विदेशबाट फर्किएको पनि दुई वर्ष भइसक्यो । उताबाट फर्किएदेखि गाउँमै खेतीपाती गरेर गुजारा चलाइरहेको छु ।
What you should know
बर्दिया — खाडी मुलुकमा पसिना बगाइरहेका बेला मातृभूमिको औधि याद आउने रहेछ । विदेशमा छँदा घरको याद आएर धेरै पटक रोएको थिएँ । त्यही हो म दिनभरि काममा व्यस्त हुन्थेँ । तर, साँझ ओछ्यानमा पल्टिएपछि भने गाउँघरको सम्झनाले रातभरि आनन्दले निदाउन मुस्किल पर्थ्यो । चिन्ता मानेर के गर्ने ? मुलुकमा रोजगारी नभएकाले मजस्ता युवा दिनहुँ बिदेशिन बाध्य छन् । रहरले कोही पलायन भइरहेका छैनन् ।
वायरिङको सीप जानेकाले तालिममा आउँदा पनि घरबाट खर्च मगाउनु परेको छैन । यता बस्दाको सम्पूर्ण खर्च फुर्सदको समयमा वायरिङको काम गरेरजुटाइरहेको छु ।
आ–आफ्ना समस्या र परिस्थितिले मानिस घरपरिवार छाड्न बाध्य हुन्छन् । म पनि त्यस्तै परिस्थितिले ८ वर्ष खाडी मुलुकमा संघर्ष गरेर फर्किएको हुँ । गेरुवा गाउँपालिका–१ बगहीपुरमा मेरो घर छ । अहिले ३३ वर्षको भएँ । विदेशबाट फर्किएको पनि दुई वर्ष भइसक्यो । उताबाट फर्किएदेखि गाउँमै खेतीपाती गरेर गुजारा चलाइरहेको छु । फुर्सदमा वायरिङको काम गरेर कमाउँछु । बुवाले खेती किसानी गरेर जसोतसो कक्षा १० सम्म पढाउनु भयो । आर्थिक स्थितिले नधानेपछि पढ्दा पढ्दै घरको जिम्मेवारी सम्हाल्नु पर्यो ।
मेरा चार दिदी छन् । म कान्छो सन्तान हुँ । घर व्यवहारको जिम्मेवारी मेरो काँधमा आइपरेको छ । चार दिदीहरुको बिहेवारी र घरखर्च जुटाउन विदेश जानु परेको हो । स्वदेशमा रोजगारीको अवसर नपाएपछि के गर्नु । कमाउन भनेर पहिलो पटक मलेसिया गएँ ।
मलेसियामा तीन वर्ष बिताएर फर्किएँ । घर आएपछि फेरि पैसाकै चिन्ता हुन थाल्यो । त्यसपछि कतार गएँ । कतारमा पाँच वर्ष बिताएँ । विदेशको आठ वर्षको मिहिनेत र खटाइले जति सीप सिक्न सक्यो, त्यति नै सहज हुने कुरा बुझायो । हातमा सीप भएमात्र सजिलोसित कमाउन सकिने रहेछ ।
गत पुसबाट नयाँ सीप सिक्न पर्यो भनेर गुलरिया–७ मा भाडामा बसिरहेको छु । घरेलु कार्यालयले संचालन गरिरहेको तीन महिने एसी, फ्रिज र कुलर बनाउने तालिम लिन आएको हुँ । घरेलु कार्यालयले आवेदन खोलेको थियो । अन्तर्वार्ता दिएर छनोट भएको हुँ । तालिमबाहेक फुर्सदको समयमा वायरिङको काम गर्न जान्छु । सधैं काम गर्न मिल्दैन । बिहान १० देखि ४ बजेसम्म तालिममा हुन्छु । त्यस बाहेकको समय काम गरेर गुलरिया बसेको खर्च पुर्याइरहेको छु । वायरिङको काम विदेश जानुभन्दा पहिले पनि गर्थें ।
एक बिघा जमिन छ । त्यही जग्गामा मिहिनेत र परिश्रम गर्ने भएकाले वर्षभरिलाई पुग्ने अन्न उत्पादन हुन्छ । परिवारमा बुवा–आमा, हामी श्रीमान्–श्रीमती र दुई छोरी छौं । ठूली छोरी ६ वर्षकी भइन् । उनी गेरुवा गाउँपालिकास्थित बोर्डिङ स्कूलमा एक कक्षामा पढ्छिन् । कान्छी छोरी तीन महिनाकी भइन् । परिवार छोडेर सधैं विदेशमा बस्न पनि सकिँदैन । बुवाआमाको उमेर पनि धेरै भइसक्यो । उहाँहरुको ख्याल गर्न दाजुभाइ छैनन् । बालबच्चा सानै छन् । बुवाआमा र बालबच्चाको हेरचाह गर्न घर फर्किएको हुँ । बाली लगाउने र सिकेको सीप अनुसारका काम गरेर परिवारको हेरचाह गर्ने योजना बनाएको छु ।
फुर्सदको समयमा वायरिङको काम गरेर मासिक करिब ७/८ हजार कमाइ गर्छु । त्यसमध्ये दुई हजार रुपैयाँ कोठा भाडाबापत तिर्छु । चामल र दालचाहिँ घरबाटै ल्याउँछु । बचेको पैसा तरकारी, सागसब्जी, नुन, तेल, मसला, सरफ र साबुनमा खर्च हुन्छ । वायरिङको सीप जानेकाले तालिममा आउँदा पनि घरबाट खर्च मगाउनु परेको छैन । यता बस्दाको सम्पूर्ण खर्च फुर्सदको समयमा वायरिङको काम गरेर जुटाइरहेको छु ।
प्रस्तुति : रामप्रसाद चौहान
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
