कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले बुझायो स्पष्टीकरण

विनय आजाद

सिरहा — सिरहाको मिर्चैयामा अवस्थित मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले सीटीईभीटीलाई स्पष्टीकरण बुझाएको छ । क्याम्पसले आइतबार स्पष्टीकरण बुझाएको हो । क्याम्पसले विद्यार्थीसँग अवैध रूपमा विभिन्न बहानामा रकम असुली गर्दै आएको विषय कान्तिपुरले खुलासा गरेपछि सीटीईभीटीले क्याम्पसलाई बिहीबार स्पष्टीकरण सोधेको थियो ।

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले बुझायो स्पष्टीकरण

सीटीईभीटीको मधेश प्रदेश कार्यालय, जनकपुरधामले क्याम्पसलाई यस सम्बन्धमा तीन दिनभित्र जवाफ दिन भनेको थियो । जसअनुसार, आइतबार बेलुकी स्पष्टीकरण आएको र अब यसको 'भेरिफाई' गर्ने काम हुने सीटीईभीटीले जनाएको छ ।

'क्याम्पसले स्पष्टीकरण बुझाएको छ, स्पष्टीकरणमा त स्वाभाविक रूपमा उसले आफ्नो बचाउ गर्ने नै भयो,' सीटीईभीटीका मधेश प्रदेश प्रमुख नागेन्द्र साहले कान्तिपुरसँग भने, 'तर, अब हामी भेरिफाई गर्छौं ।'

उनका अनुसार, सीटीईभीटीको टोली स्थलगत आएर समाचारमा आएका प्रमाणहरूलाई टेकेर अनुगमन गर्ने र ८-१० दिनमा प्रतिवेदन तयार गरी सीटीईभीटीको केन्द्रीय कार्यालयलाई पठाइनेछ । त्यसको आधारमा सीटीईभीटीले आगामी कदम चाल्ने उनले बताए । 'हामीले प्रतिवेदन बुझाउँछौं, त्यसपछि केन्द्रले त्यसको आधारमा कदम चाल्छ,' उनले भने, 'प्रदेशसँग कारवाही गर्ने अधिकार छैन ।'

क्याम्पसमा तीन वर्षे नर्सिङमा पहिलो र दोस्रो वर्षमा गरी ७८ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूसँग क्याम्पसले कक्षा शुल्कदेखि छात्रावास र प्रयोगात्मक अभ्यासलगायतका नाममा मनपरी रूपमा लाखौं रकम असुलेको घटना कान्तिपुर टिभी र कान्तिपुरले पर्दाफास गरेको थियो ।

प्रकाशित : असार १७, २०८१ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×