कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

जेलका साथी, बाहिर अपराधी

सन्तोष सिंह

धनुषा — कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय माफी भएर २०७९ को संविधान दिवसमा छुटेका एक व्यक्ति फेरि गोली प्रहार गरी लुटपाट गर्ने संगठित अपराधको योजनाकारकोरुपमा पक्राउ परेका छन् ।

जेलका साथी, बाहिर अपराधी

प्रहरीले धनुषाको सबैला नगरपालिका–९ का शशी शंकर कापरलाई पक्राउ गरेको हो । उनी असल चालचलन रहेको भन्दै २०७९ को संविधान दिवसमा सजाय माफी पाएर छुटेका थिए । तर उनको जन्मकैद सजायमध्ये ११ वर्ष ७ महिना जेल सजाय मिनाहा भएको थियो । तर सजाय मिनाहा पाएर छुटेको दुई वर्ष नपुग्दै उनी संगठित अपराधको योजनाकारकोरुपमा पक्राउ परेका हुन् ।

उनलाई उच्च अदालत जनकपुरको २०७४ चैत ४ गतेको फैसलाले २१ वर्ष ६ महिना सजाय तोकेको थियो । ९ वर्ष १० महिना कैद भुक्तान गरेका कापरलाई २०७९ असार ३ गते जलेश्वर कारागारले चालचलन ठिक रहेको भन्दै रिहा गर्न संविधान दिवसको अवसरमा सिफारिस गरेको थियो ।

जलेश्वर कारागारको सिफारिसमा ११ वर्ष ७ महिना ९ दिन सजाय मिनाहा भए छुटेका कापर गौशाला–११ का ३८ वर्षीय विनय कुमार सिंहलाई गोली प्रहर गरी सुनको सिक्री लुटपाट गरेको आरोपमा पक्राउ परेका हुन्।

कर्तव्यज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय पाएका कापर २०९१ फागुन १ गते सम्म जेलमा बस्नु पर्ने थियो । कापरले ४५.९७ प्रतिशत मात्रै सजाय भोगर ५४.०३ प्रतिशत सजाय माफी पाएका थिए । कारागारबाट रिहा हुनासाथ कापरले अपराधी गिरोह चलाएर अपराधमा सक्रिय भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार कापरसंगै एकडारा गाउँपालिका हलखोरी बजारमा रहेको किराना पसलमा डाका गर्न गएको आरोपमा महोत्तरी औरही नगरपालिका–१ का सुनिल कुमार यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

डाका आरोपमा पक्राउ परेका यादव चोरी तथा डाका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर करागारबाट २०७९ फागुन ७ गते रिहा भएका थिए । जलेश्वर कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका शशी शंकर कापर र चोरी तथा डाका मुद्दामा सजाय भोगिरहेका सुनिल यादवको चिनाजानी त्यही कारागारमा भएको थियो । कारागारमा बढेको उनीहरुको मित्रता बाहिर आएपछि संगठित अपराधको जग बनेको छ ।

महोत्तरीमा पछिल्लो समय भएका ५ लुटपाट तथा गोली प्रहारका घटनामा करागारबाट रिहा भएर आएका दुबै जनाको संलग्ता पाइएको प्रहरीले जनाएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका–२ बिग्ही खोलाको बगरमा २०८१ असार २ गते चेकजाँचको क्रममा कटुवा पेस्तोल र ४ राउण्ड गोली सहित सुनिल कुमार यादव, आशिस कुमार कण्ठ, मुखचन्द्र दास तत्मा पक्राउ परेपछि महोत्तरीमा लगातार भइरहेको लुटपाट र गोली प्रहार घटनामा संलग्नहरुको पहिचान भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

'हतियारसहित पक्राउ परेका ३ जनासँग सोधपुच्छ गरी अनुसन्धान गर्दा कपडा व्यवसायीलाई लुटपाट, माछा व्यवसायीलाई लुटपाट, सहकारीको कर्मचारीबाट नगद लुटपाट, किराना पसलमा डाका, गोली प्रहार गरी सुनको सिक्री लुटपाटमा एउटै गिरोह संलग्न भएको पाइयो,' प्रहरी उपरीक्षक पोखरेलले भने, ‘करागारबाट रिहा भएपछि प्रहरीसंग राम्रो सम्बन्ध बनाएर वरिपरि बस्ने र लुटपाट गर्दै आएको अनुसन्धानमा देखिन्छ ।’

उनका अनुसार चोरीको एउटै मोटरसाइकल र एउटै हतियर पनि पटक-पटक लुटपाटमा फरक-फरक अपराधीले प्रयोग गरेको अनुसन्धानमा देखिएको छ। करागारबाट रिहा भएका शशी शंकर कापरले लुटपाटको योजना बनाउने र श्रवण कापर, राजाबाबु यादव, सुनिल यादव, मुखचन्द्र दास तत्मा, आशिष कण्ठले लुटपाट गर्दै आएका प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २१, २०८१ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×