लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।
बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ ।
मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशभरको मौसममा अझै तीन दिन आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिणपूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन ‘हेर्दाहेर्दै’ मा आगामी माघ ११ गते सुनुवाइ हुने भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड—१९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।