‘२५ लाख खर्च गरेर मेकअप स्टुडियो चलाउँदा आशसँगै डर पनि छ’

कमाएजति आफैंलाई मात्र ठिक्क हुन थालेपछि काठमाडौं गएको एक वर्षमै आफ्नै ठाउँ फर्किएर केही गर्ने निर्णय गरेँ । परिवारसँगै बसेर संघर्ष गर्नु ठीक लाग्यो ।

माघ १५, २०८२

नवीन राई

'There is hope and fear when running a makeup studio by spending Rs 2.5 million'

What you should know

धरान — धरान लाहुरेको सहर हो । मेरो पनि लाहुरे बन्ने सपना थियो । तर, त्यो सपना पूरा हुन सकेन । केही समय मन खिन्न भयो । अरू केही होइन, देश सेवा गर्ने रहर थियो । यही सपना बोकेर म तीन वर्षसम्म ट्रेनिङ सेन्टरमा बसेँ । तर, सफल हुन सकिनँ । अहिले म ३० वर्षको भएँ ।

धरान उपमहानगरपालिका–११, हिमाली चोकमा बस्छु । लाहुरे बन्ने सपना पूरा नभएपछि नेपालमै केही गर्ने सोच बनाएँ । तर, नेपालमा व्यवसाय गर्नु सजिलो रहेनछ । आज पनि व्यवसाय टिकाइराख्न निरन्तर संघर्ष गरिरहेको छु । थोरै पैसामा व्यवसाय सुरु गर्न सकिँदैन, तर ठूलो लगानी गर्ने हैसियत पनि हुँदैन । ऋण लिएर व्यवसाय गर्दा कतै डुबिन्छ कि भन्ने डर हुँदो रहेछ । 

२१ वर्षको उमेरबाट मैले मार्केटिङको काम सुरु गरेँ । सुरुमा काम गरेको कम्पनी कानुनी रूपमा दर्ता भएको थिएन । तर, राम्रो आम्दानी हुन थालेपछि आफैंले कम्पनी दर्ता गर्‍यौं । धरानमा पनि शाखा खोल्यौं । महिनामा ५० हजारसम्म आम्दानी हुन्थ्यो । कहिलेकाहीँ त्यो भन्दा बढी पनि हुन्थ्यो । खासमा जति बिक्री गर्न सक्यो, त्यति फाइदा हुन्थ्यो । हामी तीन दाजुभाइ भएकाले खर्च बाँडेर चलाउँदा खासै गाह्रो थिएन । 

यतिका वर्ष अरूका लागि मिहिनेत गरियो । अब आफ्नो सपनाका लागि मिहिनेत गर्ने निर्णय गरेको छु ।तर, सात वर्षपछि कम्पनीभित्र विवाद भयो र मैले त्यो कम्पनी छोडेँ । सात वर्षको अनुभव भएपछि मैले आफ्नै व्यवसाय गर्ने निर्णय गरेँ । २८ वर्षको उमेरमा त्यो सपना बोकेर काठमाडौं पुगेँ । अलि–अलि बचत गरेको पैसाले केही गर्ने निधो गरेँ । काठमाडौंमा एउटा चाइनिज चिप्स बनाउने कम्पनीसित मिलेर चाबहिलमा चिप्स स्टोर खोलेँ । कोठा भाडा महिनाको ३५ हजार थियो । महिनाको १५ हजार दिएर एक स्टाफ पनि राखेको थिएँ । होलसेल पसल भएकाले चिप्स अन्त सप्लाइ गर्थें । 

कमाएजति आफैंलाई मात्र ठिक्क हुन थालेपछि काठमाडौं गएको एक वर्षमै आफ्नै ठाउँ फर्किएर केही गर्ने निर्णय गरेँ । परिवारसँगै बसेर संघर्ष गर्नु ठीक लाग्यो । ०८० सालमा म धरान फर्किएँ । त्यसपछि साथीको मेकअप स्टुडियोमा म्यानेजर भएर काम सुरु गरेँ । साथी विदेशमा भएकाले सम्पूर्ण जिम्मेवारी मेरो काँधमा थियो । विज्ञापन, पब्लिक रिलेसन, सम्पूर्ण व्यवस्थापन गर्थे । स्टुडियोको मासिक खर्च ८० हजार भन्दा बढी हुन्थ्यो । त्यसमाथि महिनामा ४० हजार साथीलाई पठाउनु पर्थ्यो ।

महिनामा डेढ–दुई लाखसम्म आम्दानी भए पनि सबै खर्च कटाएर ३०–५० हजार मात्र हात पर्थ्यो । त्यो पनि सधैं एकनास हुँदैनथ्यो । प्रतिस्पर्धा धेरै थियो, जताततै मेकअप स्टुडियो खुलिरहेका थिए । जति कमाए पनि आफ्ना लागि मात्र पुग्थ्यो । वचत गर्न गाह्रो भयो । अन्ततः त्यो काम पनि छाडे ।

त्यसपछि अब आफ्नै मेकअप स्टुडियो खोल्ने सोच बनाएँ । यतिका वर्ष काम गरेर पैसा बचत गर्न सकेको थिइनँ । त्यसैले थोरै लगानीमा मेकअप स्टुडियो संचालन गर्छु भनेको सोचेको थिएँ । तर, खर्च धेरै लाग्ने भएपछि पार्टनरसिपमा व्यवसाय सुरु गर्ने सोच बनाएँ । अनि साथीसित मिलेर धरान–९, गौतम पथमा फियन मेकअप स्टुडियो सञ्चालन गर्‍यौं । कोठाभाडा मात्रै ३५ हजार छ । पाँच जना स्टाफ छन् । तलबमै ५० हजार खर्च हुन्छ । मासिक खर्च एक लाखभन्दा बढी खर्च पुग्छ ।

अहिले स्टुडियो सञ्चालन गरेको दुई महिना मात्रै भयो । त्यसैले हाल खर्च आफैंले धानिरहेका छौं । मेकअप सिक्न आउने ग्राहकहरू छन्, तर हामीले सोचेको जति अझै आएका छैनन् । २५ लाखको लगानीमा स्टुडियो सञ्चालन गर्दा आश पनि छ, डर पनि छ । कतै डुब्ने त होइन भन्ने कुराले पिर लाग्छ । 

सबैले भन्छन्, ‘उमेर हुँदा विदेश जानुपर्छ, नेपालमा बसेर व्यवसाय टिकाउन गाह्रो छ ।’ कहिलेकाहीँ लाग्छ, विदेश गएको भए सायद केही पैसा जोडिन्थ्यो होला । बचत गर्न सकिन्थ्यो होला । तर, यतिका वर्ष अरूका लागि मिहिनेत गरियो । अब आफ्नो सपनाका लागि मिहिनेत गर्ने निर्णय गरेको छु । डर छ, तर आश अझै बाँकी छ । अब हेरौं, भविष्यले के देखाउँछ !

प्रस्तुति : एलिना राई

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

नवीन

Link copied successfully