कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विशेष आर्थिक क्षेत्रका उद्योगीका गुनासै गुनासा

भैरहवा — मुलुककै पहिलो निर्यातमुखी परियोजना भैरहवा विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा उद्योग स्थापना र संचालन गर्नका लागि कठिनाइको सामना गर्नु परेको सम्बद्ध उद्योगीले गुनासो गरेका छन् । 

विशेष आर्थिक क्षेत्रका उद्योगीका गुनासै गुनासा

सेजमा सञ्चालन हुने उद्योगका लागि उपलब्ध गराउने भनिएको सेवा सुविधा उपलब्ध गराउन सरकारीस्तरबाट गरिएको प्रतिबद्धता दुई दशकसम्म पूरा नभएको र अन्य पूर्वाधार उपलब्ध नहुँदा उद्योग संचालनमा कठिनाइ भइरहेको व्यवसायीको भनाइ छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले बुधबार भैरहवामा आयोजना गरेको सेजभित्र उद्योग स्थापना तथा संचालन र प्रवर्द्धनसम्बन्धी अन्तरक्रियामा सहभागीले यस्तो गुनासो गरेका हुन् ।

भैरहवा विशेष आर्थिक क्षेत्रमा विद्यमान समस्या पहिचान गरी प्रभावकारी रुपमा संचालनका लागि उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । ‘सेजमा उद्योग संचालन गर्दा धेरै दु:ख पाइयो,’ भैरहवा सेजमा संचालित पञ्चकन्या एसएस प्रालिका महाप्रबन्धक देवेन्द्र साहुले भने, ‘उद्योग स्थापना गर्दा बत्तिको समेत सुविधा नभएकाले बाहिरबाट जेनेरेटर ल्याएर काम गर्नु पर्‍यो । अहिलेसम्म पनि बत्तिको भरपर्दो व्यवस्था हुन सकेको छैन ।’

सरकारले प्रतिबद्धता जनाएअनुसार सेवा सुविधा नपाइएकाले सेजमा उद्योग स्थापना गरेकोमा पछुतो लाग्न थालेको उनले बताए । उनका अनुसार, सेजमा उद्योग संचालन गर्दा धेरै झन्झट बेहोर्नु परेकाले धेरै व्यवसायीले सेजबाट बाहिर गएर उद्योग संचालन गर्न थालेका छन् ।

भैरहवा सेजमा फर्नेस आयल उत्पादनका लागि उद्योग संचालनको तयारी गरिरहेका व्यवसायी अजयमान श्रेष्ठले सेजमा उद्योग संचालन गर्ने व्यवसायीका लागि दर्तादेखिका आवश्यक सबै प्रक्रियाका लागि सेज सञ्चालन ऐनमा एकद्वार प्रणालीको व्यवस्था भनिए पनि त्यसअनुरुप कुनै पनि सेवा उपलब्ध हुन नसकेको बताए । ‘मैले उद्योग स्थापना गर्न लागेको छ महिनाको अवधिमा आठ पटकसम्म काठमाडौं धाउनु पर्‍यो,’ श्रेष्ठको गुनासो थियो, ‘वेभसाइटमा सेजमै उपलब्ध छ भनेर उल्लेख गरिएका सुविधा लिन पनि वडा कार्यालय, भन्सार, बैंक, विद्युत् लगायतका निकायमा धाउनु पर्ने बाध्यता छ ।’

मुलुकमा पहिलो पटक बनेको भैरहवा विशेष आर्थिक क्षेत्रलाई नमुना सेजको रुपमा सरकारले लिएको छ । ५२ बिघा क्षेत्रफलमा रहेको भैरहवा सेजमा उद्योग संचालनका लागि १ हजार ५ सयदेखि ३ हजार २ सय वर्गमिटरका ६९ वटा प्लट छन् । १ अर्ब रुपैयाँको हाराहारीको लगानी भएको भैरहवा सेज पूर्ण्रुपमा सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । भैरहवा विशेष आर्थिक क्षेत्र आव २०५६/०५७ देखि स्थापनाको कार्य अघि बढेको हो । भैरहवा सेजमा हाल ८ वटा उद्योगले उत्पादन, ३ वटा निर्माणाधीन, ७ वटा उद्योग निर्माणका लागि सम्झौता गरेको र ८ वटाले प्लट बुक गरी सम्झौताको तयारी गरेका छन् ।

सेजमा एकद्वार प्रणालीसहित बन्द, हडताल निषेध, बैंक, बिमा कम्पनी, २४ सै घण्टा उपलब्ध हुने विद्युत् डेडिकेटेड लाइन, खानेपानी, उत्पादित वस्तुको प्रदर्शनी हल, सेमिनार हल, चाइल्ड केयर सेन्टर, विद्यालय, हुलाक, स्वास्थ्य चौकी, मनोरञ्जन स्थललगायतका सुविधा उपलब्ध हुनु पर्ने प्रावधान छ ।

भैरहवा सेजमा निर्माणाधीन तथा संचालनमा रहेका अन्य व्यवसायीले पनि सेजमा संचालन गर्ने उद्योगले कच्चा पदार्थको आयातमा भन्सार छुटको सुविधा नपाएको, भूमि शुल्क धेरै लागेको, सेज, उद्योग मन्त्रालय, भन्सार तथा अर्थ मन्त्रालयबीच आपसी समन्वय हुन नसक्दा व्यवसायीले सास्ती पाउने गरेको र भैरहवा सेजमा विद्युत्, दानेपानी, फोहर फ्याक्ने स्थानको अभाव, जीर्ण सडक, सुरक्षाजस्ता पूर्वाधार उपलब्ध हुन नसकेको बताए ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुलसीराम मरासिनीले भैरहवा सेजमा व्यवसायीले भोग्नु परेका कठिनाइ पहिचान गरी समस्या समाधानका लागि प्राधिकरणले पहल गर्ने बताए । ‘भैरहवा सेजमा व्यवसायीको आकर्षण बढेकाले सेजमा उपलब्ध जमिनको सबै प्लट गइसकेका छन्,’ मरासीनीले भने, ‘सेज प्राधिकरणबाट समाधान हुन सक्ने समस्या तत्कालै र नीतिगत रुपमा सुधार गर्नु पर्ने समस्यालाई मन्त्रालयसमक्ष लगेर व्यवसायीका समस्या समाधान गरिने छ ।’

राष्ट्रिय योजना आयोगका सहसचिव हेमराज सुवेदीले भैरहवा सेजमा विद्यमान समस्या समाधानका लागि आयोगले पनि पहल गर्ने बताए । ‘उद्योगीका पीडा सुन्दा तत्काल समाधान गर्नुपर्ने धेरै छन्,’ सुवेदीले भने, ‘यहाँ समाधान नहुने माग केन्द्रमा सहजीकरण गरेर भए पनि पूरा गरिनुपर्छ, उद्योग सञ्चालनको वातावरण बन्नुपर्छ ।’

प्रकाशित : असार १९, २०८१ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×