कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

रासस

पाटन — ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

'स्थानीय र गुठियारको विरोधपछि मिचिएको जग्गामा बनेको पर्खाल भत्काउन महानगरले आदेश दिएको थियो, उक्त आदेश अटेर गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा सुमित्रा अमात्य र दिवस अमात्यको घरको कम्पाउण्ड पर्खाल आज दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो', प्रवक्ता महर्जनले भने ।

चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए । 'वडा नं १० चाकुपाटमास्थित तःननी, चाबा, मिखाबहाल र अमात्य गुठी मिचिएको जग्गामा बनेको संरचना आज हामीले डोजर लगाएर भत्कायौँ । हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरूले भत्काउनुभएन, गुठियारले धेरै आग्रह गरेपछि आज डोजर नै चलाउनुप-यो', नगरप्रमुख महर्जनले भने ।

गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहानाबमोजिम मात्र काम हुने उनले जानकारी गराए । 'हामी समयसापेक्ष कार्यान्वयन गर्न लागिपर्नेछौँ, सार्वजनिक, पर्ती जग्गा संरक्षण गर्नेगरी महानगरको नगरसभाबाट निर्णयसमेत भएको छ । चार पाँच वटा गुठीको भोज गर्ने स्थानलाई तहसनहस पार्न खोजिएकाले भत्काइदिएका हौँ”, उनले भने ।

पाटनका स्थानीय तथा गुठियार कुलाल डंगोलले अमात्यहरुको दुईतले भवन भएको ठाउँ भत्काएर अतिक्रमण गरिएको बताए । 'पटक-पटक स्थानीयलाई दुःख दिएर गुठीको जग्गा दुरुपयोग गर्न खोजिएको र स्थानीय सरकारलाई लत्याएर गरिएको कामको विरोध गरेका हौँ', डंगोलले भने ।

तःननी गुठीका गुठियार सुरेशमान महर्जनले गुठीकै आग्रहमा महानगरले संरचना भत्काउने काम गरेको जानकारी दिए । 'त्यो सार्वजनिक जग्गा भए पनि गुठीका नाममा लालपुर्जा बनिसकेको छ । कित्ता नं ३१६ मा देवाली गुठीका नाममा चार रोपनी जग्गा छ', उनले भने ।

प्रकाशित : असार १९, २०८१ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×