अब त नेताप्रति विश्वास लाग्नै छाड्यो । आफ्नो कामबाहेक नेताहरूको अघिपछि गर्न समय पनि छैन । बिहानै खेतमा जान्छु, त्यहाँबाट तरकारी टिपेर जिल्लाका लगभग सबै बजार–बजार डुल्छु ।
What you should know
सिरहा — अहिले त हाम्रो गाउँघर पनि रमाइलो भएको छ । भोट हाल्ने दिन नजिक आएपछि दिनदिनै नेताहरू आइरहेका छन् । पहिले महिनौं सुनसान हुने गाउँमा चहलपहल बढेको छ । टाढा गएका चिनजानका मानिस पनि आएका छन् । गाउँमा धेरै मानिस आएका बेला बरु म चाहिँ हुदिनँ ।
फुर्सद हुनेलाई पो चुनाव लागेको छ । मलाई त काम लागेको छ । कि म खेतमा हुन्छु, कि बजार पुगेको हुन्छु । अहिले म ४५ वर्षको भएँ । अहिलेसम्म धेरै चुनाव हेरियो । धेरैपटक नेताले यो गर्छु, त्यो गर्छु भनेर आश्वासन पनि दिए । नेताहरूले गरेको वाचा पूरा भएको भए हाम्रो यो हालत हुन्थेन । नेतालाई किसानको भोटसँग मात्रै मतलब हुने रहेछ । हाम्रो समस्यासँग होइन ।
त्यसैले अब नेताप्रति विश्वास लाग्नै छाड्यो । आफ्नो काम बाहेक नेताहरूको अघिपछि गर्न समय पनि छैन । बिहानै खेतमा जान्छु, त्यहाँबाट तरकारी टिपेर जिल्लाका लगभग सबै बजार–बजार डुल्छु । मैले सुखीपुर नगरपालिका–७ स्थित बल्हीमा रहेको आफ्नै दुई कट्ठा बारीमा तरकारी खेती गरेको छु ।
काठमाडौंमा एक सय रुपैयाँमा बिक्ने चिज यहाँ हामीले व्यापारीलाई ३० देखि ४० रुपैयाँमा बिक्री गरिरहेका छौं ।सिजनअनुसार कहिले खुर्सानी, कहिले भान्टा, कहिले टमाटर लगायतका फरक–फरक किसिमका तरकारी उब्जाउँछु । खासगरी बजारमा तरकारी बिक्री गर्ने मेरो जिम्मेवारी हो । प्रायः श्रीमती र छोराछोरीले बारीमा काम गर्छन् । मेरा ४ छोरी र एक छोरा छन् । उनीहरू गाउँकै सरकारी स्कुलमा पढ्छन् ।
१२ वर्षअघि किनेको साइकल थोत्रो भइसकेको छ । बेलाबेला दुई/चार सय खर्च गरेर त्यही साइकल मर्मत गराएर काम चलाइरहेको छु । कृषिमा सम्भावना त छ । तर, तरकारी खेती गर्ने वातावरण भएन । सबैभन्दा मुख्य समस्या भनेको सस्तोमा तरकारी बेच्नुपर्छ । काठमाडौंमा एक सय रुपैयाँमा बिक्ने चिज यहाँ हामीले व्यापारीलाई ३० देखि ४० रुपैयाँमा बिक्री गरिरहेका छौं ।
यहाँका बजारमा स्थानीय ग्राहकलाई बेच्दा १० देखि १५ रुपैयाँ बढी हुन्छ । त्यसका लागि धेरै समय दिनुपर्छ । बजारमा कुरेर बस्नुपर्छ । अर्को समस्या भनेको समयमै मल र बीउ बिजन पाइँदैन । निकै सास्ती खेपेर पनि चर्को मूल्यमा किन्नुपर्ने अवस्था छ । हाम्रो यहाँ कोल्डस्टोर नभएर धेरै तरकारी खेतमै बिग्रिन्छ । हरेक चुनावमा नेताले कृषि क्षेत्रको विकास गर्ने कुरा गर्छन् । तर, उनीहरूको बाचा भाषणमै सीमित हुन्छ । वास्तवमै किसानका लागि गर्ने कोही छैन ।
जीविका चल्नेबाहेक खासै आर्थिक उन्नति नदेख्दा खेतीपाती छाडेर अन्य काम गर्न मन लाग्छ । तर, खेती गर्ने बाहेक अरू काम गर्न सीप छैन । व्यवसाय गर्न पुँजी पनि छैन । हामीले हुर्किंदैदेखि जानेको यही कृषिको काम हो । सरकारले कृषिमा लगानी गरेको पनि सुन्छु । तर, कृषिको बजेटमा पनि ठूलाबडाकै रजगज छ ।
खैर, जे भए पनि मेरो आधा जीवन त बित्यो । छोराछोरी ठूला हुँदैछन् । कसैगरी उनीहरू पढेर ठाउँमा पुगून् भन्ने चाहना छ । म विदेश पनि जान चाहन्थेँ । तर, उनीहरूलाई रेखदेख गरेर हुर्काउनुपर्छ भन्ने सोचेर गइनँ । उनीहरूलाई पढाइदिएँ भने कम्तीमा मैले जस्तो कष्ट त भोग्नुपर्दैन ।
प्रस्तुति : विनय आजाद
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
