अक्षर चिन्दै गर्दा पढाइ छुटेकाले अनपढ भनेर होच्याउने गर्छन् । तर, पढेलेखेका मान्छेकै बराबर एक/एक हिसाब चुस्तदुरुस्त राख्न सक्छु ।
What you should know
सल्यान — जसोतसो एक छाक खाए पनि अर्को छाक के खाने भन्ने चिन्ता भइहाल्थ्यो । परिवारमा कमाउने कोही थिएनन् । आम्दानी नभएकाले घरमा खानाको जोहो गर्न पनि गाह्रो थियो । पैदा भएदेखि परिवारको पीडा देखेँ । अलिअलि चेत आउन थालेपछि परिवारको अभावले मलाई पनि पीडा दिन थाल्यो । सानोमा विद्यालय गएँ । तीन कक्षाभन्दा धेरै पढ्ने वातावरण बनेन ।
बुवाले मजदुरी गरेर ल्याएको रकमले दाल–चामल किन्न ठिक्क हुन्थ्यो । अनि पढाइ छाडेर भिनाजुको पछाडि हिँड्न थालेँ । त्यति बेला म १० वर्षको थिएँ । आफू जहाँ काम गर्न गयो, भिनाजुले त्यहीँ लगेर काम सिकाउन थाल्नु भयो । आफू जे काम गर्नु हुन्थ्यो, त्यही मलाई पनि सिकाउनु हुन्थ्यो । उहाँले नै मलाई सिरक, डसना र फर्निचर बनाउन सिकाउनु भयो । केही वर्ष उहाँसँगै हिँडेर काम सिकेँ । त्यतिबेला सिकेको काम अहिले जीविकोपार्जनको मुख्य आधार बनेको छ ।
अहिले म २२ वर्षको भएँ । गाउँघरमा काम पाउन मुस्किल भएपछि भिनाजुको साथ छाडेर अहिले साथीसंगीसित देशका विभिन्न जिल्ला घुमिरहेको छु । यसरी जिल्ला घुम्ने क्रममा हिउँदमा सिरक, डसना, तकिया बनाउने काम गर्छु । वर्षायाममा पोखरा बजार गएर फर्निचर बनाउने काम गर्छु । यसपटक साथीसँगै सल्यान आएको हुँ । एक्लै यो काम गर्न सजिलो छैन । त्यसैले सिरक–डसना बनाउन मेरा आफन्तलाई साथमा लिएर आएको छु ।
पहाडमा युवा पुस्ता भेट्नै मुस्किलजस्तै छ । घरमा भएका बुढापाका पनि समस्यामा परेको देख्छु ।दुई जना मिलेर दिनभरि सिरक–डसना तयार गरेपछि साँझमा ४ हजार ज्याला हात पर्छ ।
पर्साको जगन्नाथपुर–३, खालीचढीबाट काम खोज्दै असोज अन्तिमतिर यहाँ आइपुगेको थिएँ । अहिले शारदा नगरपालिका–१, श्रीनगरमा कोठा भाडामा लिएर साथीहरूसित बसिरहेको छु । हामीले कपास र कपडा पेल्ने मेसिन राखेका छौं । मेसिनबाट छिटो काम हुन्छ । आफैं पकाएर खान्छौं । दुई जनालाई एक महिनामा २ हजार रुपैयाँको चामल, एक हजारको दाल, ७ सय ५० रुपैयाँको तीन लिटर तेल, दुई हजारको तरकारी खर्च लाग्छ । महिनामा दुईपटक एक हजार बराबरको माछा–मासु खान्छौं । एक हजार फोन, चिया–नास्ता लगायतमा दुई हजार खर्च हुन्छ ।
कोठा भाडा ४ हजार र सिरक–डसना बनाउन साहुबाट उधारोमा ल्याएको कपडाको महिनामा १५ देखि २० हजारजति तिर्छौं । मेसिनबाट कपास पेल्ने हुँदा दैनिक एक हजार बराबरको तेल खर्च र मर्मतका लागि थप एक हजार छुट्याउँछौं । सबै गरी महिनाको ३५ हजार खर्च हुन्छ । दैनिक ४ हजारका दरले महिनामा १ लाख २० हजार जति जम्मा हुन्छ । खर्च कटाउँदा बचेको पैसा महिना मरेपछि दुवैले बराबर भाग लगाएर घर पठाउँछौं ।
पढ्नमा मेरो रुचि थियो । तर, बुवा–आमासित स्कुलमा नाम लेखाउने पैसाधरी हुन्थेन । कापी कलम किन्ने पैसा जम्मा गर्न नसकेपछि बाध्य भएर मजदुरी गर्न थालेको हुँ । सानो हुँदा पेटभरि खान र रुचिअनुसार लगाउन पाइँदैनथ्यो । कमाउन थालेपछि धेरै सहज भएको छ । सम्पूर्ण जिम्मा आफ्नो काँधमा परेपछि परिवारको खुसीका लागि घर छाडेर वर्षमा १० महिनाजति बाहिरै बस्ने गरेको छु ।
देशका ७७ जिल्लामध्ये ६७ वटा घुमिसकेको छु । मानिसहरू पछिल्लो समयमा रोजगारीका लागि भन्दै विदेश पलायन हुँदै आएका छन् । त्यसैले होला पहाडमा युवा पुस्ता भेट्नै मुस्किलजस्तै छ । घरमा भएका बुढापाका पनि समस्यामा परेको देख्छु । त्यस्तो अवस्था देखेकाले विदेश नगएर आफ्नै मुलुकमा कमाएको रकमबाट सानोतिनो उद्योग खोलेर बस्ने सोच बनाएको हुँ ।
अक्षर चिन्दै गर्दा पढाइ छुटेकाले अहिले अनपढ भनेर होच्याउने गर्छन् । तर पढेलेखेका मान्छेकै बराबर हिसाबकिताब गर्न सक्छु । एक/एक हिसाब चुस्तदुरुस्त राख्न सक्छु । सर्टिफिकेट नभएपछि सरकारी जागिर नपाइने । अनि सरकारी सुविधाबाट बन्चित भइन्छ कि भन्ने मात्र हो । तर, सरकारी नोकरीको भन्दा धेरै कमाइरहेको छु । जिम्मेवारी र अनुभवले पढेलेखेका सरह काममा पोख्त छु ।
प्रस्तुति : विप्लव महर्जन
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
