एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती सामान्य अवस्थामा आवश्यक पर्नेजति नै ग्यास आइरहेकाले समस्या नहुने बताए ।
चितवन — नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । 'पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ,' उनले भने । उनका अनुसार उपभोक्ताहरुले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो । उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने उनले बताए ।
एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरुले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउँछन् । सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ ।
हाल बजारमा एक करोड ५० लाख थान सिलिन्डर छन् । जसमध्ये ५० लाख सिलिन्डर ग्यास डिपोसँग छन् । हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् ।
