गुलरिया बजारमा धेरै अटो भइसकेकाले त्यति कमाइ छैन । बजारमा दिनभरि फनफनी अटो कुदाउँदा छिटफुट यात्रु भेटिहाल्छन् । दिनमा ५/६ सय कमाइ हुन्छ ।
चैत्र ११, २०८२
सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ ।
चैत्र १०, २०८२
गाउँमा हुँदा तामाका भाँडाकुँडा बनाउने काम राम्रो चल्थ्यो । विशेष गरी मन्दिरका सामग्री, दियो, कलश, पूजा गर्ने भाँडा बनाउने अर्डरहरू आउँथे । त्यसबेला तामाको महत्त्व थियो । मान्छेहरूले संस्कार र धर्मसँग जोडेर हेर्थे । हामीले बनाएका सामग्री मन्दिरमा पुग्दा, पूजा–पाठमा प्रयोग हुँदा एउटा अलग्गै गर्व महसुस हुन्थ्यो ।
चैत्र ९, २०८२
मेरो उमेरका केटाकेटी झोला बोकेर, सफा लुगा लगाएर रमाउँदै स्कुल जान्छन् । म भने टाढैबाट त्यो सब हेरिबस्छु । म अहिले दिनको १२ घण्टा काम गर्छु । दिनभरि काम गरे एक हजार रुपैयाँ पाइन्छ । त्यसैले घरको गुजारा चलेको छ ।
चैत्र ८, २०८२
बेसीको खेतमा तरकारी लगाउने गर्छु । आज पनि बेसीमा फलाएको लसुनको मुठा बोकेर बजार डुलिरहेको छु । अहिले मेरो प्रमुख व्यापार यही हो । यसबाट ६० हजारजति कमाउने योजना छ ।
चैत्र ७, २०८२
छोराको मृत्यु भएको दिनदेखि अहिलेसम्म श्रीमतीको मानसिक अवस्था ठिक छैन । यस्तो दिन कसैको नआओस् । मलाई पनि घरमा बस्न मनै लाग्दैन् । चित्त बुझाउन म लठ्ठी बनाउने काठ खोज्न वनपाखा डुलिरहन्छु।
चैत्र ५, २०८२
महँगीको मार छ । यस्तो अवस्थामा घरखर्च पुर्याउनै गाह्रो हुन्छ । झन् आँखा नदेख्नेका लागि घरखर्च चलाउनु हत्ते नै हुँदो रहेछ । आयस्रोत छैन । काम गर्न सक्दिनँ । अनि अभाव कसरी टार्नू !
चैत्र ४, २०८२
मेरो पहिलो इच्छा भनेको पैसा कमाएर घरको ऋण चुक्ता गरेर ‘टेन्सन फ्रि’ हुने हो । यति भयो भने म आफ्ना इच्छा–आवश्यकता पूरा गर्छु जस्तो लाग्छ । मलाई घुमफिर गर्न साह्रै मन पर्छ । छ/सात वर्षका लागि एउटा लक्ष्य निर्धारण गरेर काम गरिरहेको छु । त्यसपछि नेपाल भ्रमण गर्छु होला ।
फाल्गुन १३, २०८२
आरनमा मैले जानेको सीपअनुसार हँसिया, बन्चरो, कोदालो, दाउ, खुकुरी, खुँडा र खुर्पा लगायतका सामग्री बन्छन् । सस्तोमा चार सय रुपैयाँदेखि महंगोमा पाँच हजारसम्मका सामग्री बेच्छु । यसैबाट मेरो खर्च चल्छ ।
फाल्गुन १२, २०८२
'अहिले कपाल काट्ने सीपले आफू पनि स्वरोजगार भएको छु र अरूलाई पनि बनाएको छु । हालसम्म १५ जना बढीलाई कपाल काट्न सिकाएको छु । पहिला बेरोजगार घुम्ने चेलाहरू यसै क्षेत्रमा आफूले सिकाएको सीप प्रयोग गरी स्वरोजगार बनेको देख्दा आत्मसन्तुष्टि मिलेको छ ।'
फाल्गुन १०, २०८२
धेरैदिन चाडपर्व मनाउँछु भन्ने सोच्यो भने फेरि के खाने भन्ने चिन्ता भैहाल्छ । काम गर्न नगएर चाडपर्वमा धेरै दिन भुलेपछि त खाने पैसा हुँदैन । त्यही भएर पर्व पनि नापेर मनाउनुपर्छ ।
फाल्गुन ९, २०८२
मेरो पसलमा दिनहुँ सबै प्रकारका चियानास्ता खाने ग्राहाक आउँछन् । व्यवसायले मेरो आर्थिक अवस्था मात्रै सुधार गरेको छैन, जिल्लामा परिचय पनि बनएको छ । परिचय पनि एक प्रकारको सम्पत्ति रहेछ ।
फाल्गुन ८, २०८२
‘उद्योग सञ्चालन गरेको ८ वर्ष भयो । मैले सुरुवातमा बाँदर धपाउने बन्दुक बनाएर बिक्री गर्दा त्यो भरपर्दो नभएपछि त्योसँगै पानी घट्टलाई बिस्तार गरेर छिटो छरितो मकै, गहुँ, कोदो पिस्ने विद्युतीय घट्ट बनाएँ ।’
फाल्गुन ७, २०८२
यसपाली पनि किसानका समस्या समाधान गर्ने भन्दै उम्मेदवारले ‘ललिपप’ देखाइरहेका छन् । तर, सिँचाइ र मल खादको महँगीले मार खेपिरहेका हामी गरिब किसानले यसपटक ‘ललिपप’ देखाउनेभन्दा पनि काम गर्ने उम्मेदवार खोजिरहेका छौं ।
फाल्गुन ५, २०८२
दिनभरि बुढीले खोलाबाट बालुवा थुपार्ने र मैले बोरामा हालेर बोकेर बाटोमा पुर्याउँछु । एक बोराको ठेकेदारले ४० रुपैयाँ मात्र दिन्छन् । त्यही बालुवा बेचेको पैसाले बेलुका र बिहानको खाना पाक्छ । कहिलेकाँही बिरामी पर्छु । बालुवा उठाउन सकिन भने बुढाबुढीलाई खाने खर्च हुँदैन ।
फाल्गुन ४, २०८२
'हामी बुढा–बुढी, छोरा र छोरी गरेर ५ जनाको जहान छौं । वर्षमा १० वटा खसी बाख्रा पाल्दा हामीलाई घरखर्च पुगिरहेको छ ।'
फाल्गुन ३, २०८२
श्रीमान् र मेरो मिहनेतले एक जनाको बचत गर्न सक्दा ऋणधन गरेर घडेरी किन्ने, सानो भए पनि बास बनाउन सफल भइयो । यो सफलताले बिहान ७ देखि बेलुकी ७ बजेसम्म काममा खटिनुपर्दाको दुःख बिर्साउने गर्छ ।
फाल्गुन १, २०८२
बारीमा आलु, बन्दा, काउली, मुला बेचेर आएको पैसाले चामल, दाल, तेल किन्छौं । बिहान घरबाटै पसल आउँछु, बेलुका घरै फर्किन्छु । मेहनतको कमाइले साँझ परिवारसँगै खाना खान पाउँदा आनन्द लाग्छ । मेरो श्रमले घर चलेको छ, छोराहरूको भविष्य बन्दैछ ।
माघ २९, २०८२
श्रीमान् मिठु केसी ज्याला–मजदुरी गर्नुहुन्छ । काम पाएका दिन त उहाँको राम्रै कमाइ हुन्छ । नत्र खाली बस्नुपर्छ । त्यही भएर आफ्नै पसल बनाउने योजना बुँनियो ।
माघ २८, २०८२
साइकल मर्मत गर्न आउनेको कमी छैन । तर, आवश्यक सामान अभाव भएपनि साइकल बनाएर गुजारा चलाएको ४० वर्ष भइसक्यो ।
माघ २७, २०८२
कमाइ नभएको दिन साँझ र बिहान के खाने भन्ने चिन्ता हुन्छ । दैनिक ज्यालाकै पैसाले साँझ दाल, चामल किनेर ल्याएर पकाउँछु । छोराछोरी पनि साँझसम्म मेरै बाटो कुरेर बसेका हुन्छन् ।
माघ २६, २०८२
सासु–ससुरासित एक जोर चप्पल र चुरा किनिदिन कति अनुरोध गरें, तर कसैले सुनुवाई गरेनन् । जुत्ताचप्पल विनै जंगल जाने, घाँस दाउरा बोक्ने, ग्वाला जाने, खेतबारी जाने गरे । केही गरी जुत्ताचप्पल लगाउने अवस्था नआएपछि अब जीवनभर जुताचप्पल, चुरापोते र कुनै गहना लगाउँदिन भनेर कसमै खाए ।
माघ २५, २०८२
आफू बाँच्न राम्रोसँग काम गर्न पाए हुने जस्तो लाग्छ । तर, दम र शरीरका कारण धेरै हिँडडुल गर्न सक्दिन् । चिसो सहन पनि गाह्रो भइहाल्छ ।
माघ २४, २०८२
छोराछोरी बिरामी हुन्छन् । तर, उपचार गराउने पैसा हुँदैन । केटाकेटीहरु माछामासु खान रहर गर्छन् । के गर्नु, आफुसँग पैसा हुँदैन । छोराछोरीलाई पेटभरी खाना पनि दिन सकेको छैन ।
माघ २३, २०८२
जिमिजग्गा जोड्न नसके पनि छोराछोरी पढाउन पाएको छु । आफूलाई केही खान मन लागेमा किनेर खान पाएको छु । छोराछारीको इच्छा पूरा गर्न पाएको छु ।
माघ २२, २०८२
नेताहरुले मुलुकमै बसेर काम गर्ने, रोजगार मिलाउने, महंगी नियन्त्रण गरिदिने हो भने कति राम्रो हुने थियो । यसबारे कसैले सोच्दैनन् ।
माघ २१, २०८२
अब त नेताप्रति विश्वास लाग्नै छाड्यो । आफ्नो कामबाहेक नेताहरूको अघिपछि गर्न समय पनि छैन । बिहानै खेतमा जान्छु, त्यहाँबाट तरकारी टिपेर जिल्लाका लगभग सबै बजार–बजार डुल्छु ।
माघ २०, २०८२
एघार वर्षदेखि दुध बेच्न थालेको हुँ । पहिले ग्यालिनमा दुध हालेर डोकोमा बोकेर आउँथेँ । डेढ घण्टा पैदल हिँडेर दुध पुर्याएपछि फर्किन्थेँ । पछि सवारी साधनमा बोकेर हिँड्न थालेँ । सात वर्षजति भयो मोटरसाइकलमा दुध ओसारेर बेचिरहेको छु ।
माघ १९, २०८२
सुरुआतमा खाजा घर चिनाउन धेरै दुःख सहनु पर्यो । त्यही बेलाको संघर्षले अहिले सफलता मिलिरहेको महसुस भइरहेको छ । अचेल मेरो पसलमा चियाका पारखीको भीड नै लाग्छ ।
माघ १८, २०८२
कान्छो छोरा जन्मिएपछि हिँड्न नसक्ने भएँ । त्यसपछि श्रीमान् पनि नजिक पर्न छाडे । मेरो शरीर दिन प्रतिदिन कमजोर हुँदै गयो । छोरीले स्याहार गर्नुपर्ने अवस्था आएपछि घरमा खानेकुरा जुट्नै छाड्यो ।