छोराछोरी बिरामी हुन्छन् । तर, उपचार गराउने पैसा हुँदैन । केटाकेटीहरु माछामासु खान रहर गर्छन् । के गर्नु, आफुसँग पैसा हुँदैन । छोराछोरीलाई पेटभरी खाना पनि दिन सकेको छैन ।
What you should know
उदयपुर — श्रीमान् हुन्जेल जेनतेन परिवार चलेको थियो । अरुको काम गरेर भए पनि पैसा कमाएर घरमा सिठोपिठो पुर्याउनु हुन्थ्यो। अहिले त परिवारमा काम गर्नसक्ने कोही छैनन् । म आफैं बेला–बेला बिरामी परिरहन्छु ।
औषधि खाने पैसा समेत हुँदैन । यसपटक १५ दिन जति भयो ज्वरोले च्यापेको, भागलपुरबाट ४ हजार ५ सयको औषधि ल्याएर खाइसके, अझै निको भएको छैन । कहिलेकाहीँ त यत्तिकै मर्छुकी जस्तो लाग्छ । औषधिको पैसा तिरेको छैन । बाँचेभने कसैको मेलापात गरेर भए पनि तिरौंला सोचेकी छु ।
घर मेरो रामनगर उदयपुर र सुनसरीको बीचमा रहेको श्रीलंका टापुमा पर्छ । पहिला हामी सुनसरी नै भन्थ्यौं । ०७४ सालको निर्वाचनपछि उदयपुरको बेलका नगरपालिका–२ नम्बर वडामा पर्छ । वर्षा लागेपछि गिँदेरी खोला उर्लेर आउँछ । तर्न सकिँदैन । पारिका पारि, वारिका वारि भइन्छ । कोशीले छेकेर सुनसरी जान सम्भव नै हुँदैन । वर्षामा कोशीले सताउँछ, हिउँदमा हात्तीको डर हुन्छ । हात्तीले अन्नबाली मात्रै खाइदिँदैन, घरै भत्काइदिन्छ । मान्छे मारिदिन्छ । ६ वर्षअघि मेरा श्रीमानलाई हात्तीले मारिदियो ।
१२ वर्षको कलिलो उमेरमा बिहे भयो । यहाँ आएर बसेको पनि २८ वर्ष भइसक्यो । अहिले ४३ वर्ष लागे । २ छोरी र एउटा छोरा छ । ६ वर्षकी छोरी कल्पना, अर्की ९ र छोरा ११ वर्षको छ । स्कुल टाढा छ । पढाउन पठाउन पनि सकेको छैन । कापी, किताब किन्दिनुपर्छ । स्कुल ड्रेस किन्दिनै पर्यो । यी सबका लागि कहाँबाट पैसा ल्याउने ? दिदी पनि म सँगै बस्नुहुन्छ । तर उहाँ पनि बिरामी हुनुहुन्छ । काम गर्न सक्नु हुन्न । खेतबारी धेरै छैन । यसो सामान्य रुपमा तरकारी खान पुग्छ । घरमा दुइवटा बाख्रा, एउटा भैंसीको पाडा र एउटा पाडी पालेकी छु । त्यो पनि अरुको बटिया । एउटा बाख्रा चाहीँ पोहोर साल २५ सयमा किनेकी हुँ ।
छोरालाई जेनतेन स्कुल पठाइरहेकी छु । तर पढाई राम्रो हुँदैन भन्छ, टाढा पनि पर्छ । भागलपुर पुग्नुपर्छ । छोरीहरुलाई त स्कुल पठाउन सकेको छुइन । आफूले पढ्न नपाएपनि छोराछोरीलाई पढाउन पाए हुन्थ्यो जस्तो त लाग्छ । तर पैसा नभएपछि कस्को के लाग्छ र ? गरिबलाई त छिमेकीले पनि नहेर्ने रहेछन् । हात्तीले श्रीमानलाई मारेपछि किरिया खर्चसम्म थिएन । तर, कोही पनि गाउँलेले सहयोग गरेनन् । कहिलेकाहीँ त यो ठाउँ छाडेर अन्तै कतै जाउ जस्तो लाग्छ । तर जाने ठाउँ पनि काहीँ छैन, कहाँ जानु ? यस्तै मर्दा, पर्दा त छिमेकी आफन्त चाहिने हुन् । तर, कसैले सहयोग गदैनन् । बिरामी हुँदा पनि थलिएर बस्नुपर्छ ।
सन्चो हुँदा त बरु यसो अर्मपर्म, कसैको ज्याला मजदुरीमा काम गरेर, खेताला गरेर २/४ पैसा कमाउँछु । त्यसैले घरखर्च टार्ने गरेको छु । कमाउनै नसकेपछि खर्च पनि के हुन्छ भन्नु र ? तर नुनतेल, चामल, वर्षमा एकजोर लुगाफाटो लगाउनै पर्यो । त्यसैमा खर्च हुने गरेको छ । कहिलेकाहीँ बाख्रा, पाठा बिरामी हुन्छन् ।
छोराछोरी बिरामी हुन्छन् । तर, उपचार गराउने पैसा हुँदैन । केटाकेटीहरु माछामासु खान रहर गर्छन् । के गर्नु, आफु साग पैसा हुँदैन । छोराछोरीलाई पेटभरी खाना पनि दिन सकेको छैन । म त बरु दिनमा एक छाक मात्र खाएर भएपनि बाँचिरहेकै छु तर, बालबच्चालाई पेटभरी खाना खुवाउन पाए मलाई सन्तोष हुन्थ्यो मनमा ।
घरपनि सामान्य झुपडी छ । वर्षामा पानी चुहिएर सुत्न, बस्न सकिँदैन । हिउँदमा चिसोले निदाउन सकिँदैन ।
गरिबलाई हेर्ने कुनै सरकार आएन । ०७४ सालदेखि उदयपुरमा भोट हालिरहेकी छु । चुनावको बेला नेताहरु आउँछन, भोट हाल्नुपर्यो हामी केहि व्यवस्थापन गर्छौं भन्छन्, तर चुनाव सकिएपछि फर्केर आउँदैनन् । फेरि पनि चुनाव आउँदैछ रे भनेको सुन्छु । तर अहिलेसम्म कोहीपनि भोट माग्न आएका छैनन् । आफ्नो दुःख र गरीबी नबुझ्ने नेतालाई के भोट हाल्नु र झैँ लाग्छ । खै ?
यतिबेला हात्तीको अत्याधिक डर हुन्छ । यो बस्तीमा घरहरु टाढा–टाढा छन् । कसैको घरमा हात्ती आएर विध्वंश पारिसक्दा पनि अरुलाई थाहा हुँदैन । सहयोग माग्न जाँदा जाँदै हात्तीले सब बालीनाली, तरकारी, घर तहसनहस पारिसकेको हुन्छ । अब, के गर्नु, कस्लाई सुनाउनु यो समस्या ? आखिर भोग्ने त आफैले हो । व्यहोर्ने पनि आफैले हो । हाम्रो पीडामा मल्हम लगाइदिने को नै छ र ? श्रीमानलाई त हात्तीले लग्यो ।
हामी पनि भगवान भरोसा बाँचिरहेका छौं जस्तो लाग्छ । हात्तीको चाल सुन्न बित्तिकै भाग्न सकिएन भने जे पनि हुन सक्छ । धपाउन नसकेपछि ज्यान जोगाउन भाग्नै पर्यो । त्यो पनि बालबच्चा बोकेर भाग्नुपर्ने हुन्छ । हात्तिकै डरले राती राम्ररी सुत्न सकिँदैन । मागेर खान पनि लाज लाग्छ । को सँग माग्नु ? एक त गाउँ पनि नजिक छैन ।
अरुको ज्यालादारी, मजदुरी काम गर्न पनि सधै काम पाइदैन । सहर भए त भाँडा माझेर पनि छोराछोरी पाल्न सकिन्थ्यो होला तर यो अनकन्टार बस्तीमा अरुकै खेताला गर्छु भन्दा पनि साधै काम पाइदैन । पेट पाल्न निकै मुस्किल छ । माछामासु, मिठोमसिनो खाने भन्ने त पुरको कुरा ।
सरकारले कहिल्यै हाम्रो मर्म सुनेन, बुझेन । पीडा सुनाउने, बुझाउने हिम्मत पनि छैन । आफ्नो बुँताले सकेसम्म बाँच्ने प्रयास गरेको छु । कोही नहुँदा पनि भगवान हुन्छन् भन्छन् तर, हाम्रो लागि त भगवान पनि छैनन् कि जस्तो लाग्छ । आफ्नो समस्या आफैभित्र गुम्स्याएर राख्नुको विकल्प भेटेको छैन, देखेको छैन ।
प्रस्तुतिः राकेश नेपाली
