कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

वीरगन्जका सहकारीले लगेनन् कोटाको मल

शंकर आचार्य

पर्सा — रोपाइँ सिजन सुरु भइसक्दा वीरगन्ज महानगरकै अधिकांश वडाका सहकारीले कृषि सामग्री कम्पनी वीरगन्जबाट कोटाको मल लगेका छैनन् । मौज्दात पर्याप्त रहेको अवस्थामा महानगरकै सहकारीहरुले आफ्नो कोटाको मल लैजान रुचि नदेखाउँदा मलको अभाव रहेको हल्ला फैलिएको कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले गुनासो गरे ।

वीरगन्जका सहकारीले लगेनन् कोटाको मल

‘बजारमा कम्पनी र साल्ट ट्रेडिङ्गले मल दिएन भनेर नकारात्मक हल्ला छ,’ उनले भने, ‘तर एउटा होइन ३ वटा लटको कोटाको मल महानगरकै बिभिन्न वडाका सहकारीले लग्न रुची देखाएका छैनन् ।’

पाण्डेका अनुसार, वडा १५, १६, १९, २१, २६, २७, ३१ र ३२ का सहकारीहरुले अझै पनि डिएपि, पोटास र युरिया मल लैजाने प्रक्रिया नै अघि बढाएका छैनन् । यी वडा महानगरका ग्रामीण बस्ती हुन् । प्रत्येक वडामा मल वितरणको जिम्मेवारी लिएका १/२ वटा सहकारी सक्रिय छन् ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले यसअघिनै २ पटक डिएपि, १ पटक पोटास र १ पटक युरियाको कोटा निर्धारण गरिसकेको छ । ‘भारत तथा तेस्रो मुलुकबाट मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा स्थानीय तहका सहकारीहरुलाई कोटा निर्धारण गर्ने गरिन्छ, वीरगन्जको हकमा महानगरपालिकाको कार्यालयले मातहतका वडाका सहकारीहरुलाई कोटा निर्धारण गर्छ,’ उनले भने, ‘तर ४ वटा कन्साइन्मेन्टको मलमा कोटा निर्धारण भइसक्दा पनि सहकारीहरुले मल लग्न रुचि देखाएका छैनन् ।’

जेठ २० यता महानगरपालिकाको कार्यालयले डिएपिको २ पटक, पोटासको एक पटक र आइतबार युरियाको गरी ४ पटक कोटा निर्धारण गरिसकेको पाण्डेले बताए ।

यस अवधिमा ग्लोबल टेण्डरबाट मल आपूर्तिको ठेक्का पाएको आदित्य बिरला ग्रुपले २० हजार टन डिएपी, भारतको इन्डियन पोटास लिमिटेडले २५ हजार टन डिएपि, सन ग्रुपले ३० हजार टन युरिया र आइपिएललेनै १० हजार टन पोटास मल ल्याइसकेको पाण्डेले बताए ।

मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा यसरी सहकारीहरुलाई कोटा निर्धारण गर्ने परिपाटी रहेको छ । आइपिएलकै अर्को कन्साइन्मेन्टको ३० हजार टन युरिया भित्रिने क्रममा छ । युरिया बोकेर आएको पहिलो रेल्वे र्‍याक सोमबार रक्सौल रेल्वे स्टेशनमा आइपुगेको पाण्डे बताउँछन् ।

त्यसैगरी, नेपालले भारतसँग जिटुीज प्रक्रियाबाट खरिद गरेको २५ हजार टन डिएपि कोलकाता बन्दरगाहबाट नेपाल आउन तयारी अवस्थामा रहेको उनले बताए । यसबाहेक अर्को कन्साइन्मेन्टबाट आइपिएलले थप २५ हजार टन डिएपि मल ल्याउन लागेको र हाल यो समुन्द्री मार्गमा रहेको पाण्डेले बताए ।

यी कन्साइन्मेन्टका मल भित्रिए लगत्तै पुनः नयाँ कोटा निर्धारण समेत हुन थाल्ने उनले बताए । कम्पनीसँग मधेश प्रदेशमा हाल ९ हजार १ सय ७२ टन युरिया, २ हजार १ सय ६८ टन डिएपि र २ हजार ६ सय टन पोटास मौज्दात रहेको पाण्डेले जानकारी दिए । डिएपि र युरिया थप भित्रिने क्रममा रहेकाले जारी बर्षे धान बाली सिजनमा मलको अभाव नहुने दाबी पनि पाण्डेले गरे ।

प्रकाशित : असार १७, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×