाँ स्थापित गर्ने प्रयास गरे भन्ने बिस्तारै खुल्दै जाला । 

२०६२/६३ को राजनीतिक परिवर्तनपछि माओवादीको सत्ता यात्रा सुरु हुनु, २०६३ को ‘सम्पादन प्रकाशन शैली पुस्तिका’ बिनाकारण प्रकाशनको एकाध वर्षमै परिमार्जन गरिनु र त्यसलाई नयाँ वर्णविन्यासले प्रतिस्थापन गर्न राज्यका सम्पूर्ण शक्ति र निकायको प्रयोग गरिनु, सरोकारवाला निकायमा कम्युनिस्ट आस्थाका मानिसको वर्चस्व रहनु र माओवादी नेतृत्वकै सरकारमा माओवादीकै शिक्षामन्त्रीले त्यसलाई सदर गर्नु, के यी सबै सामान्य संयोग मात्र थिए त ? माओवादीले संस्कृत भाषाबाट जन्मिएर विकसित भएको र अधिकतम शब्द संस्कृत भाषाबाट सापटी लिएर बाँचिरहेको नेपाली भाषालाई बिगार्न हरसम्भव प्रयास गर्‍यो भन्दा अत्युक्ति नहोला । यसमा प्रगतिशील खेमाका शिक्षक, प्राध्यापक, भाषाशास्त्री, प्राज्ञ, कर्मचारी सहयोगी बने र केही त माओवादी पार्टीर्मा समाहित भए । 

म बाँचुन्जेल उथलपुथल भइरहन्छ भन्ने सुप्रिमो प्रचण्डले हाँकिरहेको पार्टीका कार्यकर्ताले भाषा र वर्णविन्यासमा मच्चाएको उथलपुथललाई तिनै सुप्रिमो राज्यको कार्यकारी भएको समयमा सर्वोच्च अदालतले साम्य बनाएको छ । तर यो उथलपुथल फेरि पनि संविधानमै व्यवस्था भएको भाषा आयोगको बाटो भएर भाषा र वर्णविन्यासमा आइपुग्न सक्छ । किनकि यो वर्णविन्यास बदल्न प्रत्यक्ष–अप्रत्यक्ष भूमिका खेल्नेहरू भाषा आयोगमा यसको स्थापनाकालदेखि नै छन् । 

संवैधानिक आयोगका रूपमा रहेको भाषा आयोगमार्फत वर्णविन्यासको सिफारिस आउनुपर्ने भनी आदेशमा भनिए पनि भाषा आयोग कस्तो आयोग हो भन्दा पनि आयोगमा पदाधिकारीका रूपमा कस्ता मानिस छन् त भनेर हेर्नुपर्ने हुन्छ । आयोगका प्रथम अध्यक्ष लवदेव अवस्थी हुन्, जो अदालतबाट हालै खारेजीमा परेको तत्कालीन शिक्षामन्त्रीको आदेशको विवरण तयार पार्ने शिक्षा मन्त्रालयका सहसचिव थिए । माओवादीका तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बनेका केही व्यक्ति भाषा आयोगमा सदस्य छन् । पाठ्यक्रम विकास केन्द्र, विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान, भाषा आयोग सबै ठाउँमा माओवादीप्रति प्रतिबद्ध कार्यकर्ता छन् । प्रज्ञा प्रतिष्ठानले २०६७ मा भाषिक संगोष्ठी गर्दा, शब्दकोशको वर्णविन्यास परिवर्तन गर्दा प्राज्ञ परिषद् सदस्य रहेका यिनै व्यक्तिहरूले पुरानै वर्णविन्यासलाई निरन्तरता दिने सन्दर्भमा कस्तो राय देलान् ? 

भाषा आयोगको सिफारिसलाई मान्नुपर्ने संवैधानिक प्रावधान छ, जसलाई सर्वोच्चको आदेशले पनि सम्झाएको छ, । उक्त प्रावधानको मर्मबमोजिम आयोगका पदाधिकारीले वर्णविन्यासका सम्बन्धमा काम गर्छन् नै भन्न सकिने अवस्था छैन । यिनै पदाधिकारीमार्फत वर्णविन्यास परिवर्तन गर्न लाग्ने समूहले आफ्नो स्वार्थ सिद्धका लागि भगीरथ प्रयत्न अवश्य गर्नेछन् । जुन बाटाबाट आए पनि भाषासँग सम्बन्धित जस्तोसुकै सिफारिस वैध हुने संवैधानिक, कानुनी प्रावधान दुरुपयोग हुने अधिकतम सम्भावना छ । वर्णविन्यास परिवर्तनको विपक्षमा अदालत उभिए पनि भाषा आयोगबाट नेपाली वर्णविन्याससम्बन्धी सिफारिस दूषित मनसायप्रेरित हुन सक्ने संवैधानिक धराप जिउँदै छ, जुन धराप जुनसुकै बेला प्रयोग हुन सक्छ । त्यसका लागि नेपाली भाषाका प्रयोक्ता नै सजग हुन जरुरी छ । 

सविता विमली अधिवक्ता हुन् ।

Link copied successfully