‘अर्घाखाँचीबाट मोटरसाइकलमा गुल्मी पुगेर ग्राहकका घर–घरमा दुध पुर्‍याउँछु’

एघार वर्षदेखि दुध बेच्न थालेको हुँ । पहिले ग्यालिनमा दुध हालेर डोकोमा बोकेर आउँथेँ । डेढ घण्टा पैदल हिँडेर दुध पुर्‍याएपछि फर्किन्थेँ । पछि सवारी साधनमा बोकेर हिँड्न थालेँ । सात वर्षजति भयो मोटरसाइकलमा दुध ओसारेर बेचिरहेको छु ।

माघ २०, २०८२

धनराज न्यौपाने

'I travel from Arghakhanchi to Gulmi on a motorcycle and deliver milk to customers' homes'

What you should know

गुल्मी — गोठमा तीनवटा भैंसी छन् । जसमध्ये दुईवटा दुहुना हुन् । बिहान ४ बजे उठ्छु । घाँसपात र दुध दुहुने काम हुन्छ । त्यसपछि दुध बोकेर संकलन केन्द्रमा जान्छु । घरबाट देउराली चोकमा साढे ५ बजे दुध संकलन हुन्छ । दुध जम्मा गरेपछि बिहान ७ बजे तम्घास बजार पुग्छु ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाईगाउँ मेरो घर हो । अहिले ४१ वर्षको भएँ । घरमा श्रीमतीसहित दुई छोरा राम र लक्ष्मण छन् । 

जेठो ९ र कान्छो ५ कक्षामा पढ्छन् । श्रीमतीले मसँगै काम गर्छिन् । हाम्रो मुख्य बजार तम्घास हो । तम्घास बजार आउन १० किलोमिटर छ । म दैनिक मोरटसाइकलमा आउजाउ गर्छु । दैनिक ७५ लिटर दुध बिक्री हुन्छ । औसतमा एक किलो कुराउनी र पाँच लिटर दही पनि बिक्री गर्छु । सिजनमा तरकारी पनि बेच्छु । दुध र अन्य सामग्री मोटरसाइकलमै बोकेर हिँड्ने गरेको छु ।

दैनिक ७५ लिटर दुध बिक्री हुन्छ । औसतमा एक किलो कुराउनी र पाँच लिटर दही पनि बिक्री गर्छु ।तम्घास बजारमा दुध बेचेर ११ बजे सकिन्छ । सबै कोठाकोठामा दुध पुर्‍याउँछु । सिधै घरमा पुर्‍याउने भएपछि ग्राहक बढ्दै गइरहेका छन् । प्रतिलिटर १ सय २० रुपैयाँमा दुध बिक्री हुन्छ । भैंसीको शुद्ध दुध बजारमा पुर्‍याउने काम गरिरहेको छु । ०७१ सालदेखि दुध बेच्न थालेको हुँ । पहिले ग्यालिनमा दुध हालेर डोकोमा बोकेर आउँथेँ । डेढ घण्टा पैदल हिँडेर दुध पुर्‍याएपछि फर्किन्थेँ । पछि सवारी साधनमा बोकेर हिँड्न थालेँ । ७ वर्षजति भयो मोटरसाइकलमा दुध ओसारेर बेचिरहेको छु ।

विदेश जानुभन्दा अगाडि निर्वाहमुखी कृषि र पशुपालन थियो । विदेशबाट आएपछि व्यावसायिक रूपमा सुरु गरेको हुँ । एसएलसी पास गरेको छु । १२ कक्षासम्म पढेँ तर उत्तीर्ण नभएपछि पढाइलाई निरन्तरता दिइनँ । घरखर्च यताउता यसैबाट पुग्ने गरेको छ । अहिले यही पेसाबाट सन्तुष्ट छु । घरमा लोकल कुखुरा र बाख्रा पनि छन् । ५ वटा बाख्रा छन् । सुन्तला र कागती छन् । टिमुर खेती पनि छ । सबैलाई व्यावसायिक बनाउने तयारीमा छु । दुध बेच्ने दैनिकी हो । चिसो, झरी र बादल केही मतलब गर्न पाइँदैन । किनकि, नियमित ग्राहक छन् । दुध जम्मा भएपछि अनिवार्य बजारमा ल्याउनुपर्छ । 

अहिले मेरा नियमित ६६ जना ग्राहक छन् । यी सबै मासिक रूपमा पैसा लिने ग्राहक हुन् । दैनिक नगद दिएर राख्ने अनुसार २ हजार रुपैयाँ हुन्छ । अरु मासिक रूपमा बुझ्ने गरेको छु । दैनिक दुध राखेको रेकर्ड राख्ने गर्छु । खरिद र बिक्रीको रेकर्ड हुन्छ । यस्तो केही दुःख छैन । बाँदर, बँदेल र मृगले सताउने गर्छ । बेसारसमेत खाएर दुःख दिन्छ । जंगली जनावरको एकदमै दुःख छ । अरु त त्यस्तो केही छैन ।

शुद्ध दुध भएकाले ग्राहक बिस्तारै बढ्दै गएका छन् । प्रत्येक ग्राहकको घरअगाडि र कोठाअगाडि पुग्छु । हर्न बजाएपछि ग्राहक निस्किन्छन् । अनि दुध राख्छन् । बिहान ११ बजे व्यापार सकेर घर फर्किन्छु । अनि भैंसीलाई घाँस काट्ने लगायतका काम गर्छु । म र मेरो परिवार यही पेसाबाट सन्तुष्ट छौं । खाना र लत्ताकपडामा त्यस्तो ठूलो महत्त्वाकांक्षा छैन । सामान्य भए पुग्छ । घरमा त्यस्तो ठूलो खर्च अरु छैन । छोराहरूलाई पढ्नका लागि खर्च पुग्छ र खानाका लागि खर्च पुग्छ ।

दुध संकलन भगवती उन्नत भैंसी पालन समूहमार्फत हुन्छ । पहिले ९९ सय जना रहेकामा अहिले ६६ जना छन् । सहकारीमा संकलन हुन्छ । सहकारीमार्फत नै केही नाफा मलाई हुने भएपछि यसरी व्यापार हुन्छ । यस्तै गरी यही सहकारीमार्फत शोभाखर पाण्डे र म यसरी नै व्यापार गर्छौं । पहिले सहकारीले तलब दिन्थ्यो, पछि मार्केटिङजस्तै गरी व्यापार गरेर आम्दानी हुने भयो । यसैमा हामी दुई जनाले व्यापार गरिरहेका छौं ।

प्रस्तुति : सन्तोष महतारा

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

धनराज

Link copied successfully